धरानमा तिलकले २८ वर्षदेखिको ‘कम्युनिस्ट किल्ला’ भत्काए

धरानमा  तिलकले २८ वर्षदेखिको ‘कम्युनिस्ट किल्ला’ भत्काए

धरान । कांग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन्। उनले २८ वर्षदेखिको ‘कम्युनिस्ट किल्ला’ भत्काएका हुन्। उनी अघिल्लो निर्वाचनमा भने तत्कालीन एमालेका तारा सुब्बासँग पराजित भएका थिए। तत्कालीन मेयर सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो।

सुनसरी क्षेत्र नम्बर १ मा पर्ने धरानमा २०४८ सालदेखि नेकपाले जित्दै आएको थियो। कांग्रेसले पहिलो पटक २ हजार ७ सय ९५ मतअन्तरले नेकपा उम्मेदवारलाई पराजित गरेको हो। सोमबार सार्वजनिक उपनिर्वाचनको मतमरिणामअनुसार तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे।

संघीय लिम्बुवान राष्ट्रिय मञ्चका उम्मेदवार अमर इजमले १ हजार १ सय ३१ मत ल्याएका छन्। ९२ हजार ८ सय ५३ मतदाता रहेको धरानमा ५४ हजार ८ सय ४८ मत खसेको थियो। १ हजार १ सय ४१ मत बदर भएको थियो।

पूर्वएमाले र माओवादी एकतापछि बनेको नेकपा उम्मेदवारविरुद्ध तिलकले समाजवादी, राप्रपा र नेकपाकै केही असन्तुष्ट मत प्राप्त गर्न प्रयास गरेका थिए। कांग्रेस, समाजवादी, राप्रपा, खम्बुवान र नेकपाकै कार्यकर्ताको मतबाट आफू जितेको भन्दै उनले नवनिर्वाचित मेयर राईले मतदातालाई धन्यवाद दिएका छन्। आफूले नमुना विकास गरी भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता उनले जनाएका छन्। कुनै सुविधा नलिई सामाजिक कार्यमा लाग्ने घोषणासमेत उनले गरेका छन्। नेकपा उम्मेदवार प्रकाशले तिलकलाई माला र खादा लगाएर बधाई दिए। आफूले तिलकलाई सहयोग गर्ने उनले बताए।

धरानमा कांग्रेसबाट पाँच वडाध्यक्षसहित जनप्रतिनिधिको संख्या २६ पुगेको छ। नेकपाबाट निर्वाचित जनप्रतिनिधिले आर्थिक अनियमितता गरेको र विकासका ठूला आयोजनालाई लथालिंग बनाएको भन्दै उनले यसविरुद्ध बोल्दै आएका थिए। अढाई वर्षमा जनप्रतिनिधिको कामकारबाहीप्रति असन्तुष्ट मतदाताले ‘परिवर्तनको पक्षमा तिलकलाई मौका दिएको’ स्थानीय बताउँछन्।

वडाध्यक्षमा एक मतको अन्तर

धरान उपमहानगरपालिका-७ को वडाध्यक्षमा नेकपाका जीवनराज सुवेदी निर्वाचित भएका छन्। उनले कांग्रेस उम्मेदवार सुवर्णमोहन पालिखेलाई एक मतअन्तरले पराजित गरेका हुन्। तत्कालीन वडाध्यक्ष भूपेन्द्रराज मोक्तानको निधनपछि यहाँ पद रिक्त थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्