भोजपुरमा ४९ करोड ७९ लाख ९८ हजार रुपैयाँ लागतमा शहरी खानेपानी आयोजना बन्दै

भोजपुरमा ४९ करोड ७९ लाख ९८ हजार रुपैयाँ लागतमा शहरी खानेपानी आयोजना बन्दै

भोजपुर । भोजपुर सदरमुकाममा करीब ५० करोड रुपैयाँ लागतमा शहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्ताको ५ प्रतिशत गरी कुल ४९ करोड ७९ लाख ९८ हजार रुपैयाँ लागतमा खानेपानी आयोजना बनाउन लागिएको हो ।

खानेपानी आयोजनाको आइतवार शिलान्यास गरिएको छ । यससँगै नगरमा खानेपानीको समस्या समाधान हुने आशा स्थानीयले गरेका छन् । आयोजनाले भोजपुर नगरपालिकाका वडा नं ५, ६, ७, ८, ९ र १२   का २ हजार २८० घरपरिवार लाभान्वित हुने सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका अध्यक्ष प्रविन कुमार सुवालले बताए । आयोजनाको प्रसारण लाइन ३६ किलोमिटर र वितरण लाइन ७६ किलोमिटरको हुने उनले जानकारी दिए ।

आयोजनाको निर्माण सम्झौता २०७५ चैत १७ गते काठमाडौंमा भएको थियो । ‘आयोजनाको काम प्रारम्भ भएको छ,’ सुवालले भने, ‘हामीले करीब १ करोड २२ लाखजति रकम ठेकेदारलाई मोबिलाइजेशन खर्चस्वरूप भुक्तान गरिसकेका छौं ।’ टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको तीनभंगालेबाट पानी सदरमुकाम ल्याइने उनले बताए । आयोजनाको काम २ वर्षभित्र सम्पन्न गर्नेगरी हुवासुई कन्काई जेभीले जिम्मा लिएको छ । कुनै पनि बाधा÷अवरोध नआए समयभित्रै काम सम्पन्न गरी सदरमुकामसम्म पानी ल्याइने ठेकेदार जनसेवक  भण्डारीले बताए ।

गुणस्तरीय ढंगले समयमै काम सम्पन्न गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । ‘विगतमा विकासका काम शुरू भएर पनि पूरा नहुने समस्या थियो,’ स्थानीय सम्मरबहादुर मोक्तानले भने, ‘यो आयोजना समयमै बन्ने आशा गरेका छौं ।’ आयोजनामा दुईओटा पानी प्रशोधन ट्यांकी, ६ ओटा इन्टेक र १० ओटा पानी पोखरी निर्माण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्