विराटनगरमा असई मापसे सहित ड्युटीमा, डिएसपीले लिए नियन्त्रणमा

विराटनगरमा असई मापसे सहित ड्युटीमा, डिएसपीले  लिए  नियन्त्रणमा

विराटनगर । मापसे (मादक पदार्थ सेवन ) गरेर ड्युटी गरिरहेको अवस्थामा प्रहरी सहायक निरीक्षक भेटिएपछि कार्वाही प्रक्रिया अघि बढेको छ । विराटनगरको बरगाछी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) तारा बहादुर बस्नेतलाई ड्युटीमा मापसे गरेको अवस्थामा भेटिएको हो ।
ड्युटीमा आफै मादक पदार्थ सेवन गरेर सवारी साधनका चालकको मापसे चेकजाँच गरिरहेको पाइएपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानेर उनीमाथि कारबाही अघि बढाउन अनुसन्धान थालिएको छ ।
विराटनगर महानगरपालिका–४ खारजीमा बिहीबार राति मापसे चेकजाँचमा खटिएका असइ बस्नेतलाई नियन्त्रणमा लिन मोरङका डीएसपी राजकुमार खिँउजुको टोली पुगेको थियो ।
कोशी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बस्नेतले मापसे सेवन गरेको पुष्टि भएको छ । डीएसपी खिँउजुले जिल्ला तानिएका बस्नेतमाथि आवश्यक अनुसन्धानपछि कारबाही अघि बढाइने बताए ।
खिँउजु आफै घटनास्थलमा पुग्दा प्रहरीको पोशाक लगाएर ड्युटीमा खटिए पनि मदिराको नसामा लट्ठ रहेका बस्नेत सडकमा गुड्ने सवारी साधनका चालकले मापसे गरे–नगरेको बारेमा चेकजाँच चैं गरिरहेका थिए ।
मापसे चेकजाँचका क्रममा सवारी चालकसँग विवाद गरेपछि जिल्ला प्रहरी कार्यालयमा सवारी चालकहरुले ड्युटीमा रहेका असइले मापसे गरेको जानकारी गराएका थिए । । त्यसपछि घटना बाहिरिएको हो । शुक्रबार दिउँसोसम्म उनको ठाउँमा बरगाछी चौकीमा कसैलाई पठाइएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङले तीन दिन अघि मात्रै बस्नेतलाई बरगाछी चौकीको इन्चार्ज तोकेर पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्