ज्ञानेन्द्र मल्ल : अनुभवी व्याटम्यान, ‘अन्डर पर्फमर’ देखि कप्तानसम्म

ज्ञानेन्द्र मल्ल : अनुभवी व्याटम्यान, ‘अन्डर पर्फमर’ देखि कप्तानसम्म

प्रजित शाक्य
काठमाडौं, कात्तिक १३ गते । क्रिकेटमा कप्तान पदलाई ठूलो गौरव र सम्मानको रुपमा लिइन्छ । कप्तान पदसँगै सो खेलाडीमा आफ्नाे टिमलाई सफलता दिलाउने र मैदानमा रणनीति बनाउनेलगायत अन्य विभिन्न जिम्मेवारीको दायित्व पनि लिएर आउँछ । यसैले होला अन्य खेलको तुलनामा क्रिकेट टिमको कप्तानको महत्व बेग्लै हुन्छ ।
यसको विपरित क्रिकेटमा उपकप्तानको पद भने निकै आरामदायी हुन्छ । उपकप्तानमाथि नत विदेश भ्रमणमा औपचारिकता निर्वाह गर्ने जिम्मेवारी रहन्छ नत असफलताका लागि नै उसलाई जिम्मेवार ठहराइन्छ । यद्यपि उसलाई टिमको भावी कप्तानको रुपमा हेरिन्छ । कप्तानको उत्तराधिकारी मानिएको हुन्छ । त्यसैले मिडियामा पनि उपकप्तानलाई पर्याप्त महत्व मिल्छ । ज्ञानेन्द्र मल्लमा पनि यी सबै कुरा सही सावित भएका छन् ।

पारस खड्काले कप्तान पदबाट राजीनामा दिएपछि नै ज्ञानेन्द्रलाई भावी कप्तानको रुपमा हेरिएको थियो । कप्तान पारसले पनि राजीनामा दिँदै ज्ञानेन्द्रले नै नेपाली क्रिकेट टिमको भार सम्हाल्न सक्ने भनी ज्ञानेन्द्रका वकालत गर्नुभएको थियो । नभन्दै नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार कप्तानको जिम्मेवारी दिएको छ । बुधबारको निर्णयले क्यानले अर्को व्यवस्था नभएपसम्म ज्ञानेन्द्रलाई कप्तान नियुक्त गरेको छ ।
नेपाली क्रिकेट टिमको कप्तानको रुपमा ज्ञानेन्द्रको पहिलो जिम्मेवारी मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँगको शृङ्खला हुनेछ ।
हुनत् ज्ञानेन्द्रसँग कप्तानीको पूरापूरा अनुभव छ । पारस अनुपस्थित रहेको समयमा ज्ञानेन्द्रले नेपाली क्रिकेट टिम नेतृत्व गरिसक्नुभएको छ । मल्लले सन् २०१७ मा घरेलु मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्याविरुद्धको दुवै खेलमा नेपाली क्रिकेट टिमको नेतृत्व गर्नुभएको थियो । सोही वर्ष एसीसी इमर्जिंङ टिम कपमा ज्ञानेन्द्रले नेपालको कप्तानी सम्हाल्नु भयो । यही वर्ष आईसीसी टि ट्वान्टी एसिया कप छनोटमा पारस घाइते भएपछि ज्ञानेन्द्र मलेसियाविरुद्ध टिमको नेतृत्व गर्नै मैदानमा उत्रनुभएको थियो ।

उक्त खेलमा ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक समेत प्रहार गरेका थिए । घरेलु फ्रेञ्चाई लिगमा ज्ञानेन्द्र सँधै टिमको कप्तानको रुपमा खेल्नुहुन्छ । उहाँकै कप्तानीमा गत वर्ष ललितपुर प्याट्रियट्स एभरेस्ट प्रिमियर लिग च्याम्पियन भएको थियो । यसैगरी, एक सिनियर खेलाडी भएकोले ज्ञानेन्द्रलाई सबै खेलाडीले सम्मान पनि गर्छन् । त्यसैले पनि क्यानको निर्णयलाई सही मान्न सकिन्छ ।

नेपालका उत्कृष्ट ब्याट्सम्यान
ज्ञानेन्द्रको छवि एक स्टाइलिस ब्याट्सम्यानकोे छ । हाल खेलिरहेका क्रिकेटरमध्ये ज्ञानेन्द्रलाई प्राविधिकरुपमा सबभन्दा सक्षम ब्याट्सम्यान मानिन्छ । नेपाली टिमका ज्ञानेन्द्र सबभन्दा महत्वपूर्ण ब्याट्सम्यान भन्दा फरक पर्दैन ।
भनिन्छ क्रिकेटमा तेस्रो क्रममा सर्वश्रेष्ठ ब्याट्सम्यानलाई उतारिन्छ । सुरुमा नेपाली टिममा ज्ञानेन्द्र तेस्रो क्रममा नै ब्याटिङ गर्न क्रिजमा आउनुहुन्थ्यो । पछि नेपाली क्रिकेट टिममा प्रारम्भिक ब्याट्सम्यान लगातार असफल भएपछि अहिले ज्ञानेन्द्र प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा हुनुहुन्छ ।

ज्ञानेन्द्रमा तेज र स्पीन दुवै बलिङ आक्रमणलाई सजिलै खेल्न सक्ने खुबी छ । यसबाहेक क्रिजमा टिकेर अथवा विस्फोटक पाली खेल्नु परेमा उनकै नाम अगाडि आउँछ । चौका, छक्का प्रहार गर्न माहिर अनि जुनसुकै ब्याटिङ सट खेल्न सक्षम छन् ज्ञानेन्द्र । यस्तो प्रतिभा विश्व क्रिकेटमै कमै ब्याट्सम्यानमा देख्न सकिन्छ ।
परिस्थितिअनुसार आफूलाई क्रिजमा ढाल्न सक्ने ज्ञानेन्द्रको नाम एकदिवसीय क्रिकेटमा सर्वाधिक तेज अर्धशतक बनाउने नेपाली ब्याट्सम्यानको सूचीमा सबभन्दा अगाडि छ । यसैगरी, एक ओभरमा छ चौका प्रहार गर्ने दुर्लभ कीर्तिमान पनि उहाँकै छ । सन् २०१२ मा भएको एसीसी ट्रफीमा सउदी अरबविरुद्ध उनले यी दुवै किर्तिमान कायम गर्नु भएको थियो ।

अहिले नेपाललाई आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री उपाधि दिलाउने क्रममा सबभन्दा बढी योगदान दिने ज्ञानेन्द्रले पहिलो पल्ट अन्तर्राष्ट्रिय शतक बनाएर अर्को उपलब्धि हासिल गर्नुभयो । ज्ञानेन्द्र सिंगापुरविरुद्धको खेलका ११४ रन बनाएर अन्तर्राष्ट्रिय क्रिकेटमा आप्mनो पहिलो शतक बनानुभएको थियो ।

अन्डरपर्फमरको ट्याग
यद्यपि ज्ञानेन्द्रमाथि समयसमयमा ‘अन्डर पर्फमर’कै ‘ट्याग’ लागेको देखिन्छ । आप्mनो क्षमताभन्दा कम प्रदर्शन गर्नेलाई अन्डर एचिभर्स भनिन्छ । उमेर समूहको क्रिकेटदेखि नै ज्ञानेन्द्रलाई क्षमतावान क्रिकेटरको रुपमा हेरिए पनि सुरुका दिनमा आशा गरिए अनुरुप प्रदर्शन मैदानमा देखाएर आप्mना समर्थकलाई खुशी पार्न सकिरहेका थिएनन् । यद्यपि ज्ञानेन्द्रले सँधै आलोचकलाई चुप पार्दै प्रत्येक पटक आफूमाथिको यो धब्बा मेटाउनु भएको छ ।

विश्वकप टि–ट्वान्टीमा ज्ञानेन्द्रको सही महत्व थाहा भएको भन्दा फरक नपर्ला । टि–ट्वान्टीमा कम बलमा धेरै रन बनाउनु जरुरी हुन्छ । बंगलादेशमा भएको टि–ट्वान्टी विश्वकपमा ज्ञानेन्द्रले पहिलो खेलमा हङकङविरुद्ध ४१ बलमा ४८, बंगलादेशविरुद्ध २१६.६६ को स्ट्राइकर रेटमा ६ बलमा १७ र अफगानिस्तानविरुद्धको तेस्रो खेलमा १६९.६६ को स्ट्राइकर रेटमा ६ बलमा १५ रन बनाएर टिमको राम्रो प्रदर्शनमा विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।
ज्ञानेन्द्रमा टिममै भएको कारणले पनि कप्तान पारस खड्कालाई भाग्यशाली मान्नेको कमी छैन किनभने ज्ञानेन्द्रमा क्रिकेटको ज्ञान भरपुर छ भने उहाँ टिमको आवश्यकता अनुसार जुनसुकै स्थानमा पनि ब्याटिङ गर्न सक्नुहुन्छ अनि कठिन परिस्थितिमा उहाँ पारसलाई सही सल्लाह दिनुहुन्थ्यो ।

कसरी होमिए ज्ञानेन्द्र क्रिकेटमा
ज्ञानेन्द्रको जन्म भिमसेनस्थानमा रहेको मध्यमवर्गीय तर प्रतिष्ठित परिवारमा भएको हो । ज्ञानेन्द्रका तीन दिदी र दुई दाई तथा एक भाई हुनुहुन्छ । उनको परिवारलाई ठकु जुजु भनेर चिनिन्छ । ज्ञानेन्द्रका अनुसार उहाँको परिवार भिमसेन गुठी, पचली भैरव आदि गुठीका संरक्षक पनि थियो । ज्ञानेन्द्रको परिवारमा क्रिकेटसँग आवद्ध कोही थिएनन् तर उहाँको क्रिकेट जीवन सलल बग्यो । ज्ञानेन्द्रमा सानैदेखि क्रिकेटको भूत चलेको थियो । उहाँले आठ, नौ वर्षको उमेरसम्म काठको ब्याट् बनाई टेनिस बल, प्लास्टिक बलले भिमसेनस्थानको चोकमै क्रिकेट खेल्दाखेल्दै क्रिकेटसँग नाता जोड्नुभयो ।

त्यहीँ खेल्दै गर्दा टोलकै रसिल श्रेष्ठले उनको प्रतिभा देखेर स्थानीय जेबी क्लबबाट क्रिकेट खेलाउनुभएको थियो । त्यसपछि उहाँले सानै उमेरमा यंगाल क्रिकेट क्लबबाट पनि प्रतिस्पर्धा गर्नुभयो । त्यहाँ क्रिकेट खेल्ने मनोबल प्राप्त गरेपछि यंगाल क्लबका विनोद राजभण्डारीले उहाँलाई यु–१५ को क्लब छनोटमा सहभागी गराउनुभयो । हुनत उहाँ १५ वर्षभन्दा कम उमेरमै यु–१७ क्याम्पमा चयन हुनुभएको थियो तर उहाँले यु–१५ नै पहिलो पटक खेल्नुभयो । ज्ञानेन्द्रले सहि समयमा सही मौका पाउनुभयो । अहिले त उहाँको क्रिकेट यात्रा भन्डै १५ वर्ष पुगिसकेको छ ।
ज्ञानेन्द्रसँग यु–१५, यु–१७, यु–१९ र राष्ट्रिय सिनियर टिम सबै वर्गको भरपुर अन्तर्राष्ट्रिय अनुभव हासिल छ । ज्ञानेन्द्रले सन् २००६ मै चार दिवसीय प्रतियोगिता आइसीसी इन्टरकन्टिनेन्टल कपमा नामिबियाविरुद्ध खेलेर राष्ट्रिय टिममा पदार्पण गर्नुभएको हो । सो समय उहाँ १६ वर्ष मात्र पुग्नुभएको थियो । त्यहाँ उहाँले राम्रो ब्याटिङ गर्न सक्नुभएन तर सोही वर्ष ज्ञानेन्द्रले एसीसी ट्रफीमा आप्mनो पहिलो एकदिवसीमा खेलमै कुवेतविरुद्ध ७१ रन बनाएर ज्ञानेन्द्र म्यान अफ दि म्याच बन्नुभयो ।

यस खेलमा यति सफलता हासिल गरेर पनि एकताका ज्ञानेन्द्रमा क्रिकेटलाई लिएर निराशा छाएको थियो । त्यसैले क्रिकेट छोडेर परिवारसहित अस्ट्रेलिया जाने प्रक्रियामा लाग्नु भएको थियो उहाँ । उमेर समूहको क्रिकेट खेल्दा भविष्यलाई लिएर चिन्ता नभए पनि बढ्दो उमेरसँगै क्रिकेटमा लागेर जीवनयापन गर्ने अवस्था देख्नु भएन उहाँले । सो समय वर्षमा एक या दुई पटक राष्ट्रिय, अन्तर्राष्ट्रिय क्रिकेट खेलेर आप्mनो भविष्य सुरक्षित लागेन ज्ञानेन्द्रलाई ।
अझ मध्यमवर्गीय परिवार भएकोले भविष्यलाई लिएर अलि दबाब नै थियो । त्यसैले ज्ञानेन्द्रले प्रशिक्षकसँग सल्लाह गरेर विदेसिने मन बनाइसक्नुभएको थियो । तर अहिले उहाँ खुशी हुनुहुन्छ नेपालमै रोकिनुपरेकोमा । उहाँलाई लाग्छ क्रिकेटले देशलाई एक बनाएको छ र त्यसमा धेरै थोरै योगदान आप्mनो पनि छ ।
अहिले क्रिकेटले उनलाई नामका साथै दाम कमाउने अवसर पनि दिएको छ । सानेपामा उनको काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर छ । जहाँबाट राम्रा क्रिकेटर पनि उत्पादन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्