पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीले कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।
यसअघि कास्की जिल्ला कमिटीले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको थियो ।
प्रदेश कमिटीको तिहारअघिको बैठकले विद्यासँगै पुराना नेता सोमनाथ अधिकारी प्यासी र जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ समेतको गरी ३ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उम्मेदवारका लागि ३ जनाकै नाम पठाउनुपर्ने भएकाले भट्टराई, अधिकारी र गुरुङको नाम सिफारिस गरेको जानकारी अन्नपूर्णलाई दिए। केन्द्रले ३ जनाको नाम मागेकोमा जिल्लामा त्यसो गर्न नसकेको उनले जनाए ।
जिल्ला कमिटीको ८ गतेको बैठकले नाम सिफारिस गरेको भोलिपल्टै प्रदेश कमिटीको बैठक बसेको थियो । कास्की २ मा मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
साझा पार्टीले उक्त चुनावका लागि उम्मेदवार सार्वजनिक गरिसकेको छ । कास्की कांग्रेसले १६ जनाको नाम उम्मेदवारका लागि पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।