कोशीटप्पुको संरक्षण र पर्यटन विकासका लागि तीन तह एक ठाउँमा, यसरी बन्दैछ योजना

कोशीटप्पुको संरक्षण र पर्यटन विकासका लागि तीन तह एक ठाउँमा, यसरी बन्दैछ योजना

विराटनगर । कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र र आरक्ष आसपासको क्षेत्रलाई संरक्षण गरी पर्यटन प्रवद्र्धनमा लैजान सबै तयार भएका छन् । पर्यटकीय क्षेत्र कोशी टप्पु ः पुर्बाधार विकास र कानुनी जटिलता बिषयमा संवाद समुह मोरङले कोशीटप्पुमा मंगलवार आयोजना गरेको संवादका क्रममा कोशीटप्पुको संरक्षण गर्दै पर्यटकीय विकासका लागि सबै एकमत भएका हुन् ।
स्थानीयवासी र बन्यजन्तुको द्धन्दका कारणले गर्दा कोशीटप्पुमा पर्यटनको विकास हुन सकेको छैन । त्यसको दिगो समाधानका लागि क्यानल ( दोहोरो ढलान भएको बिचमा पानी बग्ने नहर जस्तै संरचना) निर्माण गरी जंगली जनावरलाई बाहिर आउने समस्याको अन्त्य गर्ने तथा भित्र जंगली जनावरका लागि घाँसको ब्यवस्थापन गरि दिगो समाधान खोज्न पनि स्थानीय कोशी गाउँपालिका, कोशीटप्पु बन्यजन्तु आरक्ष र प्रदेश सरकार तयार भएका हुन् ।
कोशीटप्पुमा पर्यटक भित्र्याउनकालागि स्थानीयको साथ चाहिने भएकोले स्थानीयलाई साथमा लिन आरक्ष, गाउँपालिका र प्रदेश सरकारका बिचमा समन्वयको खाँचो रहेकोले तत्काल समन्वयको वातावण बनाउन पनि सबै एक मत भएका छन् । प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले जंगली जनावरको ब्यवस्थापनसँगै पर्यटनको विकास गरिनु पर्ने बताए । त्यसका लागि जनावरको ब्यवस्थापन गर्नका लागि क्यानल बनाएर नियन्त्रण गर्ने र पर्यटन प्रवद्र्धनका लागि लगानीको वातावरण समेत बनाउने उनले स्पष्ट पारे ।
पर्यटन ब्यवसायी तथा होटल ब्यवसायी सहित भएको संवालको क्रममा स्थानीयलाई लक्षित गरि सचेतना तथा आय आर्जन मुलक कार्यक्रमहरु संचालन गरी आरक्ष क्षेत्रको बारेमा जानकारी र पर्यटन प्रवद्र्धन गरी लगानीकर्तालाई लगानीको वतावरण बनाउने बारेमा गाउँपालिका र प्रदेश सरकारले काम शुरु गर्ने बताएका छन् ।
कोशीटप्पु बन्यजन्तु आरक्षलाई निकुञ्जको रुपमा विकास गर्नका लागि स्थानीय पालिका र प्रदेश सरकारले छलफल र समन्वयको काम थाल्ने समेत स्पष्ट पारे । पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार र कोशी गाउँपालिकाले आरक्ष आसपासमा पार्कको निर्माण गर्ने काम शुरु गरिसकेको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले जानकारी दिए । पर्यटक ल्याउन र पर्यटकीय क्षेत्रको रुपमा कोशीटप्पुलाई विकास गर्ने बिषय आईरहँदा पहिलो प्राथमिकता स्थानीयको समस्या भएकोले उनीहरुको समस्या र उनीहरुको आय आर्जनको वातावरण बनाउन तर्फ पनि ध्यान जानु पर्ने अध्यक्ष अन्सारीको भनाई छ ।
पर्यटकलाई घुमाउनको लागि गाईडको अभावलाई अन्त्य गर्नका लागि गाउँपालिकाले आरक्षलाई सहयोग गर्ने र आरक्षले गाईड उत्पादनको तालिम दिने समेत सहमती भएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेब चौधरीले तालिम दिलाउने काम आरक्ष प्रशासनको भएको समेत बताएका छन् ।
कोशीटप्पु आरक्ष क्षेत्र आसपासको बफरजोनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भएपनि आरक्ष क्षेत्रभित्र भने गतिबिधि गर्न नपाईने आरक्षका प्रमुख संरक्षण अधिकृत चौधरीको भनाई छ ।
बफरजोन क्षेत्रमा निजि क्षेत्रसँगको सहकार्यमा कोशी गाउँपालिकाले लगानीको वातावरण बनाउने तथा प्रदेश सरकार र स्थानीय पालिकाले पुर्बाधार निर्माणको लागि काम शुरु गर्ने पनि छलफलबाट निश्कर्ष निस्किएको छ ।
त्यस्तै संवादकै क्रममा केही बर्ष अगाडी लगातार ३ बर्षसम्म हुँदै आएको चरा महोत्सवलाई निरन्तरता दिने बारेमा छलफल भएपनि कुनै निश्कर्ष भने निस्किएन । तर फेब्रुअरी २ सिमसार दिवसलाई मनाउनको लागि आरक्षको प्रस्तावमा गाउँपालिका र प्रदेश सरकारको सहयोगमा दिवस मनाउने बारेमा भने सहमती भएको विराटनगरका होटल तथा पर्यटन ब्यवसायी भबिश श्रेष्ठले जानकारी दिए ।
संवादमा सहभागी हुनका लागिपुग्नू भएकी प्रदेश १ का प्रदेश सभा सदस्य साबित्रा रेग्मीले कोशीटप्पुलाई चितवन राष्ट्रिय निकुञ्ज भन्दा धेरै माथि लग्न सकिने स्पष्ट पारिन् । कोशीटप्पु जत्तिको संभावना बोकेको क्षेत्र प्रदेश १ मा कमै रहेको स्पष्ट पार्दै उनले कानुनी जटिलता भए गाँठो फुकाएर तत्काल पर्यटक भित्र्याउने वातावरण बनाउनु पर्ने बताईन् ।
नेपाल भ्रमण बर्ष २०२० प्रदेश समितिका सह संयोजक राजन श्रेष्ठ, होटल संघ ईटहरीका अध्यक्ष जीवन पराजुली, होटल ब्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष मणीन्द्र कटुवाल लगायतले कोशी टप्पुमा लगानी गर्नका लागि लगानीकर्ताहरु तयारी अबस्थामा रहेको भएपनि स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारले वातावरण बनाउन नसकेको बताए ।
धरानका पर्यटन ब्यवसायी बासुदेब बरालले जंगल सफारीको प्रसस्त संभावना भएपनि आरक्षले त्यस्ता काममा अप्ठेरो पार्ने काम गरेको आरोप लगाए । विराटनगर ट्राभल्स एजेन्ट संघका अध्यक्ष फणिन्द्र अधिकारी र उपाध्यक्ष ज्ञानु नेपालले पर्यटक पहिलाको जस्तो कोशी टप्पुमा पर्यटकको चाप नरहेको बताए ।  कोशीटप्पुमा आउने पर्यटकलाई के देखाउने र के को लागि ल्याउने भन्ने स्पष्ट नीतिगत ब्यवस्था गर्नु पर्ने समेत ब्यवसायीको माग छ । कोशीटप्पुमा भएको अर्ना चितवन निकुञ्जमा पठाउँदा कोशीटप्पुको गरिमा सरकारले नै नामेट पारेको समेत आरोप लगाएका छन् । कोशीटप्पु अर्नाको एक मात्र बाससस्थान हो भनेर पहिचान बनाएकोमा सरकारले चिवनमा अर्ना पठाएको तर त्यहाँको गैँडा र बाघ कोशीटप्पुमा नपठाएको स्थानीयको आरोप छ । स्थानीयले अर्ना नपठाउनको लागि बिरोध गरेको भएपनि त्यो सरकारले नसुनेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्