खोटाङमा यस्तो : वृद्धाद्वारा वडा कार्यालयलाई २५ लाखको जग्गा दान

खोटाङमा यस्तो  : वृद्धाद्वारा वडा कार्यालयलाई २५ लाखको जग्गा दान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी ७१ वर्षीया कमला श्रेष्ठले २५ लाख मूल्य बराबरको जग्गा वडा कार्यालयलाई निःशुल्क प्रदान गर्नुभएको छ । उहाँले पाँच रोपनी जग्गा वडा कार्यालयलाई दान गर्नुभएको हो ।

जेठा छोरा प्रतापसँगै दिक्तेल आउनुभएकी कमलाले जिल्ला मालपोत कार्यालयमा गएर आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयको नाममा निःशुल्क हाल्न लगाएको वडासचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो ।

जग्गादाता कमलाले खार्मीस्थित स्कूलडाँडामा रहेको आफ्नो नामको जग्गाधनीपूर्जा वडा कार्यालयको नाममा नामसारी गरेर वडाध्यक्ष रामचन्द्र राईलाई प्रदान गर्नुभयो । जग्गा अभावमा वडा कार्यालय भवन निर्माण गर्न कठिनाइ भएको अवस्थामा श्रेष्ठ परिवारलाई नयाँ भवन निर्माण गर्न निःशुल्क जग्गा दिन अनुरोध गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।

निःशुल्क जग्गा प्राप्त भएसँगै भवन निर्माणका लागि नगरपालिकालाई अनुरोध गरिने वडा कार्यालयले जनाएको छ । चालु आवदेखि वडाको आफ्नै कार्यालय भवन निर्माणको काम शुरु गरिने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

भवन निर्माण गर्न प्रदेशबाट प्राप्त हुने समपूरक कोष र नगरपालिकाको ५०/५० प्रतिशत लगानी रहनेछ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश वडा कार्यालय भाडाको घरमा सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्