सप्तरीमा उप निर्वाचनको चुनावी सरगर्मी बढ्दै

सप्तरीमा उप निर्वाचनको चुनावी सरगर्मी बढ्दै

माला कर्ण
सप्तरी, कात्तिक ३० गते । सप्तरी जिल्लामा एक गाउँपालिकाको वडा अध्यक्ष पदको उप निर्वाचनको उम्मेदवारी दर्तापछि चुनावी सरगर्मी बढेको छ ।

उप निर्वाचनको मिति नजिकिएसँगै राजपा र समाजवादी पार्टीका लागि यो निर्वाचन प्रतिष्ठाको लडाईं भएको छ । वडाध्यक्षमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त भएको उक्त पदका लागि उपनिर्वाचन भईरहेको छ । यसअघि राजपाले जितेकाले त्यसलाई निरन्तरता दिनु र प्रतिष्ठा जोगाइ राख्न चर्को दबाव छ । त्यसैले जित दोहो¥याउन राजपाका स्थानीय नेताहरु बढी दौडधुप थालेको देखिन्छ । राजपाले यसअघि सो वडामा चुनाव जिती जिल्ला समन्वय समिति सप्तरीको प्रमुख पदमा निर्वाचित प्रभाकर यादवको पत्नी प्रमिलादेवी यादवलाई उम्मेदवार बनाएको छ ।

राजपा सप्तरीका संयोजक हरेराम यादवले वडाबासीको तर्फबाट प्र्र्रमिलादेवी यादवलाई नै उम्मेदवार बनाउन माग आएकाले पार्टीले उहाँलाई उम्मेदवार बनाएको बताउनुभयो । राजपा उम्मेदवार यादवलाई समाजवादी पार्टीले पनि सघाएका छन् । जसले गर्दा राजपा उम्मेदवार यादवको जित सुनिश्चत रहेको संयोजक यादवले दावी गरेका छन् ।
यता नेकपा र काँग्रेस पनि जित निकाल्न कुनै कसर बाँकी नराख्ने गरी प्रचार प्रसारमा लागेका छन् । नेकपाका वडाध्यक्ष पदमा अच्छेलाल यादवले उम्मेवारी दिई प्रचार प्रसार तीब्र पारेका छन् ।
देशभरी नै बहुमतको सरकार भएको नेकपालाई यस स्थानमा पनि जित्नु पर्ने दबाव उत्तिकै छ । अध्यक्ष अशोककुमार मंडल अमरले भन्नुभयोे– ‘जित निकाल्न हामी कुनै कसर बाँकी राख्दैनौँ । उहाँले यसपल्ट जनताले नेकपाका उम्मेदवारलाई जिताउने ठोकुवापनि गर्नुभयोे ।’

यस्तै, नेपाली काँग्रेसले शिवनारायण मंडललाई उम्मेदबार बनाई चुनावी गतिविधि तीव्र पारेका छन् । नेपाली काँग्रेस सप्तरीका सचिव रामकुमार यादवले मधेशवादी दल र कम्युनिष्ट सरकारसँग जनताका असन्तुष्टी बढ्दै गएकाले काँग्रेसले जित्ने दावी गर्नुभयो ।

यता, राजनीतिक दलको चहलपहल सँगै मतदाता पनि चासो र चर्चा बढ्न थालेपछि यहाँको निर्वाचनमा माहौल तातिएको छ । छरछिमेकदेखि सार्वजनिक थलोसम्म चुनावी गफगाफ नै बढी हुन थालेको छ । विहानको सुरुवात नै कुन दलबाट को जित्ला भन्ने बारेको बहस हुन थालेको छ ।
सो वडामा ७ सय ५७ पुरुष र ६ सय ४६ महिला गरी कुल १ हजार ४ सय ३ मतदाता रहेका छन् । उप निर्वाचनका लागि एक मतदान स्थल र २ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी दिलिपकुमार यादवले जानकारी दिनुभयो । मंसिर १४ गते छिन्नमस्ता गाउँपालिकाको वडा नं. ७ मा वडाध्यक्ष पदमा उप निर्वाचन हुँदैछ । त्यहाँ नेकपा, राजपा र समाजवादी, नेपाली काँग्रेस, जनमत पार्टी, राप्रपा र स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी दर्ता भई चुनावी प्रचार प्रसारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्