विराटनगरका ईटा ब्यापारीले आफ्नै जेठी सासुको १५ लाख ठगेको आरोप, प्रहरी अनुसन्धान गर्दै

<span class='c1'>विराटनगरका ईटा ब्यापारीले आफ्नै जेठी सासुको १५</span> <span class='c2'>लाख ठगेको आरोप, प्रहरी अनुसन्धान गर्दै</span>

विराटनगर । दुग्ध विकास संस्थान (डीडीसी) का पूर्व अध्यक्ष विष्णुप्रसाद मैनालीमाथि आफन्तको १५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । ठगीको आरोप लागेपछि मोरङ प्रहरीले अनुसन्धान थालेको छ ।
व्यवसायी तथा इँटा भट्टाका मालिक समेत रहेका विराटनगरका मैनालीमाथि आफ्नै जेठी सासू ५७ वर्षीय सावित्रा बजगाईलाई खाली चेकमा हस्ताक्षर गर्न लगाउँदै झुक्याएर बैंकबाट पैसा निकाल्दै खाइमासी सकेर ठगी गरेको आरोप छ ।
उनी सावित्राका सहोदर बहिनीज्वाई हुन् । सावित्राका छोराहरु विराटनगर–५ का प्रकाश र विकास बजगाईले सानो बुवाका विरुद्ध दिएको जाहेरी दर्ता गर्दै त्यसकै आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरुले सानोबुवा विष्णुप्रसाद मैनाली, सानीआमा गीता मैनाली र सानोबुवाले सञ्चालन गरेको इँटा उद्योगका कर्मचारी प्रकाश तिम्सिना विरुद्ध जाहेरी दिएका थिए । जिल्ला अदालत मोरङले गत आइतबार तीनै जनालाई पक्राउका लागि अनुमति दिएपछि प्रहरीलाई अनुसन्धानका लागि थप सजिलो भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यद्यपी उनलाई प्रहरीले अहिलेसम्म पक्राउ भने गरेको छैन ।
प्रहरीकाअनुसार मैनाली मोरङको कटहरीमा रहेको राजश्यामा ईटा उद्योगका सञ्चालक र इटालियन ब्राण्डको पिरेली टायरका आयातकर्ता पनि हुन् । उनको टायर सम्बन्धीको काम काठमाडौंको कालीमाटीबाट हुन्छ । ईटा उद्योगमा मैनालीसँगै साडुदाई (प्रकाश र विकासका बुवा) को पनि शेयर थियो । बुवाको मृत्यु भएपछि सानो बुवा (मैनाली) ले कुनै हिसाव नदेखाउँदा उद्योगको शेयर फिर्ता लिने निर्णयमा आफूहरु पुगेको प्रकाशले बताए ।

आफूहरुले पाउने शेयर वापतको १५ लाख रुपैयाँ आमा सावित्राको नाममा रहेको मेघा बैंकको खातामा राखेको र पछि सानोबुवाले केही नजान्ने तथा बाहिरी वातावरणलाई राम्ररी बुझ्न नसक्ने आमालाई झुक्याएर खाली चेकमा हस्ताक्षर गर्न लगाउँदै निकालेर लगेको प्रकाशको भनाइ छ । उनका अनुसार ईटा उद्योगबाट २०७५ वैशाखमा शेयर फिर्ता लिइएको हो । २०७६ भदौ ३ गते बैंकमा पैसा निकाल्न जाने क्रममा आमाको नाममा रहेको खाता खाली रहेको र उक्त पैसा सानोबुवा विष्णुप्रसाद मैनालीले निकालेर लगिसकेको खुलेको उनले बताए ।
त्यसपछि केही नजान्ने र बिरामी समेत रहेकी आमालाई झुक्याएर तथा फकाएर लगेको पैसा फिर्ता माग्दा विभिन्न धाकधम्कीहरु खेप्नु परेको प्रकाश र विकासको गुनासो छ । आफूहरु असुरक्षित भएको र ठगीमा परेको गुनासो लिएर पटकपटक प्रहरीमा पुगे पनि गुनासो सुनुवाई नभएको विकासको भनाइ छ ।
टेलिफोन सम्पर्कका क्रममा ठगी आरोप लागेका मैनालीले भने आफूले कोही कसैलाई ठगी नगरेको र अदालतले पक्राउ अनुमति दिएको तथा प्रहरीले अनुसन्धान थालेको विषयमा कुनै जानकारी नभएको बताए ।
‘डेढ वर्ष अघि इँटा भट्टाको शेयर वापतको उनीहरुले पाउने पैसा लगेर बैंकमा जम्मा गरिदिने मान्छे म नै हुँ । त्यो भौचर अझै सुरक्षित छ ,’ उनले भने, ‘मैले कोही कसैलाई ठगी गरेको भए छानबिन गर्दा कुनै फरक पर्दैन । मैले अरुको बैंक खाताबाट पैसा पनि निकालेको छैन ।’ मैनालीले आफूसँग एक करोड रुपैयाँ लिनका लागि जेठी सासूका छोराहरुले विभिन्न आरोप र लान्छना लगाउँदै मुद्दा मामिला गरेर अनेक हतकण्डा मच्चाइरहेको दाबी गरे । त्यसका विरुद्ध आफू पनि अदालत जाने तयारीमा रहेको उनको भनाइ छ ।
मैनाली विक्रम संवत २०५६ देखि २०५८ सालसम्म डीडीसीका अध्यक्ष थिए । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र स्वर्गिय चक्रप्रसाद बास्तोलासँग नजिक भएकै कारण उनी डीडीसीको अध्यक्ष बन्न सफल भएको दाबी प्रकाशको छ । उनले प्रहरीका उच्च अधिकारीहरुसँग निकट र पारिवारिक नातासम्बन्ध रहेकै कारण प्रहरीले पनि मैनालीलाई पक्राउ गर्न नसकेको जिकिर गरे ।
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले मैनालीका विरुद्द जाहेरी दर्ता गरेर ठगी मुद्दामा अनुसन्धान अघि बढाउन अदालतबाट पक्राउ अनुमति लिइसकेएको बताए । एसपी अधिकारीले व्यक्ति पक्राउ नपरे पनि प्रहरीले यस विषयलाई गम्भीर रुपमा लिएर अनुसन्धान भने अघि बढाइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्