विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिए

विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिए

विश्वास रेग्मी

काठमाडौँ, कात्तिक २२ गते । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९ को अक्टोबरसम्म नौ लाख ७५ हजार ५५७ जनाले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा आठ प्रतिशतले बढी हो ।
नेपाल घुमघामका लागि मुख्य सिजन मानिने अक्टोबरमा पर्यटकको सङ्ख्यामा आएको वृद्धिले कुल पर्यटक सङ्ख्या बढाउन सहयोग पुगेको छ । विभागका अनुसार अक्टोबरमा मात्रै एक लाख ४३ हजार विदेशी नेपाल आएका छन् । अघिल्लो वर्षको अक्टोबरमा यस्तो सङ्ख्या करिब एक लाख ३१ हजार थियो । यस हिसाबले अक्टोबरमा भित्रिने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतको वृद्धि आएको छ ।
अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् । काठमाडौँ, पोखरा र सौराहा घुमघामसहित पछिल्लो समय पदयात्रामा चिनियाँ पर्यटकको रोजाइमा पर्न थालेको छ । चीनपछि करिब १३ हजार भारतीय पर्यटकले नेपाल घुमघाम गरेका छन् । यो समयमा भारतीय पर्यटकको मुख्य रोजाइ पोखरा र मुस्ताङ हुने गर्छ । भारतसहित सार्क क्षेत्रबाट २१ हजार सात सय पर्यटक यो अवधिमा नेपाल आएका छन् ।

त्यस्तै चीनसहित एसिया क्षेत्रबाट करिब २९ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
पर्यटक आगमनको महादेशीय हिसाबले एसिया क्षेत्रबाट पर्यटकको सङ्ख्यामा सामान्य वृद्धि भए पनि तुलनात्मक रूपमा बढी खर्च गर्ने मानिएका युरोप र अमेरिकाबाट नेपाल आउने सङ्ख्या भने घटेको छ । युरोपबाट सबैभन्दा बढी बेलायतबाट आठ हजार ६७२ जना पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा सात दशमलव चार प्रतिशतले कम हो । त्यसपछि जर्मनीबाट सात हजार ३०८ र फ्रान्सबाट छ हजार ७७७ पर्यटक आएको तथ्याङ्क छ । यी दुवै देशबाट क्रमशः २.५ र ९.६ प्रतिशतले पर्यटकको सङ्ख्यामा कमी आएको छ । युरोपका अधिकांश मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी देखिएको छ । समग्रमा गत वर्ष ४४ हजार ७७३ युरोपेली पर्यटक अक्टोबरमा नेपाल आएकोमा समीक्षा अवधिमा पाँच दशमलव पाँच प्रतिशतले घटेर ४२ हजार २९७ पर्यटक नेपाल आएका छन् ।
अमेरिकी क्षेत्रबाट मुख्यतः क्यानडा र संयुक्त राज्य अमेरिकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २.४ प्रतिशतले कमी आएको छ । संयुक्त राज्य अमेरिकाबाट १२ हजार एक सय पर्यटक आएका छन् जुन अघिल्लो अक्टोबरको तुलनामा दुई दशमलव पाँच प्रतिशतले कम हो । ओसियाना क्षेत्रअन्तर्गतका अस्टे«लिया र न्युजिल्यान्डबाट आउने पर्यटकको सङ्ख्या ३.७ प्रतिशतले घटेर छ हजार तीन सय पुगेको छ । जेट एयरको उडान बन्द भएको र गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व सम्मेलनका कारण अधिकांश ठूला होटल व्यस्त भएपछि सिट अभावमा यस्ता मुलुकका देशको पर्यटक सङ्ख्यामा कमी आएको पर्यटन व्यवसायीको भनाइ छ ।
१० महिनाको अवधिभर नेपाल भित्रनेमा सबैभन्दा बढी भारतबाट एक लाख ७० हजार र चीनबाट एक लाख ३४ हजार दुई सय पर्यटक छन् ।

१४ लाख पुग्ने

सन् २०१९ को अक्टोबरसम्म करिब १० लाख पर्यटक भित्रिँदा यसै वर्ष करिब १४ लाख पर्यटक नेपाल आउनसक्ने आधार तयार भएको छ । नेपालको पर्यटनमा मुख्य सिजन मानिने अझै नोभेम्बर र डिसेम्बर बाँकी नै रहेकाले पर्यटकको सङ्ख्या १४ लाख पुग्ने अनुमान गरिएको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष सीएन पाण्डेका अनुसार अहिलेसम्मको पर्यटक आगमनको तथ्याङ्कले पुगनपुग १४ लाख पर्यटक आउने अनुमान गर्न सकिन्छ । उक्त आधार तयार भए सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई सहयोग पुग्ने उहाँको भनाइ छ । “भ्रमण वर्षलाई लक्षित गरेर नै धेरै पर्यटक आउने भएकाले २० लाख पर्यटक पुग्ने अहिलेसम्म बलियो आधार देखिन्छ”, उहाँले भन्नुभयो ।
नेपालले सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटकलाई स्वागत गरेको थियो । यो सङ्ख्या २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी थियो । त्यति मात्र होइन, पर्यटकको उक्त वृद्धिदर एसियामै सबैभन्दा धेरै रहेको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले यसअघि उल्लेख गरिसकेको छ ।
सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउन भैरहवास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल घोषणासहित विदेशमा भ्रमण वर्ष लक्षित विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्