कांग्रेसलाई भोलीका दिनमा बत्ती बालेर खोज्नु पर्छ : प्रचण्ड

कांग्रेसलाई   भोलीका दिनमा बत्ती  बालेर खोज्नु पर्छ  : प्रचण्ड

धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गाली मात्र गर्ने कांग्रेसले आफूलाई नसुधारे भोलीका दिनमा बत्ती बालेर खोज्नुुपर्ने अवस्था आउने बताएका छन्। बुधबार सुनसरीस्थित धरान उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बलियो विपक्षी हुँदा राष्ट्रलाई हित हुने  भन्दै कांग्रेसलाई अरुको भन्दा आफ्नो चिन्ता लिन आग्रह गरे।

सम्बोधनका क्रममा अध्यक्ष दाहालले प्रधानमन्त्रीको पद दिएर आफूलाई लोभ्याउन खोजे पनि कांग्रेसको मुख्य उदेश्य कम्युनिष्ट एकता नहोस् भन्ने नै रहेको आरोप लगाएका थिए। चुनावी सम्बोधनका क्रममा आक्रमक रुपमा प्रस्तुत भएका दाहालले कांग्रेस मुलुकको समृद्धि तथा समुन्नत विकासको पक्षमा नरहेको आरोप लगाए।

उनले भने, ‘कांग्रेस विकासको पक्षमा छैन। त्यसैकारण राम्रो कामलाई सकारात्मक रुपमा लिन नसकेर कांग्रेस अरुलाई तथानाम गाली गर्दै समय खर्चिरहेको छ।’ पार्टीभित्र दुई अध्यक्षको विषयमा देखिएको टीका टिप्पणीमा अध्यक्ष दाहालले भने, ‘आलोपालोबाट दोधार हुने भन्दै एकजनाले ५ वर्ष ढुक्क सरकार चलाउने र अर्का एकजनाले पार्टी सुदृढिकरणमा लाग्ने प्रस्ताव आफुले नै गरेको हुँ।’

चुनावी कार्यक्रममा अर्का नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीको सक्रियतामा लिपुलेकमा मिचिएको नेपाली भुमि फर्काउन पहल भइरहेको बताए। उनले भने, ‘सीमा विवादका विषयलाई कांग्रेसले चुनावी एजेण्डामात्र बनाउन खोज्यो।’ १४ गते हुने निर्वाचनको प्रचार–प्रसारको अन्तिम दिन बुधबार दिउँसो अध्यक्ष दाहालसहित नेम्वाङ धरान आएका हुन्। उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ।

धरानमा मेयर पदका लागि नेपाली कांग्रेसबाट तिलक राई र नेकपाबाट प्रकाश राई मुख्य दावेदारका रुपमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्