इटहरी बजार अब शनिवार बन्द

इटहरी बजार अब शनिवार बन्द

सुनसरी ।  सुनसरीको इटहरीमा साप्ताहिक रूपमा बिहीवार बन्द हुँदै आएको बजार अब शनिवार बन्द हुने भएको छ । उद्योग वाणिज्य संघ इटहरीले आगामी २३ गतेबाट लागू हुने गरी इटहरी बजारलाइ शनिवार बन्द गर्ने निर्णय गरेको हो ।

बिहीवार बन्द हुने बजार शनिवारबाट बन्द गर्न वाणिज्य संघले व्यवसायी–व्यापारीलाई अनुरोध समेत गरेको छ । इटहरी घुम्न आउने पर्यटकलाई दृष्टिगत गर्दै बजार बन्दको समय परिवर्तन गरिएको संघले जानकारी दिएको छ । संघको निर्णयको व्यापारीहरूले स्वागत गरेका छन् । शनिवार बजार बन्द हुँदा साताको अन्य दिन पर्यटकलाई बजार घुम्न र किनमेल गर्न सजिलो हुने व्यवसायी खड्कप्रसाद ओझाले बताए ।

यस अघि इटहरी बजारलाई बिहीवार वा शनिवार बन्द गर्ने विषयमा व्यवसायीहरू विभाजित भएपछि ठूलो विवाद भएको थियो । आधा व्यवसायी बिहीवारको पक्षमा र आधा व्यवसायी शनिवारको पक्षमा बाँडिएका थिए । तर, गत असार १४ गते सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनमा आएको मत परिणामले समेत बजार शनिवार नै बन्द गर्नुपर्ने पक्षमा बहुमत आएपछि शनिवार इटहरी बजार बन्द गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्