इँटा भट्टाभित्र मान्छे जलाएको घटना : प्रहरीले सक्यो आलममाथिको अनुसन्धान, बाँचुञ्जेल जेल हाल्नु पर्ने राय

इँटा भट्टाभित्र मान्छे जलाएको घटना : प्रहरीले सक्यो आलममाथिको अनुसन्धान, बाँचुञ्जेल जेल हाल्नु पर्ने राय

रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र मान्छे जलाएको घटनाबारे प्रहरीले अनुसन्धान सकेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको अनुसन्धानबाट २०६४ चैत २७ गते रौतहटको राजपुर- ४ मा बम बिस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको पुष्टी भएको छ। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आजै रौतहटको सरकारी वकिल कार्यालयलाई बुझाइएको छ।

‘अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाएका छौं,’  रौतहटका प्रहरी प्रवक्ता तथा डिएसपी नवीन कार्कीले  भने।रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम बिष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहमदसमेत दुई जना घाइते भएको अनुसन्धानबाट भएको पुष्टी भएको उनले बताए।

दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान, अहमदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार/भण्डारण गरी बिष्फोट गराएको भन्दै आलमलाई मुद्दा चलाउनु पर्ने प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमा पेश गर्न लागेको डिएसपी कार्कीले बताए।

रौतहटका सरकारी प्रमुख सरकारी वकिल खडिन्द्र कटुवालले आलमसहित दशजनाविरूद्ध मुद्दा चलाउने रायसहितको प्रहरीको प्रतिवेदन आफूहरूले बुझेको बताए।आलमलाई घटना भएका बेला लागू हुने कानुनअनुसार सर्वस्वसहित जन्मकैद हुनु पर्ने प्रहरी प्रतिवेदनमा राय दिइएको छ।त्यतिबेला मुलुकी ऐन लागु हुन्थ्यो उक्त ऐनमा मान्छेको मारेको अभियोग पुष्टी भए सबैभन्दा धेरै सजाय सर्वस्व जन्मकैद हुने व्यवस्था थियो।

त्यस्तै  २०७५ भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिताअनुसार यातना दिएर मारेकोमा आलमलाई आजन्म कैद हुनु पर्ने माग पनि प्रतिवेदनमा गरिएको डिएसपी कार्कीले बताए।

‘कुन कानुनअनुसार कारबाही गर्ने अदालतको कुरा हो। हामीले दुबै कानुनअनुसार हदैसम्मको सजाय माग गरेका छौं,’ कार्कीले भने।  जन्मकैद सजाय पाए आलम २० वर्ष जेल बस्नु पर्नेछ। आजन्मकैद भए उनी बाँचुञ्जेल जेलमा बस्नेछन्।

प्रहरी प्रतिवेदनमा भएका तथ्य र प्रमाण हेरेर सरकारी वकिल कार्यालयले मुद्दा चलाउने/नचलाउने निर्णय गर्नेछ। प्रमुख सरकारी वकिल कटुवालले सोमबारसम्म मुद्दा चलाउने/नचलाउने निर्णय गरिने जानकारी दिए। १२ वर्षअघि पनि प्रहरीले आलमविरूद्ध ओसी अख्तर र पिन्टुको हत्या गरेको भन्दै सरकारी वकिलमा प्रतिवेदन लगेको थियो। १२ वर्षअघिको उक्त प्रहरी प्रतिवेदनको घटनास्थल मुचुल्कामा बम बिष्फोट नभएको उल्लेख थियो। घटनाको धेरै दिनपछिमात्र अनुसन्धान थालिएको थियो। तर त्यतिखेर बम बिष्फोट भइ अख्तर र पिन्टु घाइते भएको देख्ने प्रत्यक्षदर्शी सराजुल मियाँले कागज गरेका थिए।

अख्तरका आमा रूक्साना खातुन र पिन्टुका वुबा श्रीनारायण सिंहले दिएको जाहेरी र मियाँले गरेको कागजका आधारमा त्यतिबेलै प्रहरीले आलमलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुनु पर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो।

सरकारी वकिल कार्यालय रौतहटले भने मुद्दा नचल्ने निर्णय गरेको थियो। जसलाई तत्कालीन महान्यायाधिवक्ताले सदर गरेका थिए।

त्यतिखेर प्रहरीले बुझाएको प्रतिवेदनलाई पनि अहिलेको अनुसन्धान प्रतिवेदनमा समावेश गरिएको प्रहरी स्रोतले बताएको छ।

अहिले पहिलेको भन्दा बलिया प्रमाणहरू सहित प्रतिवेदन तयार पारिएको पनि प्रहरीले जनाएको छ।

यतिबेला सबैभन्दा ठूलो प्रमाण वम विष्फोटमा परी घाइते भएका सफि अहमद हुन्। उनले आफू वम बनाउँदा बनाउँदै घाइते भएको र ज्यान बचाउन भागेको बयान प्रहरीलाई दिएको स्रोतले बताएको छ।

विष्फोटमा परी उनको छाती र पेटमा चोट लागेको थियो। त्यसपछि उनी भारतको एक अस्पतालमा उपचार गराएका थिए। वमको छर्राले उनको पेट र छातीमा घाउचोट लागेको रिपोर्टपनि प्रहरीले उक्त अस्पतालबाट ल्याएको छ।

त्यतिखेरका प्रहरी अधिकारीहरूसँग पनि अहिले सोधपुछ गरिएको छ।

'घटनाको बखत बहालवाला आइजी देखि उच्चपदस्थसँग पनि बम बिष्फोटको रिपोर्ट भएको थियो थिएन भनेर सोधेका थियौं, कसैले पनि बिष्फोट भएको थाहा छैन हैन भन्नुभएको छैन,' प्रहरी स्रोतले सेतोपाटीसँग भन्यो, 'त्यतिबेला विष्फोटको रिपोर्ट भएको थियो भन्ने नै जवाफ सबैको छ। त्यसैले पनि त्यहाँ बम बिष्फोट भएको र आलम झुठ बोलेको पुष्टी हुन्छ।’

सेतोपाटीसँग भने तत्कालिन आइजीपी ओमविक्रम राणाले आफूलाई उक्त घटना भएको कुरा थाहै नभएको बताएका थिए। राणाले प्रहरीसँग भने आफूलाई बम बिष्फोटबारे त्यतिबेलै रिपोर्ट आएको कुरा जानकारी गराएका छन्। तत्कालीन गृहसचिव उमेश मैनालीले भने बम बिष्फोट भएको र त्यहाँ मानिस मरेको घटना त्यतिखेर आफूले थाहा भएको बताएका थिए।

त्यसबाहेक त्यतिबेला बम बिष्फोट भएको र घाइतेलाई बोरामा हालेर ओसारेको, इँटाभट्टामा लगेर हालेको देख्ने प्रत्यक्षदर्शीले अहिले प्रहरीसमक्ष कागज गरेका छन्। यी सबैका आधारमा आलमले चुनावको अघिल्लो दिन बम बिष्फोट गराएको र घाइतेहरूलाई मारेको पुष्टी हुने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

बम पड्काएर मानिस तर्साउने र त्यही मेसोमा बुथ क्याप्चर गर्ने योजना बनाएर आलमले आफ्नो घरनजिकैको कटेरोमा केही नेपाली र भारतीयलाई बम बनाउन लगाएका विवरण आएका छन्। बम बनाएकै ठाउँमा बिष्फोट हुँदा दुई जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

बिष्फोटमा मारिएका र घाइते दुबैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिएका थिए।

प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी पठाएका थिए। त्यसपछि प्रहरीले यसमा अनुसन्धान गरेको थियो। घटनास्थलमा ओसीका लुगा र चप्पल थिए। इँटाभट्टाको माटो परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो। तर, प्रयोगशालामा माटो परीक्षण गर्ने प्रविधि नभएको भन्दै यसै फिर्ता पठाइयो।

प्रहरीले आलम र उनका भाइसहित पाँच जनालाई मुद्दा चलाउन भन्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलले मुद्दा चलाउन अस्वीकार गर्‍यो। उक्त निर्णयलाई महान्यायाधीवक्ता कार्यालयले पनि सदर गरेको थियो।

मुद्दा नचल्ने निर्णय भएपछि सिंह र खातुन दुवैले सर्वोच्च अदालतमा रिट दिएका थिए। सर्वोच्चमा रिट विचाराधीन रहेकै बेला खातुनको पनि गोली हानी हत्या भएको थियो। रिट परेको दुई वर्षपछि न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको इजलासले सरकारी वकिलको निर्णय खारेज गर्दै यसमा थप अनुसन्धान गरेर अदालतमा मुद्दा लैजान आदेश गरेको थियो।

सात वर्षसम्म उक्त आदेश कार्यान्वयन नभएपछि अधिवक्ता पुष्प पौडेलले अदालतको अवहेलना निवेदन दिएका थिए। उक्त निवेदनमा सुनुवाइ गर्दै गएको असारमा फेरि सर्वोच्चले पहिलेको आदेश कार्यान्वयनको अवस्थाबारे प्रत्येक महिना प्रतिवेदन बुझाउन महान्यायाधिवक्तालाई भनेको थियो।

त्यही आदेश कार्यान्वयन गर्न अहिले आलमलाई पक्राउ गरिएको हो। बम विष्फोटमा मारिएका ११ र घाइते २ जनालाई जिउँदै इँटाभट्टामा हालेर जलाइएको उक्त घटनाको जाहेरी दिने रूक्सना खातुनलाई पनि गोली हानेर मारेको आरोप आलमलाई लागेको छ। सेतोपाटीबाट साभार गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्