भोजपुरमा बहिरा विद्यालयको पठनपाठन प्रभावित

भोजपुरमा बहिरा विद्यालयको पठनपाठन प्रभावित

भोजपुर । भोजपुर नगरपालिका–९ पानीट्यांकीस्थित बहिरा आवासीय विद्यालयमा व्यवस्थित भवन नहुँदा लक्षित विद्यार्थीको पठनपाठनमा असर परेको छ । २०७२ सालको भूकम्पले क्षति पुगेको भवनमा पठनपाठन हुँदै आएको उक्त विद्यालयमा कक्षाकोठा र छात्रावासको राम्रो प्रबन्ध नहुँदा विद्यार्थी र शिक्षक दुवैलाई समस्या भएको छ । यस क्षेत्रका सुस्त श्रवण शक्ति भएका विद्यार्थीको पठनपाठनमा सहज बनाउने उद्देश्यले उक्त विद्यालय सञ्चालन गरिए पनि भवन लगायत पूर्वाधार अभावले गुणस्तरीय शिक्षा दिन नसकिएको शिक्षिका सरिता तामाङको गुनासो छ ।

विद्यालयको छानो पुरानो भइसकेकाले वर्षात्मा पानी चुहिने समस्या रहेको तामाङले बताइन् । ‘विद्यालयको कक्षाकोठा र छात्रावासमा आकाशेपानी चुहिँदा पठनपाठन र राति निद्रा नै बिथोलिने गरेको छ,’ विद्यार्थी एलिसा श्रेष्ठले भनिन् । विद्यालय स्थापनापछि जिल्लाका विभिन्न ग्रामीण भेगबाट सुस्त श्रवण विद्यार्थीको भर्ना हुने क्रम बढ्दो छ । विद्यालयमा अहिले १३ जना बहिरा विद्यार्थी छन् । तर साँघुरो र जीर्ण भवनमै पढाइ र छात्रावास समेत सञ्चालन गर्नुपर्दा निकै समस्या भएको शिक्षिका तामाङले बताइन् ।

बोल्न र सुन्न नसक्ने विद्यार्थीलाई विद्यालयमा सांकेतिक भाषाबाट पढाइने गरिएको छ । साथै टाढाका विद्यार्थीलाई खाने र बस्ने व्यवस्था पनि मिलाइएको छ । बिहान करीब ७ बजेदेखि बेलुकी ४ बजेको फुर्सदका समयमा पठनपाठन गरिँदै आएको छ । तर यस्ता बालबालिकाको संख्या बढ्दै गएकाले भवन थप्नुपर्ने आवश्यकता देखिएको शिक्षक सन्तकुमार तुम्बापोले बताए ।

भूकम्पले जीर्ण बनाएको भवनलाई तत्कालका लागि टालटुल र कम्पाउन्ड वरपर घेराबारा गरेर विद्यालय सञ्चालन गरिएको छ । विद्यालयको समस्या समाधानका लागि सरोकारवाला निकायको कुनै ध्यान पुग्न नसकेको शिक्षकहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्