विराटनगर । सुनसरीको चतराधामका त्रिदण्डधारी साधु श्री कृष्णदाश जि महाराजलाई पक्राउ गर्न सुनसरी जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । एकजना योग साधक महिलाले कृष्णदाशमाथि बलात्कार गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट पक्राउको अनुमति लिएको हो ।
पक्राउको अनुमति लिएपनि बलात्कारको अभियोग लागेका सिद्धबाबा कृष्णदाश जि लाई भने प्रहरीले शनिबार अपरान्हसम्म पक्राउ गरेको छैन । जाहेरी अनुसार प्रमाण बुझ्ने काम भइरहेको भन्दै सुनसरी प्रहरीले छिट्टै पक्राउ गर्ने जनाएको छ । ‘बलात्कार गरेको भन्ने महिलाको जाहेरी प्राप्त भएपछि हामी अनुसन्धान गरेर प्रमाण संकलनमा लागिरहेका छौं,’ सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले भने, ‘अदालतबाट पक्राउको आदेश लिइसकेका छौं पक्राउ गरेर अनुसंधान प्रकृया अघि बढाउँछौं ।’ बलात्कारको आरोप लागेका पिठाधीश कृष्णदाश जि विराटनगर स्थित विराट नर्सिङ्ग होममा उपचाररत रहेका छन् । छातिको दुखाईसँगै अस्पताल भर्ना भएका कृष्णदाशमा ग्याँस्ट्रिक, प्रोस्टेट र पत्थरियाको समस्या समेत देखिएको बताइएको छ । विराट नर्सिङ होमको क्याविन नम्बर ५ मा उनको उपचार भइरहेको छ । कात्तिक पहिलो साता चतरास्थित आश्रममा साधना गर्न गएको बेला आफुमाथि सिद्धबाबाले बलात्कार गरेको भन्दै कृष्णदाश विरुद्ध महिलाले केही दिन अघि उजुरी दर्ता गराउनुभएको हो । सुनसरी प्रहरीले उजुरी दर्ता नगरेको भन्दै महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमै उजुरी दर्ता गरी स्वास्थ्य परीक्षणसमेत गराएका थिए । बलात्कारको अभियोग सार्वजनिक भएसँगै कृष्णदाश जि अस्पताल भर्ना भएका हुन् । बलात्कारको आरोप लागेका त्रिदण्डधारी साधु कृष्णदाशले भने घटना अस्वीकार गरेका छन् । उनले आफुमाथि ठूलो षड्यन्त्र भएको भन्दै आरोपबाट मर्महत भएको बताए । ‘म जस्तो सदाचारी आचरणमा बसेको कट्टर नियमको पालना गर्ने नैतिक दिक्षा दिने व्यक्तिले यस्तो कार्य कसरी गर्न सक्छ ,’ उनले भने ‘ यस्तो आरोपले म अत्न्तै मर्माहत भएको छु र ममाथि अकल्पनीय घटना आइपरेको छ तर नखाएको बिष त लाग्दैन नि ।’ आफुले देश र जनताकालागि आरम्भ गरेको मानवहित, हरित राष्ट्र निर्माण, कृषि विकास र बहुमूल्य जडिबुटी संरक्षणको अभियानलाई तुहाउने प्रयत्नस्वरुप आफुमाथि सुनियोजित षड्यन्त्र भएको उनले बताएका छन् । शनिबार अपरान्ह समाचार दैनिकसँग कुरा गर्दै उनले भने, ‘मैले गरेको काम, मेरा व्यवहारहरु र प्रयासहरुले देशलाई कुनै नोक्सानी पु¥याएको छैन जति गरेको छु देशकै लागि गरेको छु तर मेरो अभियानलाई तुहाउने षड्यन्त्र भएको छ ।’ विश्वसामु योगको जन्मभूमि नेपाल हो भनेर चिनाउने काम गरिरहेको सन्दर्भमा आफुमाथि बलात्कारको आरोप लगाइएको उनले बताए । कृष्णदाश जिले भने–‘आरोप लगाउने महिलाले विभिन्न माध्यमबाट र साधुहरु मार्फत आफुसँग एकान्तमा भेट गर्न चाहेको खवर पठाइरहेको र मोवाइल म्यासेजमा पनि धेरै असान्दर्भिक कुरा लेखेको पाइएपछि उनीसँग भेट नभएको जिकिर गरेका छन् । जथाभावी म्यासेज पठाएको भन्दै महिला बिरुद्ध कात्तिक पहिलो साता नै हनुमान ढोका प्रहरीमा साइबर अपराधको उजुरी दर्ता गरेको उनँले जानकारी दिए । अभियोग लगाउने महिलालाई आफुले दिक्षा नदिएको र नक्कली साधक बनेर आश्रमसम्म आइपुगेको दावी उनले गरेका छन् । नियोजितरुपमा आफु विरुद्ध साधकको भेषमा आएकी महिला प्रयोग भएको र महिलाको श्रीमानसमेत षड्यन्त्रमा संलग्न रहेको आरोप उनले लगाएका छन् । चतरा स्थित आश्रममा अहिले पनि एक सय ५० को संख्यामा योग साधकहरु रहेको र ति मध्ये ६० प्रतिशत पुरुष र ४० प्रतिशत महिला भएको उनले बताए ।
‘दिक्षा दिएका शिष्यलाई गुरुको पाउ स्पर्श गर्ने अधिकार हुन्छ तर मैले कहिल्यै पनि स्त्रीलाई पाउ स्पर्श गर्न दिएको छैन अझ त्रिदण्डधारण गरेपछि स्त्री स्पर्श मात्र होइन स्त्रीले पकाएको भोजनसमेत खान हुँदैन,’ उनले भने ‘यतिधेरै नियम र अनुशासनमा बसेको व्यक्तिमाथि षड्यन्त्रपूर्वक आरोप लगाइएको हो ।’ अस्पतालमा उपचार गराइरहनुभएका कृष्णदाश जिले आफ्नो तर्फबाट गल्ति पाइए जस्तोसुकै सजाय भोग्न तयार रहेको भन्दै निष्पक्ष छानविनको अपिल पनि गरेका छन् । ‘म गलत छु भने मिडियाले ठोकेर लेख्नुपर्छ, म जस्तोसुकै सजायँ भोग्न तयार छु,’ उनले भने ‘हैन भने यति ठुलो अभियान तुहाउने प्रयत्न किन गरियो ?’ उनले आफु कलंकित भएर बाँच्न नचाहेको भन्दै भन्ने ‘हामीजस्तो लोभ, मोह र संसारिक सुख त्यागेर हिडिसकेपछि पनि देशका लागि केही गरौं भनेर फर्केर आएका साधुहरुसमेत बस्न नसक्ने अवस्था ल्याउन खोजिएको छ ।’ उनले भने ‘हामीजस्तो सदाचारी मानिसमाथि समेत आइमाई बम छोड्ने हो भने अरु के नै गर्न सकिएला र ?’ आफुमाथि लागेको आरोप समाज, प्रशासन र न्यायालयबाट निष्पक्ष छानविन गर्न आग्रह गर्दै उहाँले अनुसन्धानकालागि सदैव सहयोग गर्न तयार रहेको बताउनुभएको छ । ‘म अहिले प्रहरीको निगरानीमा छु र ममाथि बलात्कारको आरोप लगाइएको छ,’ उनले भने ‘यसको निष्पक्ष छानविन होस् र मलाई जतिबेला पनि प्रहरीले नियन्त्रणमा लिएहुन्छ म अनुसन्धानमा पूर्ण सहयोग गर्नेछु ।’
साभार : गोकुल पराजुली
समाचार दैनिक डट कम