सगरमाथाको मापन प्रक्रिया लम्बियो, उचाइको नतिजा आउन साढे दुईमहिना लाग्ने

<span class='c1'>सगरमाथाको मापन प्रक्रिया लम्बियो, उचाइको</span> <span class='c2'>नतिजा आउन साढे दुईमहिना लाग्ने</span>

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको नतिजा आउन केही महिना ढिला हुने भएको छ । यसअघि सगरमाथाको उचाइ आउँदो डिसेम्बर महिनासम्ममा आउने भनिएकोमा ‘फिल्ड वर्क’ नसकिएका कारण साढे दुईमहिना जति ढिलो हुने अवस्था आएको  सगरमाथाको मापन कार्यमा संलग्न चिफ सर्भे अफिसर तथा मापन कार्यमा संयोजक रहेका सुशील डंगोलले  बाह्रखरीसँगको कुराकानीमा भने ।

‘‘मापन कार्य हामीले अन्तिम चरणमा पुर्याएका छौं । तर, फिल्ड वर्क बाँकी रहेका कारण यही डिसेम्बरमा सक्ने पूर्वनिर्धारित कार्यक्रम अब सन् २०२० को फेब्रुअरी महिनासम्म पुग्ने अवस्था उत्पन्न भएको छ,’’ डंगोलको भनाइ छ ।

सगरमाथाको पछिल्लो उचाइ ८,८४८ मिटर भए पनि भूकम्पलगायतका भौगर्भिक गतिविधिले पहिलाको तुलनामा थपघट भयो कि भन्ने आशंका उत्पन्न भइरहेको बेलामा नेपालले आर्थिक वर्ष २०७४–७५ देखि यसको मापन प्रक्रिया अघि बढाएको हो । विश्वको सर्वोच्च शिखर भएकोले सगरमाथालाई नेपालको गौरवको रुपमा लिइने गरेको छ ।

मापनका लागि यसअघि भारत सरकारका तर्फबाट चासो देखाइए पनि नेपाल आफैंले सो कार्य अघि बढाएको हो । मापनको सिलसिलामा अहिलेसम्म करिब २५ करोड खर्च भएको जनाइएको छ ।

सगरमाथाको अहिलेको उचाइलाई सन् १९५५मा सर्भे अफ इन्डियाले पत्ता लगाएको हो भने सर्भे अफ चाइनाले पनि त्यसलाई सन १९७५ मा मान्यता दिएको थियो । बृटिश सर्भेयर जनरल अफ इन्डियाका तत्कालीन प्रमुख सर जर्ज एभरेस्टको नामबाट यसको नाम सन् १९६५मा अंग्रेजीमा माउन्ट एभरेस्ट राखिएको हो ।

चीनका राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न दुईदिने नेपाल भ्रमणपछि जारी भएको संयुक्त वक्तव्यको आठौं बुँदामा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्ने भन्ने एउटा बुँदासमेत रहेको छ । त्यसबारेमा भने थप जानकारी आइनसकेको मापन कार्यका संयोजक डंगोलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्