विराटनगर, सुनसरीको चतरास्थित आफ्नै आश्रममा महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराजलाई मुटुमा समस्या देखिएको भन्दै आईसीयूमा भर्ना भएका छन् ।
घटना अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीको टोली सुनसरीबाट विराटनगर आउँदै गर्दा उनलाई भने स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै अस्पतालले आईसीयूमा भर्ना गरेको हो ।
विराटनगर आएको डीएसपी विनोद शर्मा नेत्रृत्वको टोली उनलाई पक्राउ गर्ने कि नगर्ने भन्ने दोधारमा छ । गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
सिद्धबाबा भने गत बिहीबारबाट विराटनगरको विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए । उनलाई छात्ती, मुटु तथा प्रोस्टेट तथा मृर्गाैलाको पत्थरीले समस्या बनाएको अस्पतालले बताउँदै आएको थियो । गाइनो वार्डको ५ नम्बर डिलक्स रुममा राखेर उनको उपचार भइरहेको थियो ।
तर एकाएक मुटु र छात्तीमा समस्या बढेको भन्दै उनलाई आइतबार बिहान ११ः३० बजे आईसीयूको १० नम्बर बेडमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख पदम विनारीले बताए । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी नेत्रृत्वको चिकित्सक टोलीले सिद्धबाबाको उपचार गरिरहेको छ ।
सिद्धबाबाले आफूमाथि गम्भीर षडयन्त्र भएको भन्दै आरोप अस्वीकार गरेका छन् ।
पक्राउको तयारी गरिरहँदा उनलाई चिकित्सकले आईसीयूमा भर्ना गरेर उपचार थालेपछि प्रहरी नै दोधारमा परेको छ । डीएसपी शर्माले सबै पक्षसँग आवश्यक रायपरामर्श लिएर अघि बढ्ने जानकारी पनि दिए ।