गल्ती गर्ने महरा, सजाय पाउने शिवमाया !

गल्ती गर्ने महरा, सजाय पाउने शिवमाया !

काठमाडौँ ।  १४ असोजमा महराले राजीनामा दिएकाले तीन हप्तादेखि सभामुख पद रिक्त छ । सभामुख पद रिक्त भए पछि उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद सचिवमा कार्यकारी भूमिका निर्वाह गरिरहे पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यसबारे छलफल शुरु गरिसकेको छ । बरिष्ठ नेता झलनाथ खनालका अनुसार, सचिवालय बैठकमै नयाँ सभामुख चयनको विषयले प्रवेश पाएको छ । बरिष्ठ नेता खनाल भन्छन्, “धेरै छलफल हुन पाएको छैन । तर, सभामुख पद सत्तारुढले छोड्दैन ।”

चिन्ता शिवमायाको !

संविधानको धारा ९१ (२) ले सभामुख र उपसभामुख एउटै दलबाट हुन मिल्दैन । एमाले र माओवादी केन्द्र एकता हुनु पहिले नै सभामुख र उपसभामुख चयन भएको थियो । अहिले दुई दल मिलेर नेकपा बनेको छ । यस्तो अवस्थामा नेकपाले सभामुख नछोड्ने हो भने उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुको विकल्प रहन्न ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य उपसभामुखले नगरेको गल्तीको सजाय पाउन नहुने बताउँछिन् । शाक्य भन्छिन्, “कारणवश पहिलो पद खाली भयो । दोस्रोमा विद्यमान व्यक्तिलाई हटाएर बाहिरबाट किन ल्याउने ?”

शाक्यसँग मिल्दो मत व्यक्त गर्नेहरुको संख्या नेकपामा ठूलै छ । विशेषगरी एउटा पुरुषले गरेको गल्तीको सजाय निर्दोष महिलालाई दिन नहुन तर्क धेरैको छ ।

फरक दलबाट निर्वाचित हुनुपर्ने प्रावधान सँगै सभामुख र उपसभामुख मध्ये एक महिला हुनुपर्ने भएकैले तुम्बाहाङ्फे उपसभामुख निर्वाचित भएकी थिइन् । अहिले नेकपाले सभामुख नछोड्ने निर्णय गरेसँगै तुम्बाहाम्फेको पक्षमा बलियो गरी आवाज उठेको छ । “यदि, नेकपालाई सभामुख नै चाहिएको हो भने तुम्बाहाङ्फेलाई नै अगाडि बढाउनुपर्छ”, शाक्य भन्छिन् ।

पूर्व उपसभामुख पूर्णकुमारी सुवेदी महिलाले कार्यकारी भूमिका निर्वाह गर्न सक्दैन भन्ने चिन्तन त्याग्नुपर्ने बताउँछिन् । सुवेदी भन्छिन्, “ओनसरी घर्तिमगरले चलाएर देखाइसक्नुभएको छ ।” तर, एकता पूर्व माओवादीको भागमा परेको सभामुख पदमा तुम्बाहाम्फेलाई अगाडि बढाउन सजिलो छैन ।

बरिष्ठ नेता खनाल, छलफलकै विषय भएकाले तुम्बाहाम्फेलाई अगाडि बढाउने बाटो खुला रहेको बताउँछन् । पूर्व प्रधानमन्त्री खनाल भन्छन्, “सभामुखका लागि प्रमुख सचेतक (देवप्रसाद गुरुङ) र उपसभामुखको चर्चा छ । पार्टीले उपयुक्त निर्णय लिन्छ ।” पूर्व एमाले तर्फमा पनि तुम्बाहाम्फे सभामुखका लागि सर्वसहमत उम्मेद्वार देखिएका छैनन् । थुप्रै कारण देखाएर फेरि पनि पूर्व सभामुख सुवास नेम्वाङको चर्चा गर्ने पंक्ति नै छ ।

तर, पार्टी उपाध्यक्ष रहँदा समेत अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्न सकेकी थिइनन् । यो प्रकरणलाई लिएर अहिले पनि नेकपा नेतृत्वको आलोचना भइरहेकै छ । तसर्थ, सधैं महिलाको पक्षमा पार्टी उभिन नसकेको आरोपबाट मुक्त हुन पनि तुम्बाहाम्फेलाई नगरेको गल्तीको सजाय दिन नहुनेमा नेकपाका महिला नेताहरुले दबाव दिदै आएका छन् ।

पीएचडी उपसभामुख
५६ वर्षीया तुम्बाहाम्फे राजनीति शास्त्र र कानूनका विद्यार्थी हुन् । ‘नेपालमा राजनीतिक महिला आन्दोलन’ विषयमा विद्यावारिधि गरेकी तुम्बाहाम्फे विराटनगर रहँदा त्रिभुवन विश्वविद्यालयकी एसिस्टेन्ट लेक्चर थिइन् । तुम्बाहाम्फे नेपालका थोरै प्राज्ञिक सांसदभित्र पर्छिन् । विद्यार्थीकाल बाटै राजनीतिमा सक्रिय तुम्बाहाम्फे तत्कालीन एमाले कोटाबाट समानुपातिक सांसद र उपसभामुख बनेकी हुन् । राजनीति र प्राज्ञिक भूमिका सँगै महिला अधिकार बारे अध्ययन/अनुसन्धान र वकालत समेत गर्दै आएकी छन् । लक्ष्मी बस्नेत, हिमाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्