धनकुटामा पर्यटक तान्न बरको रुखमा कटेज, रुखमा घर बनेपछि हेर्न जानेको भिड

धनकुटामा पर्यटक तान्न  बरको रुखमा कटेज, रुखमा घर बनेपछि हेर्न जानेको भिड

धनकुटा । रुखमा घर हुन्छ भन्ने कुरा जोकोहीलाई पत्यार नलाग्न सक्छ। अझ रुखमा बनेको घरमा रेस्टुरेन्ट सञ्चालन भएको कुरा पत्याउन गाह्रो छ। तर, धनकुटा छथरजोरपाटी गाउँपालिका ५ चुम्लुङमा बरको रुखमा घर बनाइएको छ। उक्त घरमा रेस्टुरेन्ट सञ्चालनमा छ। अहिले उक्त घर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

चुम्लुङकै स्थानीय यूवाद्वय प्रेम लिम्बू र हेमकुमार लिम्बूको रुखमा कटेज निर्माण गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। करिब ५ लाख रुपैयाँको लागतमा निर्मित उक्त कटेज गत असोज २१ गतेदेखि सञ्चालनमा आएको सञ्चालक प्रेम लिम्बूले बताए। कटेज हेर्न आउनेको दिनहुँ भीड लाग्ने प्रेमले बताए। माथि डाँडैबाट कटेज देखिने भएकाले पाहुनाले देख्नेबित्तिकै अचम्म मान्छन्। सेल्फी खिचिहाल्छन्।

धनकुटा–सिँधुवा सडक खण्डको सिँधुवा र जोरपाटी बजारदेखि करिब २५ मिनेटको सवारी यात्रापछि त्यहाँ पुग्न सकिन्छ। सामाजिक सञ्जालबाट प्रचार भएपछि आउनेको भीड दिनहुँ बढ्दै भएको अर्का सञ्चालक हेमकुमार लिम्बूले बताए। त्यहाँ दुईवटा ठूला बरको रुख भए पनि अहिले एउटा रुखमा मात्रै तीन वटा कटेज बनाइएको छ। कटेजमा खानपिनका लागि टेबल र कुर्सी राखिएको छ। कटेजभित्र एकै पटक २० जनासम्म मान्छे अट्न सक्ने हेककुमारले बताए। कटेजमा आउने पाहुनाका लागि गाउँघरमै उत्पादन भएका अर्गानिक कृषिजन्य वस्तुका परिकार बनाइन्छ।

स्वास्थ्य प्राविधिक पढेका प्रेम लिम्बूलाई फरक किसिमले व्यवसाय गर्ने सोच थियो। उनले घर मास्तिरको सिमलको बोटमा भ्युटावरसहित होटल सञ्चालन गर्ने सोचमा थिए। तर, भेटका क्रममा हेमकुमार लिम्बूले साझेदारीमा बोटमा कटेज बनाएर व्यवसाय गर्ने प्रस्ताव राखेपछि बरको बोटमा टी हाउस सञ्चालन गर्ने सोच पलाएको बताए।

कटेज निर्माणमा च्यादर, गाउँघरमै पाइने बाँस र काठको प्रयोग गरिएको छ। कटेज सञ्चालकद्वयले आफै निर्माण गरेका हुन्। अर्को बरको रुखमा समेत कटेज निर्माण गरिने उनले बताए। कटेजभन्दा केही तल देवीको मन्दिर छ। त्यसको सरसफाइ र आउन जान रेलिङ लगाउने उनीहरूको योजना छ। सुरुमा कटेज निर्माण गर्दा आसपासका छिमेकीले लगानी खेर जान्छ भनेर प्रतिक्रिया दिएका थिए। तर, अहिले कटेजमा मान्छेको ओइरो लाग्न थालेपछि सबैले हौसला दिने गरेको उनले बताए। सिंगापुरे पुलिससमेत रहेका झापाका वासिन्दा लिलाराज आङवुहाङले रुखमा बनेको कटेजले मन लोभ्याएको बताए। ‘क्रियटिभ माइन्डबाट निर्माण गरिएको कटेज सुन्दर र आर्कषक छ’, उनले भने, ‘अझ यहाँ पाइने आर्गनिक परिकारको स्वादले झनै रोमाञ्चक बनाउँछ।’

सामाजिक सञ्जालबाट फोटो देखेर कटेज हेर्न पुगेका छथरजोरपाटी गाउँपालिकामा इन्जिनियर पदमा कार्यरत दिवश पौडेलले कटेजको सुन्दरताले जोकोहीलाई लोभ्याउने बताए। सबैले होटल रेन्टुरेन्ट रिसोर्ट सञ्चालनमा ल्याउँछन्। तर, यहाँका युवाले फरक किसिमको संरचनामा निर्माण भएको कटेजले सबैलाई आकर्षित गरेको उनको भनाइ छ। यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्