सोलुखुम्बुमा पर्यटकीय सिजन सकिँदै गएपछि विदेशी पर्यटकहरू धमाधम फर्कन थाले

सोलुखुम्बुमा पर्यटकीय सिजन सकिँदै गएपछि विदेशी पर्यटकहरू धमाधम फर्कन थाले

सन्तोष राउत

सोलुखुम्बु, मङ्सिर १८ गते । पर्यटकीय सिजन सकिँदै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटकहरू धमाधम फर्कन थालेका छन् । तापक्रममा कमी आएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्यावलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन फर्कन थालेपछि पर्यटकीय नगरी खुम्बु क्षेत्र रित्तिन थालेको हो ।
हवाई मार्ग प्रयोग गरी आउने पर्यटकहरूका कारण तेञ्जिङ हिलारी विमानस्थलमा फर्कनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ ।

सिजनमा पर्यटकको दर्ता गर्न भ्याइनभ्याई भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरूलाई पर्यटकको चाप घट्न थालेपछि हल्का भएको बताएका छन् । पद मार्ग र हवाई मार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरूको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । कार्यालयमा पर्यटक सूचना केन्द्रसमेत रहेको छ ।
केन्द्रले पर्यटकलाई खुम्बुक्षेत्रमा जाँदा पर्यटकले अपनाउनै पर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुरालगायतका विषयमा पर्यटकलाई जानकारी प्रदान गर्ने भएकाले कर्मचारी व्यस्त हुन्छन् । सिजन सकिएकाले फाटफुट मात्र प्रवेश हुने गरेको कार्यालयले जनाएको छ ।
टे«किङ सिजन सुरु भएसँगै लुक्ला पुगेका जिल्ला तथा अन्य विभिन्न भागका पर्यटन व्यवसायीहरू सबै फर्किएका छन् । कात्तिकको अन्त्यमा सिजन सकिएको भए पनि मङ्सिरभरि पनि पर्यटकको हल्का आवतजावत हुने गर्दछ । दशैँअघि नै पर्यटक भरियाका रूपमा खुम्बु पुगेकाहरू समेत बाटोमा फर्कंदै गरेको पाइन्छ ।

अघिल्ला वर्षहरूमा मौसम प्रतिकूलताका कारण कतिपय पर्यटकहरूको हवाई उडान रद्द हुँदा प्रत्यक्ष रूपमा पर्यटन व्यवसायीहरू मारमा परेका भए पनि यस वर्ष मौसममा खासै खराबी नआएपछि सहजै फर्कन पाएका छन् । त्यस्तै, होटल व्यवसायीहरू अफ सिजनमा जाडो छल्न काठमाडौँ तथा तराईका विभिन्न क्षेत्रमा झर्न थालेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँहरूमा रहेका होटलहरूका मालिकहरू होटलमा काम गर्नेलाई राखेर हिँडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्