विराटनगरमा तयार भयो एकीकृत भन्सार जाँच चौकी, हस्तान्तरण हुन बाँकी

विराटनगरमा तयार भयो एकीकृत भन्सार जाँच चौकी, हस्तान्तरण हुन बाँकी

विराटनगर । नेपाल र भारतीय पक्षबाट निकै महत्वसाथ हेरिएको विराटनगरको एकीकृत भन्सार जाँच चौकी(आईसीपी) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भारततर्फको संरचना तयार भई संचालनमा आईसकेको छ । नेपालतर्फ बल्ल तयार भएको छ ।  प्रतिछाँयाको रुपमा नेपालतर्फसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनु पर्ने नेपाल–भारत सरकारबीच सहमति भएपनि नेपाली पक्षकै कमजोरीका कारण नेपालतर्फ भने काममा ढिलासुस्ती भएको थियो ।भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ । इलेक्ट्रिक सब स्टेशन, वे ब्रिजलगायत सुविधा उपलब्ध छन् ।  नेपाल–भारतबीच सन् २००९ मा सीमा नाकामा दुरुस्तै प्रकृतिको भौतिक पूर्वाधारसहितको भन्सार चौकी निर्माण गर्ने सहमति भएको हो । विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवामा पनि चौकी निर्माण भएका छन् । आईसीपीको भौतिक संरचना निर्माण गर्ने दायित्व भारतको हुने सम्झौता थियो । सोहीअनुरुप विराटनगरमा नेपालतर्फको जाँच चौकी संरचनाका लागि भारतीय पक्षले १ अर्ब ३१ करोडको लागत लाग्ने अनुमान गरेको थियो ।

विराटनगर महानगरपालिका वडा नम्बर १८ बुधनगरमा अवस्थित आईसीपीको काम लगभग पूरा भएको छ । गत फागुन १६ गते नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर, काम पूरा नभएपछि भन्सार जाँच चौकी निर्माणको म्याद दुई पटक थपियो । निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।

दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकल प्रा. लिका परियोजना प्रबन्धक अवधेशकुमार साहले काममा अब विलम्ब नहुने बरु निर्माण लगत्तै हस्तान्तरण हुने चरणमा पुगेको जानकारी दिदैं भने,‘‘हामीले गर्ने काम लगभग सकिन लाग्यो अब हस्तान्तरण गर्ने काममात्र बाँकी छ ।’’ निर्माणका केही विलम्ब भने भएको उनले बताए ।

भारत सरकारको सहयोगमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी हस्तान्तरणको तयारी भइरहेको छ । नेपाल सरकारले वि.स. २०७३ मंसिर २९ गते जग्गा भारत सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसपछि चौकी निर्माण शुरू भएको हो । एक सय २२ बिघा क्षेत्रफलमा बनेको जाँच चौकीको निर्माण कार्य सम्पन्न भई सरसफाई र एउटा गोदामको छानो छाउने काम भइरहेको छ । निर्माण कम्पनीले निर्माण लगत्तै भारत सरकारलाई बुझाएपछि भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

भन्सार जाँच चौकी निर्माण सम्पन्न भएकाले अब करिब दुई महिनामा सञ्चालनमा आउने विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताएका छन् । उनका अनुसार भारततर्फ निर्माण भई संचालनमा आएपनि नेपालतर्फ निर्माणमा ढिलाइ भएको थियो । भने,‘‘अब निर्माण पूरा भएको अवस्था छ । सरकारमा हस्तान्तरण हुनासाथ भन्सारका सबै काम जाँचचौकीबाट गर्ने तयारी गरेका छौं ।’’
भन्सार जाँचचौकी सञ्चालनमा आएपछि भारत र तेस्रो मुलुकको आयात निर्यात सहज, सरल र व्यवस्थित हुने अधिकारी बताउँछन् ।
एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि वस्तुको लागत मुल्य कम हुने भएकाले उपभोक्ता समेत लाभान्वित हुनेछन् । निर्माण सम्पन्न भइसकेकाले भन्सार जाँच चौकी हस्तान्तरण र भन्सार कार्यालय व्यवस्थापन गरी सञ्चालनमा ल्याउन नेपाल सरकारले तत्काल पहलकदमी शुरू गर्नुपर्ने यसक्षेत्रका उद्योगी व्यवसायीको माग छ । कुमार लुईटेल, बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्