गरिखानेका कुरा : चुुलो चौकोमा सीमित ईलामका महिला सिप पाएपछि बने उद्यमी

गरिखानेका कुरा  : चुुलो चौकोमा सीमित ईलामका  महिला सिप पाएपछि बने उद्यमी

सुजाता सुनुवार

इलाम । तपाईँ के काम गर्नु हुन्छ ? ग्रामीण क्षेत्रका अधिकांश महिलालाई सोध्ने हो भने उत्तर हुन्छ म गृहिणी । तर, काम सबै भन्दा बढी उनीहरुकै हुन्छ । काम जति गरे पनि घर भित्रकोे काम गरेको दाम पाइने होइन । बेरोजगार जस्तै, दाम नआउने तर कामले कहिल्यै नछाड्ने । घरको काम गर्छु भन्यो कमाइ हात लाग्दैन । न काम छ भन्न सकिन्छ, न त काम गरेको कसैले देख्छ न त हिसाब नै हुन्छ ।

इलामको माई नगरपालिकाका १२ जना महिलालाई गृहिणी मात्रै भन्नु परेको छैन । घर धन्दा सकाएका छन्, बाहिर निस्किएर काम गरेका छन् । थोर बहुत दाम पनि कमाएका छन् । उनीहरुलाई यस्तो बनाउन नगरपालिकाले सहयोग गरेको छ । नगरपालिका कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामको सहकार्यमा सञ्चालन गरिएकाे तालिममा समुहका १२ जना सहभागि भए । तालिम अनुसारको कामको लागि नगरपालिका अन्तर्गत वडा कार्यालयमा छुट्टिएको बजेट मूल पुँजीको रुपमा पाए । त्यसमा केही आफुले पनि लगानी गरेका छन् ।

ज्यालाको लागि अरुको काममा दैनिक खटिनु परेको छैन । गरे आफ्नै कमाइ, नगरे आफैलाई नोक्सान । त्यसैले मेहेनतले काम गरेका छन् । ज्यालादारीका लागि साहु गुहार्नु परेको छैन । आफै उत्पादन गर्छन् । उत्पादन स्थानीय बजारमै बिक्छ । गरेको खासै नयाँ पनि होइन, बजारमै पाउने दालमोठ बनाएको हो । पहिले गाउँकै बजारमा बाहिरबाट दालमोठ आउँथ्यो । अहिले उनीहरुले नै बनाएको दालमोठले स्थानीय बजार धानेकाे छ ।

‘वडाले ७५ हजार रुपैयाँ छुट्याएको थियो, १२ जनाले तालिम लियाैँ । त्यही रकमलाई मूल पुँजी बनाएर लघु उद्योग सञ्चालन गरेर १२ जना महिला स्वरोजगार बनेका छाैँ’ माई नगरपालिका – १ दानाबारीकी कल्पना फागाले भन्नु भयो,‘समुहमा आवद्ध केहीका श्रीमान् विदेशमा छन्, यहाँ हामीले पनि पैसा आउने काम गरिरहेका छौ ।’  नगरपालिकाले अघिल्लो आव २०७५/०७६ को बजेटमा पाँच दिने दालमोठ–भुजिया बनाउने तालिम दिएको फागोले जानकारी दिनु भयो । ‘यही तालिमबाट सिकेको सीपले हामीले काम गर्न सक्याैँ’, उहाँ भन्नु हुन्छ, ‘घरेलुबाट पनि सहयोग पाए पछि झन सजिलो भयो ।’

‘गाउँमा काम नहुनाले त्यसै घाम तापेर बिताइन्थ्यो’, समुहमा आवद्ध अर्की उद्यमी इन्द्रकुमारी राई भन्नु हुन्छ, ‘अहिले यसै बस्नु परेको छैन, हामीले बनाएको दालमोठ–भुजिया सबैले मन पराइदिनुभएकाे छ ।’

सुरुका दिनमा उनीहरुले पाँच किलाे मैदाको दालमोठ बनाउने गरेका थिए । माग बढ्दै जाँदा १५ किलो मैदाबाट बनेको दालमोठ बिक्न थाल्यो । गुणस्तरीय दालमोठ भुजिया उद्योगको उत्पादनकोे स्वाद लिनेकाे संख्या बढ्दै जाँदा उनीहरुले दैनिक बनाउने गरेकाे २५ किलो मैदाको उत्पादन थन्क्याउनु परेको छैन । दालमोठको बजार विस्तार हुँदा अहिले उनीहरुले फुर्सत पाउन पनि छाडेका छन् । पहिले सातामा दुई दिन मात्रै काम गर्ने उनीहरु अहिले साताभर खट्दा पनि माग धान्न मुस्किल परेकाे छ ।

उनीहरुले मूल्य अनुसारकाे फरक – फरक तौलको प्याकेट तयार गर्छन् । एक किलाेको प्याकेटलाई दुई सय रुपैँया, दुई सय ग्रामको प्याकेटलाई ३० रुपैयाँ, सय ग्रमको प्याकेटलाई २० रुपैयाँ र ५० ग्रामको प्याकेटलाई १० रुपैयाँ जाने गरी तयार पारिएकाे छ ।

विदेशीका श्रीमान सम्पर्कमै आएनन्, घरेलु उद्योगले धान्यो जीवन

आर्थिक अभाव हुनु आम नेपालीका लागि सामान्य जस्तै हो  । रोजगारीको लागि विदेशीनु पनि सामान्य नै हो । तर, कमाउन विदेशीका श्रीमान सम्पर्कमै आएनन् भने असमान्य हुन्छ गृहिणीका लागि । दालमोठ भुजिया बनाउने उद्योग खोल्न तम्सिने महिलाहरुमा यस्तो पीडा पनि छ । समुहमा आवद्ध सबैको होइन । १२ जना महिला मध्ये केहीले यस्तो समस्या पनि व्यहोरेका छन् । ‘श्रीमान २०७१ मा वैदेशीक रोजगारीको लागि विदेश जानु भयो, २०७३ सालदेखि सम्पर्क विहीन हुनुहुन्छ’,विगत सम्झदै फागो सुनाउनु हुन्छ, हाम्रो समुहका अरु पाँच जनाको श्रीमान विदेश गएका छन्, विदेश हिडेदेखी कतिले परिवारमा सम्पर्क गर्दैनन् ।’

कमाउन विदेश गएका श्रीमानले बिर्सिए पछि आफ्नो खर्च धान्नकै लागि भए पनि सुरु गरेकाे व्यवसायले अहिले आफुहरुलाई उद्यमी बनाएकाे सुनाउनुहुन्छ फागाे । अहिले आफ्नै कमाइले घर चलेकाे छ ।

सबै आवश्यकता पूरा नभए पनि आधारभूत आवश्यकता पूरा भएका छन् । आवश्यकता पूरा हुनु भन्दा ठूलो समाजका अन्य मानिसहरुले हेर्ने दृष्टिकोण परिवतर्न भएको छ ।

‘अरुकाे भर नपरि आफैंले कमाउन थालेपछि गाउघरका मान्छेले गर्ने व्यवहार पनि फरक पर्दो रहेछ’,फागो अनुभव साट्दै भावि योजना सुनाउनुहुन्छ, ‘यही उद्योगलाई अझ व्यवस्थित गर्ने हो, राम्ररी काम गर्ने हो, यही कमाउने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्