धरानमा उपचुनाव : डेंगुलाई बाईबाई, चुनावका उमेदवार हाईहाई

धरानमा उपचुनाव : डेंगुलाई बाईबाई, चुनावका उमेदवार हाईहाई

धरान । डेंगुबाट थलिएको धरान बल्लतल्ल तंग्रिदै छ । केहीअघिसम्म मानिसहरु डेंगुको संक्रमण र लामुखुट्टेको आतंकबारे कुराकानी गर्दथे । कतिपयमा यसको त्रासले मनमा डेरा नै जमाएको थियो ।  प्रदेश १ को सबैभन्दा ठूलो अस्पताल वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान डेंगुका बिरामीले खचाखच हुन गर्दथ्यो । घरैपिच्छे कोही न कोही बिरामी थिए । यद्दपि अहिले पनि सानो संख्यामा मासिनहरु डेंगुको उपचार गर्न अस्पताल पुगेकै छन् ।

कतैकतै संक्रमण पनि छँदैछ । तर, नजिकिँदै गरेको उपनिर्वाचनको रापतापको पारो उक्लिएपछि धरानबासीले डेंगुलाई वाईवाई भनिदिएका छन् । उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिएका उम्मेद्वारलाई लिएर टोलटोलमा हाईहाईको नारा गुन्जन थालेको छ ।

नयाँ नगर प्रमुख चुन्ने जिम्मेवारीसँगै धरानमा चुनावी माहोल तात्तिएको छ । घरगाउँ र टोलटोलमा दलका झन्डा बोकेर कार्यकर्ता तथा समर्थक चुनावी अभियानमा खटिएका छन् । उपचुनावलाई लक्षित गर्दै धरानमा दुई ठूला दल नेकपा र कांग्रेसले चुनावी अभियानलाई तीव्रता दिएका हुन । अन्य दलका उम्मेदवारले पनि मतदाता भेट्न शुरु गरेका छन् ।

धरान उपमहानगरभित्रका ग्रामीण भेगमा विशेषत घरदैलो कार्यक्रमले नै गति लिएको छ । उमेदवार मत माग्दै स्थानीयका घरदैलो र खेतखेतमा पुग्न थालेका छन् । धान काट्ने र थन्क्याउन व्यस्त भएका किसानलाई खेतका कान्लाकान्लामै भेटेर उम्मेदवारले मत माग्ने क्रम सुरू भएको छ ।

नेपाली कांग्रेसबाट धरानको प्रमुखमा उम्मेद्वार बनेका तिलक राईले मतदातालाई घरदैलोमै गएर घेट्न सुरू गरेको बताए । उनी कांग्रेसका नगरसभापति पनि हुन । उनले भने,‘‘अघिल्लो चुनावमा बेहोरेका पराजयबाट पाठ सिक्दै जनताको घरदैलोमा पुगिरहेको छु । जनताको मत जित्ने प्रयासमा छु ।’’ उनले आफू जनताको पिरमर्काअनुसार उपमहानगरको विकास र समृद्धिमा सक्रिय हुने बताए । २०७४ कोस्थानीय तहको निर्वाचनमा पनि राई प्रमुखमा उमेदवार थिए ।

प्रमुख पदका सबै प्रत्यासी उम्मेदवारहरुले आफूले जित्ने दाबी गर्दै आ-आफ्नो तरिकाले चुनावी अभियान सुरू गरेका छन् । स्थानीय तहको निर्वाचनमा धरानबाट तत्कालीन नेकपा एमालेका उम्मेद्वार तारा सुब्बा प्रमुखमा निर्वाचित भएका थिए । उनले प्रत्यासी उम्मेद्वार तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पछि पार्दै २० हजार ९ सय ७५ मत ल्याएर विजयी बनेका थिए । तर, सुब्बाको गत वर्ष साउन महिनामा मृगौला सम्बन्धी रोगबाट ग्रसत भई मृत्यु भएको थियो । त्यसयता उपप्रमुखले कार्यभार सम्हाल्दै आएकी थिइन ।

यो पटक नेकपाको उमेद्वार बनेका प्रकाश राईले ‘‘कम्युनिष्टको गढ’’मा अरु दलले जित्ने सम्भावना नै नभएको तर्क गरेका छन् । भने,‘‘पार्टी समेत एकीकरण भई हामी अघि बढेको अवस्थामा संगठित र व्यवस्थित रणनीतिसाथ चुनावमा होमिएका छौं ।’’ उनले नगरमा भ्रातृसंस्थासहित चुनाव प्रचार कमिर्टीले अभियानलाई गति दिएको सुनाए ।

धरानमा प्रमुख पदसँगै धरान ७ को वडा अध्यक्ष पदका लागि समेत प्रतिस्पर्धा हुँदैछ । तर, दुबै दलले ती पदका सबै उम्मेदवार तय गरिसकेका भने छैनन् । एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका तत्कालीन अध्यक्ष भुवन मोक्तानको समेत रोगका कारण मृत्यु भएको थियो । पछिल्लो निर्वाचनमा धरानमा मतदाता संख्या ७९ हजार २ सय ८२ थियो । अहिले १३ हजार नयाँ मतदाता थपिएको निर्वाचन कार्यलयले जनाएको छ । बाह्रखरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्