बिराटनगर, २६ कात्तिक । बिराटनगरको घिनाघाटकी बबिता सरदार १६ बर्ष अघिदेखि एक आँखाको भरमा छिन् । पाँच बर्षकै उमेरमा देब्रे आँखा गुमाएकी उनले दाहिने आँखाले हेर्ने गर्छिन् । २१ बर्षीया सरदारलाई दुई आँखाले हेर्न नपाउँदाको समस्या जति छ, त्यत्तिनै एउटा आँखा नभएर अनुहारको स्वरुप बिग्रदाको पीडा थियो । तर, अहिले उनको यो पीडा हटेको छ ।
बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कृत्रिम आँखा लगाएपछि उनको अनुहारमा अहिले कुनै खोट देखिदैन । दाहिने अाँखामा मात्र दृष्टि भएपनि हेर्दा दुवै आँखा दुरुस्तै छन् । झट्ट हेर्दा वास्तविक र कृत्रिम आँखा छुट्याउँन सकिदैन । दुवै आँखाको चाल उस्तै छ । दृष्टि नफर्किएपनि आँखा नहुँदा गुमेको अनुहारको स्वरुप फिर्ता पाउँदा उनी दंग छिन् । ‘आँखा त गुम्यो–गुम्यो, तर एउटा आँखा नभएर अरुले जिस्काउँदा साह्रै नराम्रो लाग्थ्यो ।’ सरदारले भनिन् ‘नक्कली आँखा लगाएपछि अव अरुले हेर्दा आँखा नभएको जस्तो देखिदैन, पहिले देख्नेहरु अहिले छक्क पर्छन । खुशी लागेको छ ।’
बबिता पाँच बर्षकी हुँदा आँखामा चोट लागेको थियो । त्यसपछि आँखा पाक्दै गएर दृष्टि गुम्यो । अन्ततः घाउ बढ्दै गएपछि अप्रशन गरी आँखा नै निकाल्नु पर्यो । त्यसपश्चात अहिले कृत्रिम आँखा लगाईएको हो । नोबेलको दन्त बिभागका कृत्रिम दन्त बिशेषज्ञ एवंं गोल्डमेडलिष्ट डा.पवन मेहता नेतृत्वको टिमले कृत्रिम आँखा लगाएको हो ।
नोबेलको दन्त बिभागले दन्त उपचार मात्र नभएर कृत्रिम आँखा, नाँक र कान पनि जस्ताको तस्तै देखिने गरी लगाउँने गरेको छ । जसका कारण नोबेलमा कृत्रिम अंग लगाउँने बिरामीको भीड बढ्दै गएको छ ।