विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी निर्माण हुने

विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी निर्माण हुने

मोरङ ।  विराटनगर महानगरभित्र ४७ स्थानमा बस बिसौनी सेड तथा ट्राफिक आइल्याण्ड निर्माण हुने भएको छ। यसका लागि गत आर्थिक वर्ष २०७४÷७५ सालमै महानगर र आकृति एड्भरटाइजिङबीच सम्झौता भएको हो। जसअनुसार आकृतिले महानगरभित्र २७ वटा बसबिसौनी सेड र २० वटा ट्राफिक आइल्याण्ड निर्माण गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार सबैस्थानमा निर्माण कार्य सम्पन्न भइ महानगरलाई हस्तान्तरण गरेपछि, कम्पनीले प्रत्येक स्थानबाट बार्षिक ३० हजार रुपैंया राजस्व महानगरलाई बुझाउने जानकारी दिए। उनले भने, ‘महानगरले उहाँहरुलाई स्थान उपलब्ध गराउने र उहाँहरुले महानगरलाई राजस्व तिर्नु हुनेछ। यसबाट महानगरको आम्दानी हुनेछ।’

महानगरको पुष्पलाल चौक र धरान विराटनगर सडकखण्डस्थित भृकुटी चौकमा विसौनीको निर्माण भइरहेको छ। जहाँ यात्रुवहाक बस रोक्ने, यात्रु चढाउने ओलार्ने कार्य हुनेछ। त्यसैगरी, पछिल्लो समय महानगरमा बढ्दो ट्राफिकजामको समस्या हल गर्न महेन्द्रचौकदेखि भृकुटीचौकसम्म करिब ४ स्थानमा तत्काल आईल्याण्ड लगाउने महानगरले जनाएको छ।

अर्कोतर्फ, आकृतिका विराटनगरस्थित बजार ब्यवस्थापक किरण गिरीले केहीदिन भित्र निर्धारित स्थानमा आइल्याण्ड राख्ने कार्य सम्पन्न हुने बताए। गिरीका अनुसार महानगरले स्थानसँगै सडकको क्षेत्र उपलब्ध गराए २० दिनभित्र निर्धारित सबै क्षेत्रमा काम सम्पन्न हुनेछ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बिसौनी सेडका निर्माणका क्रममा केहीस्थानमा समस्या आएको बताए। उनले भने, ‘कतिपय स्थानमा महानगरकै पदाधिकारी निर्माणस्थल पुग्नुपर्ने, स्थानीयमाझ सहजीकरण गर्नुपर्ने अवस्था छ।’ महागनरले आकृतिलाई कम्तीमा १० वर्षको लागि ती स्थान भाडामा दिने र त्यसपछि पुनः नवीकरण गरि सम्झौता अघि बढाउन सक्ने प्रावधान रहेको जनाएको छ। बस विसौनी सेडमा विद्युत, मोबाईल चार्जिङ, बस्ने सकिने ब्यवस्था हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्