यीनै महिला हुन् जसले मोरङका ५० जना युवालाई ठगिन्, पीडित श्रम कार्यालय विराटनगमा

यीनै महिला हुन् जसले मोरङका ५० जना युवालाई ठगिन्, पीडित श्रम कार्यालय विराटनगमा

विराटनगर । वैदेशिक रोजगारीका लागि माल्दीभ्स पठाउने नाममा मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक बस्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ले ५० जना युवासँग प्रतिव्यक्ति एक लाख र एक जनासँग दुई लाख रुपैयाँ ठगी गरेको विराटनगरमा रहेको श्रम कार्यालयमा उजुरी परेको छ।
कात्तिक तेस्रो सातबाट उनी सम्पर्क विहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन् । पीडित युवाहरुको उजुरीका आधारमा श्रम कार्यालय विराटनगरले कारवाही अघि बढाएको छ ।
विदेश पठाउने नाममा ठगी धन्दा चलाएर ठूलो रकम हात पार्दै आफै विदेश भाग्न सक्ने भनेर युवाहरुले लक्ष्मीको एयरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका हुन् । उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।
लक्ष्मीले आफ्नो बैंक खातामै रकम पठाउन लगाएको प्रमाण कार्यालयमा प्राप्त भएको उनको भनाइ छ । ‘वैदेशिक रोजगारी सम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितहरुको आग्रहमा एयरपोर्ट रोक्का गरिएको हो,’ सञ्जेलले भने, ‘थप कारबाहीका लागि तत्काल अरु प्रक्रिया अघि बढाइने छ ।’
पीडितहरु झापा, मोरङ, सुनसरी लगायतका छन् । पीडितहरुका अनुसार लक्ष्मीका श्रीमान रुपेश विडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाउने विषयमा असहमति जनाउँदा श्रीमतीसँग पारिवारिक कलहसमेत उत्पन्न भएको जानकारी रुपेशले दिएको पीडितको भनाइ छ ।
पीडित मध्येका सुन्दरहरैंचा–१२ का प्रतापकुमार कोइरालाले सुरुमा आफूहरुलाई माल्दीभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताए । धनकुटा घर भएका अधिकारीले रिसोर्टमा सेक्युरिटी गार्ड लगाइदिने भन्दै लक्ष्मीको बैंक खातामा पैसा जम्मा गरिदिनु भनेको कोईरालाले जानकारी उनले दिए ।
लक्ष्मीसँग भेटघाट भएर कुरा मिलेपछि सबै जनाले उनको सनराइज बैंकमा रहेको खाता नम्बरमा पैसा हालिदिएको कोइरालाको भनाइ छ । त्यसपछि गत असोज ६ गते मात्रै आफूलाई अधिकारीले जेनिथ ग्रुपका मेनेजर बताउने दीपक मैनालीको सानीमा बैंक नक्साल काठमाडौंको खातामा समेत थप एक लाख रुपैयाँ हाल्न लगाएको उनको भनाइ छ ।
पैसा पठाइदिएपछि अधिकारी पनि सम्पर्कविहीन रहेको कोइरालाले बताए । मासिक सात लाख अमेरिकी डलर तलव पाउने गरी दुई महिना भित्रमा मालदीभ्स पठाउने भनेर २०७५ माघमा आफूहरुसँग पैसा लिएको उनको भनाइ छ । लामो समयसम्म विदेश पठाउन नसकेको कुरा उठाउन थालेपछि पैसा उठाउने महिलानै वेपत्ता बनेको कोइरालाले बताए । मालदीभ्समा रहेका अधिकारी पनि अहिले सम्पर्कविहीन रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्