अहिलेको तिहारमा त्यो रमाइलो कहाँ !

<span class='c1'>अहिलेको तिहारमा त्यो</span> <span class='c2'>रमाइलो कहाँ !</span>

 यलु जोशी

शरद ऋतुको उल्लास, त्यसमाथि सयपत्री ढकमक्क फुल्दा, मखमलीको बैजनी रङ मुस्कुराउँदा कसको मन पुलकित नहोला र ! खेत–बारी र पाखा–पखेरामा फुलेका सयपत्री र मखमलीले मन मात्र पुुलकित गराउँदैनन्, उज्यालोको चाड तिहारलाई पनि आमन्त्रण गर्छन् । यतिबेला तिहारको रौनक सबैतिर छाइसकेको छ । बजारमा झिलिमिली बत्ती, देवी लक्ष्मीलाई खुसी बनाउने सामग्री, भाइ मसला र दिदीबहिनीलाई दिने उपहारको जोहो गर्नेको घँुइचो छ ।
राजधानीको विशालबजारस्थित मखन गल्ली भाइमसलाको वासनाले मगमगाइरहेको छ । पाइलैपिच्छेका पसलमा राखिएका काजु, बदाम, किसमिस ओखर, नरिवल आदि सजाइएको दृश्य पनि आकर्षक देखिन्छन् । यो बजार ‘भाइमसला’कै थोक तथा खुद्रा बिक्रीका लागि चर्चित पनि छ । फूलको माला ढाकाटोपीले पनि तिहारको रौनकतालाई अझ बढाएको छ ।
संस्कृतिविद् सत्यमोहन जोशी भन्नुहुन्छ, ‘दशैँमा काटमारले थोरै नरमाइलो हुन्छ तर तिहार सुखैसुखको चाड हो ।’ ‘दशैँमा मालश्री धुनको महŒव बढी हुन्छ भने तिहारमा मादलको रन्कोसँगै बाजाहरूको रमाइलो सुरले रौनक नै बेग्लै हुन्थ्यो’, उहाँ थप्नुहुन्छ, ‘गाउँबेँसीमा तरुनातन्नेरीसँग मिलेर रातभर घुम्दै देउसीभैलो खेल्दा रात बितेको पत्तो पाइँदैनथ्यो ।’
उहाँका अनुसार धनकी देवी लक्ष्मीलाई जति प्रेम ग¥यो उति ऐश्वर्य बढ्छ । रातभर जाग्राम बसेर आराधना गर्दा निद्रा लाग्छ भनेर नै देउसीभैलो र जुवा खेल्ने चलन चलेको थियो । सुखरात्रिका रूपमा सुखैसुख । मान्छेमा मात्र हैन प्रकृतिसँग मानिसले रम्ने चाड तिहार हो । कुकुर, काग, गाईगोरुसँगै मानिसको पूजा हुन्छ तिहारमा । ‘दियोको झिलिमिलीसँगै देउसी खेल्दा आएका थोरै विकृति त आएको छ । सेलरोटी, लाखामरी, फिनी, हाँसको अन्डा नभए कुखुराको अन्डा, माछा, मासु सगुन दिएर मनाइने नेवारसमुदायको तिहार झनै रमाइलो हुने जोशीको अनुभव छ ।

आधुनिकतासँगै तिहार पर्वमा अनेक खालका विकृति थपिन थालेको संस्कृतिविद् डा. गोविन्द टन्डन बताउनुहुन्छ । उहाँले पशुपक्षीलाई अरूबेला वास्ता नगरे पनि तिहारमा पूजा गरिन्छ । यसले सबै प्राणीबीच समदृष्टिकोण राख्न सिकाएको पनि उहाँले जानकारी दिनुभयो ।
पहिलापहिला दियो माटोको हुन्थ्यो । अचेल बालिने कृत्रिम बत्तीका कारण मानिसलाई मनोरञ्जन त हुन्छ तर मौलिकता रहँदैन । अचेल माटोको पाला पूजाकोठामा सीमित भएको भन्दै उहाँले माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।
नेवारको म्हः पूजाको मण्डप र भाइपूजाका बेला राखिने तेलको रेखीले दीर्घायुको कामना गर्ने जानकारी संस्कृतिविद् चुन्दा बज्राचार्यले दिनुभयो । ‘परम्परा वा वैदिक तरिकाले पूजा गर्ने, अष्ट चिरञ्जीवीलाई आह्वान गर्ने परम्परा करिब उस्तै छ तर पूजामा प्राकृतिक फूलभन्दा कृत्रिम प्लास्टिकका फूल र झल्लरको प्रयोग बढेको छ,’ बज्राचार्यको अनुभव छ । उहाँका अनुसार पहिलापहिला प्राकृतिक फूल र खनिजले टीका बनाइन्थ्यो, त्यो लोप भयो । अहिले टीका नै बनावटी छ ।
लुगा व्यापारी हरिशरण अग्रवाल तिहारमा भने भाइ मसला बिक्री गर्नुहुन्छ । कतिपय पसलमा भने तिहारको समयमा मात्र नभएर वर्षभर काजु, किसमिस, बदाम, ओखर, छोकडा, खुर्पानी बेचिन्छ ।

‘‘व्यापार राम्रो पनि छ । विशेषगरी विवाह र चाडपर्वको बेलामा व्यापार फस्टाउँछ । तिहारमा त थकाइ मार्नसमेत फुर्सद हुँदैन’’, व्यापारी उज्ज्वल हाडाले सुनाउनुभयो । ‘‘तिहार आउनु एक हप्ता अघिदेखि भाइटीकाको दिनसम्म यस्तै हो’’, मसला बिक्री गर्न व्यस्त हाडाले भन्नुभयो, ‘‘भाउ बढेर आयो, व्यापारमा असर गरेको छ । तर पनि दिनभरि फुर्सद हुँदैन ।’’
भाइटीकाका लागि खपत हुने यी मसलाहरु एक किलो, आधा किलो, एक पाउको पोको बनाएर प्याकिङ गरिएका छन् । ‘‘बेच्नभन्दा गाह्रो प्याकिङ गर्दा हुन्छ’’, उहाँ भन्नुहुन्छ, ‘परिवार सबै मिलेर तयार पारेका हौँ ।’ हाडाले पहिले प्याकेटको मसलाभन्दा खुद्रा नै बढी लग्ने गरेको जानकारी दिँदै अचेल प्याकेटको धेरै नै बिक्री हुने गरेको जानकारी दिनुभयो ।
यस्तै भक्तपुरबाट भाइमसला खरिद गर्न आउनुभएकी सुर्जमाया भासीमाई प्याकिङ मसला खरिद गर्दै भन्नुभयो, ‘पहिले छोरीहरूले भाइ मसला बनाउने धेरै रहर गर्थे तर अहिले समय नै छैन । त्यसैले यस प्रकार नै खरिद गर्नुपर्ने बाध्यता छ ।’
विगत सम्झँदै उहाँले थप्नुभयो, ‘सबैजना सँगै बसेर भाइमसला बनाउन खुसी लाग्थ्यो तर अहिले सबैको काम नै काम । यसले तिहारको रमाइलो नै घटेको अनुभव हुन्छ ।’
यता स्नातक पढ्दै गर्नुभएकी सुस्मा अधिकारीले पनि आफ्नो व्यस्तताका कारण भाइमसला प्याकेट नै खरिद गर्ने जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘सबै मिलेर सेलरोटी बनाउने, भाइमसला प्याक गर्ने दिन गयो । अब त पैसा भए सबै पाइने बेला आएको छ । पहिले कस्तो रमाइलो हुन्थ्यो । सबै मिलिजुली काम गरिन्थ्यो तर अहिले त केही रमाइलो नै हुँदैन ।
यस्तै विगत ४० वर्षदेखि मसला व्यापार गर्दै आउनुभएका भरत शाक्यले पहिले स्थानीय नेवार समुदायले मखनालगायत मसलाको व्यापार गरेकाले नाम नै मखन गल्ली भएको बताउनुभयो । ‘‘अब मखना बेच्ने स्थानीयवासी आधामात्र छन्’’ उहाँले थप्नुभयो ।
चनिता रेग्मी चस्मा तथा बेल्टहरू बेच्नुहुन्छ । मखन गल्लीमा रहेको सानो पसल कोठाका लागि मासिक १५ हजार रुपियाँ भाडा तिर्नुपर्छ । तिहारको बेलामा मसला र बत्तीहरूबाट नै घरभाडा उठ्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले सय रुपियाँदेखि पाँच सयसम्मका मसलाका प्याकेटहरु राख्नुभएको छ । मखन गल्लीमा मसलासँगै तिहार विशेष अन्य सामग्रीका चाङ पनि देखिन्छन् । पाला, दियो, बिजुली बत्ती, टोपी, रङ, फूल आदि राखिएका छन् ।

(लेखक गोरखापत्र दैनिकका समाचारदाता हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्