विराटनगर,५ मंसिर । दुवई पठाइदिने भन्दै गाउँका ७ जना युवासँग पैसा उठाएर भागेका एक व्यक्तिलाई बुधबार राति विराटनगरबाट पक्राउ गरिएको छ ।
सुनसरीको हरिनगरा गाउँपालिका–४ का ३५ वर्षीय गिरेन्द्र साह विराटनगर महानगरपालिका–१४ जतुवाबाट पक्राउ परेका हुन् ।
विदेश पठाइदिने भन्दै सात जना युवासँग प्रतिव्यक्ति एक लाख ७० हजार रुपैयाँ उठाउँदै साह फरार बनेका थिए । ११ लाख ९० हजार रुपैयाँ ठगी गरेर भागेको भन्दै उनी विरुद्ध पीडितहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका थिए ।
श्रमले गत असार ३१ गते पक्राउ पूर्जी जारी गरेपछि साहलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो । उनलाई प्रहरीले बिहीबार श्रमको जिम्मा लगाएको छ । साहबाट ठगीमा पर्नेमा सुनसरीकै हरिनगरा–४ का गन्नु मण्डल सरवरिया, अनिलकुमार मण्डल, इन्द्रदेवकुमार मण्डल, महेशकुमार मेहता, महेशप्रसाद मेहता, रौदी महतो र सञ्जय मण्डल छन् । उनीहरु १९ देखि ३५ वर्ष उमेर समूहका छन् ।
श्रम कार्यालयका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले पैसा फिर्ताका लागि पहल गरिदिन र ठगी गर्नेमाथि कारबाही गरिन माग गर्दै पीडित युवाले पहिल्यै उजुरी दिएको बताए ।
पीडित युवा सञ्जय मण्डलले दुवई लैजाने भन्दै आफूहरुलाई काठमाडौं पु¥याएर साह गायव भएको बताए । उनकाअनुसार काम गर्नका लागि दुवईको बलतिया कम्पनीमा पु¥याउने र नेपालको ५४ हजार रुपैयाँ मासिक तलब हुन्छ भनेर साहले सबैसँग २०७५ चैतबाट पैसा उठाएका हुन् । अहिले पनि सबैको राहदानी साहकै कब्जामा रहेको मण्डलले बताए ।
श्रम अधिकृत सञ्जेलले दुवई पठाइदिन्छु भन्दै ठगी गरेका युवाको नाममा नेपालमा कुनै पनि मेनपावर दर्ता नभएको बताए ।