पूर्वमिस नेपालहरूको महिनावारी अनुभव

पूर्वमिस नेपालहरूको महिनावारी अनुभव

काठमाडौँ, मङ्सिर १६ गते ।

महिनावारी लुकाउने कुरा हो कि खुलेर बहस गर्ने कुरा हो । यसबारेमा सहरका किशोरी समुदाय अझै अन्यौलमा छन् । सुदूरपश्चिमको अछाम र डोटी लगायतका क्षेत्रमा महिनावारी अझै कडा छुवाछूतको विषय मानिन्छ । शनिबार राजधानीमा भने पूर्वमिस नेपालहरू महिनावारीबारे एकै मञ्चमा खुलेर बोले ।
प्राकृतिक प्रक्रिया भएकाले महिनावारीका बारेमा खुलेर बोल्न र एकअर्कालाई सहयोग गर्न आह्वान गरियो । भृकुटीमण्डपमा भेला भएका आगन्तुक र किशोरीमाझ उहाँहरूले आफ्ना महिनावारी अनुभव साटासाट गर्नुभयो । धेरैजना राता पहिरनमा सजिएर महिनावारीलाई छुवाछूतका रूपमा हैन खुसीका रूपमा मनाउनुपर्ने सन्देश दिनुभयो ।

“पहिलो पटक महिनावारी हुँदा म एकदमै खुसी भएकी थिएँ”, पूर्वमिस नेपाल मलिना जोशीले भन्नुभयो, “अलिक ढिला भएकाले पनि कस्तो होला के होला भन्ने जिज्ञासाले मलाई अनौठो पनि लागेको थियो ।”
उहाँले जस्तै पूर्वमिस नेपाल उषा खड्गी हरेक महिना हुने महिनावारीका कारण किशोरी र महिलामाथि भेदभाव गर्न नहुने बताउनुभयो । ‘‘जसरी हरेक मानिसले दैनिक क्रियाकलाप गर्छन्, त्यसरी नै हरेक महिना एउटी किशोरीलाई महिनावारी हुन्छ”, पूर्वमिस नेपाल जेनिसा मोक्तानले अनुभव बताउनुभयो, “एउटा शारीरिक प्रक्रियाका रूपमा सबैले सामान्य व्यवहार गर्नुपर्छ ।” उहाँले जनजाति समुदायमा महिनावारीको विभेद तागाधारीमा भन्दा निकै कम रहेको अनुभव सुनाउनुभयो ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले महिनावारी महिलाका लागि सृष्टिको अनुपम उपहार भएको बताउनुहुन्छ । किशोरी समूहका लागि काम गर्दै आएको मितिनी नामक संस्थासँगको सहकार्यमा आफूहरूले छात्राहरूका लागि भविष्यमा सहकार्य गरेर थप सुधारका काम गर्ने योजनाअनुसार यसरी भेला भएको पूर्वमिस नेपाल सुगारिका केसीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्