जसले जिते १७ वर्षको उमेरमा ५० लाख

जसले जिते १७ वर्षको उमेरमा ५० लाख

शनि विश्वकर्मा सानैदेखि गीत गाउँथे । ११ वर्षको उमेरदेखि गीत गाउन थालेका उनी आधुनिक गीत गाउँथे । रोल्पाबाट १० जोड दुई अध्ययनका लागि दाङ आएका उनले स्थानीय कार्यक्रम तथा स्कुल–कलेजमा थुप्रै गीत गाए । तर स्टुडियोमै गएर रेकर्ड गर्ने अवसर भने पाएका थिएनन् । कुनै न कुनै साङ्गीतिक ‘रियालिटी सो’मा सहभागी भएर आफ्नो स्वर तौलिने सोचिरहेका बेला उनले सुने ‘नेपाल लोकस्टार’ सुरु हुँदैछ । उनले निर्णय गरे यही प्रतियोगितामा सहभागी हुने । ‘अडिसन राउन्ड’मै गोल्डेन स्टार पाएका शनि प्रतियोगिताकै विजेता बने । १७ वर्षको उमेरमा ५० लाख रुपैयाँको राशि हात पारे ।  शनी विश्वकर्माको आफ्ने अनुभव यस्तो छ । 

प्रतियोगितामा प्रवेश गरेदेखि नै सबैले माया गर्नुभयो । बीचमा घर जाँदा स्थानीयले पनि मलाई माया गर्नुभयो । सहयोग र साथ दिन्छौं भन्ने वचन दिनुभयो । त्यो नै मैले पाएको माया थियो । विजेता भएपछि मैले झन् राम्रो सम्मान र राम्राराम्रा प्रतिक्रिया पाएँ । सबैले राम्रो सुझाव दिनुभयो । त्यो नै मैले ‘नेपाल लोकस्टार’मा आएपछि र विजेता भएपछि प्राप्त गरेको उपलब्धि थियो । जुन समय म प्रतियोगितामा सहभागी थिइनँ, मलाई कसैले पनि चिन्नुहुन्नथ्यो, अहिले धेरैले चिन्नुहुन्छ ।

जिम्मेवारी महसुस हुन्छ । तर त्यो भारी महसुसचाहिँ हुँदैन । विजेता भए पनि, नभए पनि मैले गाउने गीत नै हो । विजेता भएपछि बल्ल गीत–सङ्गीतको यात्रा सुरु भयो भन्नेचाहिँ लागेको छ । कठिन यात्रा बल्ल सुरु भयोजस्तो लाग्छ । तर अग्रजहरुको सुझाव–सल्लाहअनुसार अगाडि बढ्दै जाँदा राम्रो गर्न सकिन्छ जस्तो लाग्छ । म मेहनत गर्नेछु ।
म १२ कक्षाको परीक्षाको तयारी गरिरहेको थिएँ । मलाई दुर्लभ अङ्कलले ‘नेपाल लोकस्स्टार’ हुँदैछ, सहभागी बन भन्नुभयो । जुनसुकै साङ्गीतिक रियालिटी सोबाट भए पनि आफूलाई चिनाउने हो भनेर सहभागी भएको थिएँ ।
त्यति ठूलो महत्वाकाङ्क्षा त थिएन । उत्कृष्ट २० मा पुगिसकेपछि अब १९ मा पुग्छु कि पुग्दिनँ, त्यहाँ पुगेपछि थप अगाडि बढ्न सक्छु कि सक्दिनँ भन्ने डर लाग्थ्यो । उत्कृष्ट १०, ५ तथा फाइनलमा पुग्छु कि पुग्दिनँ होला भन्ने डरमात्रै हुन्थ्यो ।  हामी फाइनलमा पुगेका चारै जना को कता– को कता भएकाले अहिले पैसा दिइएको छैन । सबै भेला भएपछि एकैपटक दिने भनिरहनुभएको छ ।
साङ्गीतिक बजार महङ्गो भइसकेको छ । एउटै गीत रेकर्ड गर्न एक–डेढ लाख रुपैयाँ लाग्छ भन्ने सुनेको छु । मैले त अहिलेसम्म एउटा गीत पनि रेकर्ड गरेको छैन । त्यस्तै काममा खर्च गर्ने विचारमा छु ।

अफर आइरहेको छ । मेरो गीत यस्तो छ, गाइदिनुपर्‍यो भनिरहनुभएको छ । मसँग ड्वेट गाइदिनुपर्‍यो भनिरहनुभएको छ ।
मैले केही अग्रजहरुलाई पनि सोधेँ, उहाँहरुले सल्लाह दिनुभएको छ । राम्रो भएका खण्डमा अरुको गीत पनि गाउँछु, तर त्यो मलाई चित्त बुझ्ने हुनुपर्‍यो । आयस्रोतको बाटो पनि भएकाले आफ्नोसँगै अरुका गीत पनि गाउँछु ।
हो म आधुनिक गीत गाउँथे सानोदेखि नै । अहिले पनि गाउँछु । तर लोकगीत गाउँदा नै हो हाम्रो खुट्टा थाहै नपाई उचालिने । त्यसैले मलाई लोकगीत पनि मन पर्छ । नेपालीको गीत भनेकै लोकगीत हो । हाम्रो पहिचान र संस्कृति पनि भएकाले लोकगीत मलाई मन पर्छ ।
म जुन गीत गाउन सक्छु, त्यही नै गाउने हो । आधुनिक गीत गाउन सक्दा त्यो पनि गाउने हो, लोकगीत आउँदा त्यो पनि गाउने हो । दुवै गीत हुन्, दुवै कला । यो वा त्यो भनेर विभेद गर्ने कुरै भएन ।
उद्देश्य नै भन्दा पनि कुनै न कुनै रियालिटी सोमा गएर देखिने चाहना थियो । म यो लोकस्टारमा सहभागी नभएको भए पनि अरु कुनै सोमा अवश्य सहभागी हुने थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्