लाईन मिलाएर मोटरसाईकलबाट भारत तर्फ मरिच तस्करी, १६ बोरा मरिच नियन्त्रणमा

<span class='c1'>लाईन मिलाएर मोटरसाईकलबाट भारत तर्फ मरिच</span> <span class='c2'>तस्करी, १६ बोरा मरिच नियन्त्रणमा</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ तारिगामाबाट प्रहरीले बिहीबार भारतीय मोटरसाइकलमा राखेर भारत लग्दै गरेको अवस्थामा १६ बोरा मरिच बरामद गरेको छ । बिहान १० बजे अढाई लाख मूल्य बराबरको चार सय २५ किलोग्राम मरिच बरामद भएको हो ।
पक्राउ परेको मरिच डीएल ३ एसएभी २१५०, बीआर ५० बी २६०४, बीआर ३८ के ५१३२ नम्बरको मोटरसाइकलमा राखेर भारततर्फ तस्करी गर्ने काम भइरहेको अबस्थामा पक्राउ परेको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा मरिच बरामद भएको बताए । मरिच तस्करीमा संलग्न भने प्रहरीलाई देखेपछि भागेको दाबी प्रहरीको छ ।
बरामद भएको मरिच र नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारबाहीका लागि बिहीबार नै विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी एसपी अधिकारीले दिए । तेस्रो मुलुकबाट ल्याएर मरिच तस्करी हुने क्रम बढेर नियन्त्रण गर्न चुनौती पूर्ण हुन थालेपछि सीमावर्ती सबै नाकामा विशेष टोली खटाएर निगरानी बढाइएको एसपी अधिकारी अधिकारीको भनाई छ ।
नेपालमा भन्दा भारतमा मूल्य दोब्बर रहेका कारण तेस्रो मुलुकबाट आयात हुने कालो मरिच भारत तस्करी भइरहेको बताईन्छ । नेपालमा प्रति किलो मरिच चार सय ६० देखि पाँच सय रुपैयाँसम्म पर्छ । भारतमा प्रति किलो एक हजार रुपैयाँसम्म छ ।
तस्करहरुले भारत गएका नेपाली सवारी साधनमाथि त्यहाँका सुरक्षाकर्मीले कडाई गर्ने भएकाले भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा मरिच तस्करी गर्ने गरेको पाइएको छ । सीमा क्षेत्रका बासिन्दाकाअनुसार मरिच तस्करीमा संलग्नले नेपाल–भारत सीमा क्षेत्रमा गोदाम नै बनाएका छन् । तेस्रो मुलुकबाट आयात गरिएको मरिच प्रक्रिया पु¥याएर सीमामा रहेको आफ्नो गोदाममा लैजाने र त्यहाँबाट भारत कटाउने गरिएको स्थानीयले बताए ।
स्थानीय नरेश यादव प्रहरीका अधिकारीदेखि घुमुवासम्मलाई मिलाएर सीमा क्षेत्रबाट मरिच भारत जाने गरेको बताउँछन् । ‘हामी नियन्त्रण गरिरहेका छौं भनेर प्रहरी अधिकारीले भने पनि भित्रभित्रै तस्करसँग राम्रै ‘सेटिङ’ छ,’ उनले भने, ‘बिहीबार पनि स्थानीय बासिन्दाले धेरै विरोध गरेका कारण मात्रै तस्करीको मरिच नियन्त्रणमा लिन प्रहरी आइपुगेको हो ।’ धेरै पहिलेदेखि मरिच भारत गइरहेको कुरा पटक–पटक खवर गरे पनि तस्करको सहयोगीको भूमिकामा प्रहरी देखिएको स्थानीय बासिन्दाको गुनासो छ । मरिच तस्करी हुने समयमा सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति नै शुन्य हुने भएकाले त्यो ‘सेटिङ’ हो भनेर बुझ्नु पर्ने उनीहरुले बताए ।
विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले तेस्रो मुलुकबाट आयात भएको मरिच भन्सार तिरेर पनि भारत लैजान नपाइने बताए । तेस्रो मुलुकबाट १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट तिरेर मरिच आयात हुने गरेको उनले बताए । आजसम्म प्रक्रिया पूरा गरेर भन्सार कार्यालयबाट मरिच भारततर्फ लगिएको कुनै पनि रेकर्ड नभएको जानकारी पौडेलले दिए । सुरक्षा निकायले आवश्यक सहयोग नगर्दा र नेपालमा भन्दा भारतमा महँगो हुने भएकाले सीमा क्षेत्रबाट भारततर्फ हुने मरिच तस्करी नरोकिएको निस्कर्ष भन्सार कार्यालयले निकालेको छ । खुल्ला सीमा नाका र सुरक्षाकर्मीसँग हुने ‘सेटिङ’ नियन्त्रणको मुख्य चुनौती रहेको भन्सारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्