यति एअरलाइन्सको सबै विमानहरुमा प्लाष्टिकको कप विस्थापित

यति एअरलाइन्सको  सबै विमानहरुमा प्लाष्टिकको कप विस्थापित

काठमाडौं– यति एअरलाइन्सले आफ्ना सबै विमानहरुमा प्लाष्टिकको कप विस्थापित गरेको छ । यात्रुलाई पानी तथा पेय पदार्थ दिन प्रयोग भइरहेको प्लाष्टिक कपको सट्टा पेपर (कागज) कप प्रयोगमा ल्याएको हो ।

यति एअरलाइन्स नेपालमा कार्वन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो र एकमात्र हवाई कम्पनी भएकोले विमानमा प्रयोग भइरहेको प्लाष्टिक कपलाई विस्थापित गरेको एअरलाइन्सका प्रवक्ता भिमराज राईले जानकारी दिए ।  प्लाष्टिक कप विस्थापन कार्य कार्वन न्युट्रल अभियानमा थप एक कदम रहेको बताउँदै प्लाष्टिकको सट्टा पेपर कपको प्रयोगले वातावरण सफा हुने र कार्वन उत्सर्जनमा कमी आउने तर्क राईले दिए ।

पेपर कपसँगै यति एअरलाइन्सले थप २ वटा विद्युतीय कार प्रयोगमा ल्याएको छ । कार्वन न्युट्रलको अभियानमा यती एयरलाइन्सको यो थप प्रयास हो । एअरपोर्टमा यात्रुलाई विमानसम्म ल्याउन÷पु¥याउनका लागि विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ ।

साथै प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्वनको राष्ट्र संघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति पनि गर्दै आइरहेको छ ।

यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न संयुक्त राष्ट्र संघ विकास नियोग (युएनडीपी)सँग सहकार्य गरिरहेको छ । दीगो विकास लक्ष्यका १७ वटा बुँदामध्ये १३ नम्बर बुँदा क्लाइमेट एक्सन अन्तर्गत कार्वन न्युट्रल अभियान अगाडि सार्दै आएको छ ।

सोही अन्तर्गत यतिले बढी इन्धन खपत गर्ने विमानलाई विस्थापित गरी कम इन्धनमा चल्ने एटिआर विमान खरिद गरी सेवा दिँदै आइरहेको छ । यसका साथै बढी इन्धन खपत गर्ने सबै विमानहरुलाई विस्तारै विस्थापित गर्दै लैजाने योजना पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्