रंगेलीको घटना : बुबालाई बोक्सो भन्दै मारे, छोराले गरे बन्चरो प्रहार गरी वृद्धको हत्या

रंगेलीको घटना : बुबालाई बोक्सो भन्दै मारे, छोराले गरे बन्चरो प्रहार गरी वृद्धको हत्या

विराटनगर । मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका ६४ वर्षीय पहाडचन राजवंशी गाउँमा झारफुक गर्ने धामीझाँक्रीका रुपमा परिचित थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएका उनी छोरो लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीका साथमा बस्थे । उनै पहाडचनलाई केही गाउँलेहरु मिलेर २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै विभिन्न खाले यातना दिए । अनी गाउँ निकाला गरे । उनीमाथि बोक्सोको गम्भीर आरोप लगाइएको थियो । उनलाई गाउँलेहरुले पहाडचनले हेर्ने वित्तिकै मान्छे मरिजान्छ भन्ने अर्को संगीन आरोप पनि लगाएका थिए । हेर्ने वित्तिकै मान्छे मरिजाने भएकाले बोक्सो रहेको भन्दै गाउँलेहरुले उनलाई निक्कै ठूलो तनाव दिएर विस्थापित गराए । पछि स्थानीय प्रशासन र संघ संस्थाको सहयोगमा उनलाई पुनःस्थापना गरिएको थियो । मलमुत्र खुवाउने र विस्थापित गराउनेमा स्थानीय हरिप्रसाद राजवंशी पनि थिए । उक्त घटनामा प्रहरीले हरि प्रसाद सहित नौ जनालाई पक्राउ गरी बोक्सी आरोपको कसूरमा मुद्दा चलायो ।
अभियुक्तहरु जिल्ला अदालतले मागेको प्रति व्यक्ति दुई हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । त्यसको पाँच वर्षपछि २०७४ साल जेठमा हरिप्रसादको मृत्यु भयो । अचानक बिरामी परेर अस्पताल ल्याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । परिवारले टुनामुना गरिदिएकै कारण हरिप्रसादको मृत्यु भएको भन्दै पहाडचनलाई दुरव्यवहार पनि गरे । विभिन्न डर र त्रासका कारण अनेक दुव्र्यवहार सहेरै भए पनि उनी गाउँमै बसे । बोक्सो बनेर अनेक टुनामुना गरिदिएकाले परिवारको सदस्य गुमाउनु परेको भन्दै दुरव्यवहार भइरहे पनि सहेर कहीं कतै उजुरी पनि दिएनन् । तर कहानी यतिमै टुँगिएन । बोक्सोको आरोप लगाएर बर्बर यातना दिएको पाँच वर्षपछि पहाडचनको हत्या नै भयो ।
हत्यामा संलग्न थिए बोक्सोको आरोप लगाएर गाउँ निकाला गर्ने समूहको नेतृत्व लिएका हरिप्रसाद राजवंशीका छोरा भरतलाल राजबंशी । बोक्सीको टुनामुना गरिदिएका कारण आफूले बुवा गुमाउनु परेको भन्दै उनले बन्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर पहाडचनको हत्या नै गरिदिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।
पहाडचन गाउँमा धामीझाँक्रीको काम गरेर फर्कदै गर्दा घटना भएको अनुसन्धानबाट खुलेको जानकारी उनले दिए । बन्चरो प्रहारबाट टाउको, छात्ती र शरीरका विभिन्न भागमा चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्यामा संलग्न भरतलाल त्यतिबेला १७ वर्षका थिए । अहिले १९ वर्षका भए । वृद्धको हत्या गरेर फरार बनेका भरतलाई २८ महिना पछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थाल्दा यो रहस्य बाहिर आएको हो ।
घटनापछि भारततिर फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल नेत्रृत्वको टोलीले गाउँमै लुकिरहेको अवस्थामा मंगलबार राति पक्राउ गरेको हो ।
भरतले पनि बोक्सीको टुनामुना गरिदिएका कारण आफ्नो बुवाको मृत्यु भएकाले आवेशमा आएर पहाडचनको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । हत्यापछि झाडीमा बन्चरो फ्यालेर आफू फरार भएको प्रहरीलाई उनले बताएका छन् ।
भरत विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बुधबार जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गर्दै प्रहरीले बाँकी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्