सूर्योदयको पहिलो झुल्को देखिने श्रीअन्तु डाँडा घुम्ने हैन ?

सूर्योदयको पहिलो झुल्को देखिने श्रीअन्तु डाँडा घुम्ने हैन ?

प्रेम अधिकारी

सूर्योदयको पहिलो झुल्को देखिने श्रीअन्तु डाँडा इलामको सूर्योदय नगरपालिकामा पर्दछ । अन्तु डाँडा बालबालिकाको रोजाईँमा पर्ने एक पर्यटकीयस्थल हो । कलकलाउँदा चियाका मुना र शान्त वातावरणले अन्तु डाँडा पुगेका बालबालिका प्रफुलित हुने गरेका छन् । बालबालिका चियाका बुट्टामा लुटपुटिँदै मनोरञ्जन गर्ने गर्छन् । अन्तुमा बालबालिका रमाउने धेरै स्थान छन् । सूर्योदय, सूर्यास्तको दृश्यावलोकन, अन्तु पोखरी, चिया बगान र काठैकाठले बनेका स–साना घरहरूमा बालबालिका रमाउने गरेका छन् । बालबालिकाका लागि भनेर छुट्टै घुम्ने ठाउँ नभए पनि आफ्ना अभिभावकसँग आएका बालबालिका घण्टौँसम्म यहाँ रमाउने गरेका छन् ।

अन्तुको चुचुरोमा पुगेर झुल्केघामसँगै विभिन्न हिमालको दृश्य हेर्न पाउँदा बालबालिका औधी रमाउने गर्छन् । अन्तु चुचुरोसम्मको आधा घण्टा बढीको  पैदलयात्रा बालबालिकाका लागि अविस्मरणीय बन्ने गरेको छ । कोणधारी धुपीको जङ्गल हुँदै उकालो पैदलयात्रा बालबालिकाका लागि निक्कै कठिन भए पनि उति नै रमणीय बन्ने गरेको छ । नेपालभित्रका मात्र नभएर विदेशबाट समेत आफ्ना अभिभावकसँग बालबालिका घुम्न अन्तु आउने गरेका छन् । अन्तु आएका बालबालिकाले चिया बगानमा विभिन्न जातजातिका भेषभूषामा सजिएर तस्बिर लिने गरेका छन् । धेरै जसो बालबालिकाले भिडियो बनाएर लैजाने गरेको पाइन्छ । स्थानीय खानाका परिकारका स्वादमा रमनाउँदै बालबालिकाले यहाँको कला संस्कृतिको अध्ययन अवलोकनसमेत गर्ने गरेका छन् ।

अन्तुमा बसोबास गर्ने लोपोन्मुख लाप्चा जातिको संस्कति बालबालिकाका लागि बिल्कुल नयाँपन हो । अन्तुमा रहेको लाप्चा सङ्गहालयभित्रका ऐतिहासिक वस्तुको अवलोकन र लाप्चा जातिको नृत्यले बालबालिकालाई लालायित गराउने गरेको छ । भिन्नपनको लाप्चा जातिको भेषभूषासँगै अन्य राई, लिम्बू, तामाङ आदि जातिको जातीय संस्कृतिले देश विदेशबाट आएका बालबालिकालाई लोभ्याउने गरेको छ । धेरैजसो बालबालिका चिया बगानसँगै विभिन्न जातजातिको संस्कृति र स्थानीय खानाका परिकारमा रमाउने गरेका छन् । अन्तुमा स्थानीयले बनाएका होमस्टेको बास बालबालिकाका लागि अर्को फरक पन बन्ने गरेको छ ।

स–साना काठबाट निर्माण गरिएका घर र ती घरहरूमा लगाइएका विभिन्न जातका फूलले बालबालिकाको मन त्यतै तान्ने गरेको छ । अन्तु आएका बालबालिका स्थानीय खानाका परिकारहरूमा त्यतिकै रमाउने गरेको पाइन्छ । कोदो फापरको रोटी, आलु, मकै भटमासजस्ता स्थानीय खाद्य परिकार र विभिन्न दूधका परिकार बालबालिकाले रुचाउने गरेका छन् । दूधबाट बनाइएका परिकार ललिपप बम्बैसन आदि बालबालिकाले लैजाने कोसेलीका रूपमा पर्दछन् । अझ घोडचढी गर्न पाउँदा बालबालिका बढी खुसी देखिन्छन् ।अन्तु पोखरी आसपास र चिया बगानबीचका बाटामा घोडचढी गराउने गरिएको छ । स्थानीयका जातीय पोसाकमा सजिएर घोडमा चढेर तस्बिर लिन बालबालिका औधी रुचाउने गरेका छन् । बालबालिकाहरू लामो समयसम्म घोडा चढ्न रुचाउने गरेको पाइन्छ । तराई क्षेत्रबाट आएका बालबालिका यहाँको चिसो मौसममा रमाउने गरेका छन् ।

अन्य स्थानमा जाँदाभन्दा अन्तुमा आएका बालबालिका बढी रमाउने गरेको अभिभावकले महसुस गर्ने गरेका छन् । अन्तु जाँदा बालबालिका बाटैदेखि रमाउने गरेका छन् । सूर्योदय नगरपालिकाको फिक्कल, छिपीटारबाट ट्याक्सी, सिटी रिक्सा, मोटरसाइकल र आफ्ना निजी सवारीसाधनमा अन्तु जाँदा बाटैमा देखिने चिया बगान र तराईको फाँट र भारतका विभिन्न स्थानको दृश्यले बालबालिकाको मन त्यतैतिर तान्ने गरेको छ । अन्तुमा आएका पर्यटकमध्ये अधिकांशले बालबालिका लिएर आउने गरेका छन् । स्थानीयका अनुसार आएकामध्ये ६० प्रतिशत पर्यटकमा बालबालिका नै पर्दछन् ।

अन्तुमा बालबालिकाका लागि बाल उद्यानलगायत विभिन्न पार्क निर्माण गर्ने हो भने अझ बढी बालबालिकाका लागि घुमफिरको गन्तव्य बन्नेछ । प्रदेश १ सरकारले घोषणा गरेको पर्यटकीय नगरी सूर्योदय नगरपालिका–५ मा अन्तु पर्दछ । नगरपालिकाले पछिल्लो समय पर्यटकीयस्थलहरू समेत बालमैत्री बनाउन सुरु गरिसकेको छ । समुद्री सतहबाट २३२८ मिटर उचाइमा रहेको अन्तु डाँडा झुल्के घाम हेर्ने देशकै उत्कृष्ट स्थानमा पर्दछ ।

मुना मङसिर २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्