विराटनगर । कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले कानुनी शासन भन्दा कोही बाहिर जान नसक्ने बताएका छन् । उनले कांग्रेस सांसद मोहम्मद अफ्ताव आलम पक्राउको बारेमा कांग्रेसबाट आएको प्रतिक्रियामा उहाँले कोही कानुन भन्दा बाहिर जान नसक्ने भएकोले अपराधका हरेक घटनाको निश्पक्ष कानुनी कार्वाही हुने बताउनुभयो ।
आलमसँगै रौतहटको गौर घटना पनि अपराधसँग सम्बन्धित भए त्यसमा संलग्न जो कोही कानुनी दायरामा आउने बताउनुभयो । ‘हरेक अपराधमा संलग्नलाई उन्मुक्ति दिनुहुँदैन, कार्यवाहक प्रधानमन्त्री पोखरेलले भन्नुभयो, यस्ता बिषयलाई सरकारले खेलाँचीको रुपमा लिँदैन ।’
रौतहटमा कांग्रेस सांसद आलमलाई पक्राउ गरेर कांग्रेस प्रति सरकारले प्रतिशोध साँधेको हो भनि पत्रकारले गरेको प्रश्नमा पोखरेलले भन्नुभयो, ‘सर्बोच्च अदालतले फैसला गरेको छ, कार्यान्वायन गर्नु भनेर आदेश दिएको छ, त्यही अनुसार छानविन र कार्वाहीको लागि काम भईरहेकोले कसरी आग्रह हुन्छ ?’
बेला बेला प्रचण्डबाट आएका सहमती उल्लंधनको बारेमा पोखरेलले आलोपालो प्रधानमन्त्री कहीँ उल्लेख नभएको बताउनु भएको छ । आवस्यकता अनुसार पार्टीभित्र नेताको कार्य विभाजन तथा कार्य क्षेत्र हेरफेर हुनसक्ने भएपनि अहिले भनिएको जस्तो प्रधानमन्त्रीमा आलोपालो गर्ने भन्ने सहमती नभएको बताउनु भएको हो । उहाँले यो बारेमा नेपाल कम्युनिष्ट पार्टीलाई संस्थागत रुपमा केही जानकारी नै नभएको बताउनुभयो ।
तर पार्टी भित्र तुष रहेको भन्ने बारेमा त्यस्तो हुनु स्वाभाबिक हुने बताउनुभयो । ‘पार्टी भित्र बिभिन्न बिषयमा छलफल होला, कहिलेकाँही मतामत होला यो हुनसक्छ, पोखरेलले भन्नुभयो, दुईवटा अलग अलग पृष्ठभुमीबाट आएका पार्टीहरु एक भएका छौँ, आफ्नो–आफ्नो भित्र हिजोदेखिका लिगेसीहरु प्रकटहुन सक्छ, तपाईहरु यसलाई किन अस्वभाविक रुपमा मान्नुहुन्छ ?’ तर एकतालाई आँच पुर्याउने काम कसैले नगर्ने बताए ।
सि बिचारधारा नेपालमा लागु गर्न खोजेको भनि लागेको आरोपको खण्डन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले चिनियाँ कम्युनिष्टले आफ्नो कुरा सुनाउने र नेकपाले आफ्ना कुरा सुनाउने काम भएको बताउनुभयो ।
सभामुख कसलाई बनाउने भन्ने बारेमा कुनै छलफल नभईसकेको बताउनु भयो । पार्टी भित्र कसलाई बनाउने भन्ने बारेमा केही छलफल भई नसकेकोले सहमतीका आधारमा अहिलेकै उपसभामुख वा अन्य कोही पनि ल्याउने बारेमा छलफल हुने स्पष्ट पार्नु भयो ।