राजविराजमा खेत खनजोत भइसक्यो, गँहु छर्न बिउ छैन

राजविराजमा खेत खनजोत भइसक्यो, गँहु छर्न बिउ छैन

धीरेन्द्रप्रसाद साह
राजविराज, मंसिर ३ गते । धान भित्र्याउनेसँगै गँहु बाली लगाउने किसानमा चटारो लागेको छ । धानपछि दोस्रो बालीको रुपमा चिनिने गँहुखेतीको लागि किसानहरु तयारीमा जुटेका छन । धानबाली काटिसकेको खेतमा खनजोत गरी गहुँ छर्न योग्य बनाएको छ । तर, गहँुको उन्नत जातको बिउका लागि भौतारिरहेका छन ।

सरकारी अनुदानमा उन्नत जाताको गँहुको बिउ पाउँदै आएकोमा यस वर्षदेखि प्रदेश २ सरकारले पूर्व सूचना बिना सो अनुदान कटौति गरेको कारण यतिखेर यहाँका किसानहरु गहँुको बिउको लागि भौतारिदै छन । यसअघिका वर्षहरुमा गहुँको बिउमा ५० प्रतिशत अनुदान दिइँदै आएकोमा यस वर्षदेखि प्रदेश २ सरकारले उक्त सुविधा कटौती गरेको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भगिरथ यादवले जानकारी दिनुभयो ।

गहुँ खेतीको लागि खेत तयार गरी बसेका किसानहरुलाई गँहु बिउको जोहो गर्ने चिन्तासँगै स्थानीय बजारहरु चहारिरहेका छन । सप्तरीसहित आठ वटै जिल्लाका किसानलाई गहुँको बिउ जोहो गर्ने चिन्ता बढेको छ। कात्तिक महिनादेखि नै गहुँको सिजन सुरु हुने भएपनि हालसम्म पनि बिउको जोहो नहुँदा किसानहरु निराश भएका छन्।

उन्नत जातको गहुँ बिउ खरिद गर्न चाहेर पनि किसानको बिक्री केन्द्रसम्म पहुँच नहुदा स्थानीय बजारको भरमा पर्ने गरेको किसान सुधिर यादवले बताउनुभयो । अनुदानको गहँु बिउ कटौति भएको थाहा पाएर स्थानीय बजारमा प्रशोधित गहुँ बिउमा मूल्यमा मनोमानी पनि बढेको उहाँको कथन छ । राष्ट्रिय कृषि बिउविजन केन्द्रका प्रशोधित गँहुको बिउ अनुदानमा कृषि ज्ञान केन्द्र र साल्ट्रेडिङ्ग लिमिटेडबाट किसानलाई बिक्री गरिदै आएको थियो ।

किसानलाई प्रोत्साहन, थप सुविधा र सहुलियत दिनुपर्ने बेलामा पूर्व सूचना बिना अनुदान कटौतिले गहँु खेती प्रभावित हुने निश्चित रहेको किसानका अगुवा बिकेश्वर यादवले भन्नुभयो, अनुदानको बिउ किनेर गहँु खेती गर्ने किसानलाई ठूलो समस्या भएको छ । बिउको लागि बजारहरु चहार्ने गरेको छ ।

गत वर्ष प्रदेश २ को कृषि मन्त्रालयले मंसिर ९ गते कृषि ज्ञान केन्द्र राजविराजमार्फत जिल्लाका १८ वटै स्थानीय तहका डिलरहरुलाई अनुदानमा गहुँको बिउ उपलब्ध गराउने पत्र पठाएको थियो । मन्त्रालयबाट ढिलो गरी पत्र आएका कारण गत वर्ष पर्याप्त बिउ किन्न नसक्दा अभाव भएको थियो । सप्तरीमा ३० हजार हेक्टर गहुँ खेती योग्य जग्गामध्ये २७ हजार हेक्टरमा मात्र गहुँबाली लगाइएको थियो । गहुँ खेती भएको अधिकांश खेतमा किसानले घरमै भण्डारण गरी राखिएको बिऊ नै प्रयोग गरेको थियो । गहुँ बिउ अभावले तीन हेक्टर जग्गा बाँझो रहेको केन्द्रको तथ्याकंमा उल्लेख छ ।
यस जिल्लामा विजय, भृकुटी, अच्युत र गौतम जातका उन्नत जातको गहुँ उत्पादन हुने गरेको छ । कात्तिक महिनादेखि पुससम्म गहुँ बिउ खेतमा राखिने गरिन्छ । कात्तिक र मंसिरमा गहुँ बाली लगाएमा राम्रो उत्पादन हुने गरेको छ । सप्तरी र सिरहा जिल्ला गरी एक हजार पाँच सय टन गहुँ बिऊ आवश्यक रहेको छ । धानपछिको दोस्रो बालीको रुपमा गहुँ वर्षेनी औषतमा २.५ मेट्रिक टन प्रति हेक्टरमा उत्पादन हुने गरेको कृषि केन्द्रको तथ्याकंमा उल्लेख छ ।

किसानले घरमा भण्डार गरी राखेको थोरबहुत गहुँको बिउले एक चौथाइ क्षेत्रफल खेतमा पनि नपुग्ने भएकोले अधिकाँश खेत बाँझै रहने भएको छ । यता घरको सो बिउले राम्रो उत्पादन नदिने हुँदा गहुँ उत्पादन पनि घट्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्