विराटनगर । विराटनगरमा शनिबारबाट ‘काव्यारोहण’ आरोहण कविता यात्रा सुरु भएको छ ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा सुरु भएको कविता यात्राको पहिलो अनुक्रममा वरिष्ठ कवि बैरागी काइँलाले आफ्ना कविता वाचन गर्नुभयो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा उहाँले प्लाञ्चेटको टेबल, अटोग्राफ, औंलाहरु चुमेर, माया र मफलर, आवरण, हाट भर्ने मानिस, म मेरो वजनजति मेरो धरतीलाई भार भएको छु लगायत दर्जन कविता वाचन गर्नुभयो । हरेक महिनाको पहिलो शनिबार ख्यातीप्राप्त नेपाली कविहरुको एकल कविता वाचन गर्ने गरी आजबाट ‘काव्यारोहण’ सुरु गरिएको आयोजकले जनाएको छ । कला–साहित्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्थाले नेपाली कविताको संवद्र्धन–प्रवद्र्धन गर्ने उद्देश्यले कविता यात्रा सुरु गरेको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो । शनिबारको कार्यक्रममा कविता सुन्न राष्ट्रियसभा सदस्य खेम नेपाली, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, साहित्यकार दधिराज सुवेदीलगायत साहित्यकार, प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कविता यात्राको संरक्षक तथा प्रवद्र्धकको रुपमा विराटनगर महानगरपालिकाले सहयोग गरेको छ ।