बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिना आधार र बिना टिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुई जना विद्यार्थी र बैंकका दुई जना कर्मचारी पक्राउ गरेको छ ।

कीर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैंकमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । सोही अभियोगमा आरोपित प्रतिष्ठानका डाक्टर रोशन यादव भने फरार छन् ।

डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एमबिबिएस अध्ययनरत तीन जना विद्यार्थी मुख्य दोषी देखिएका छन् । उनीहरूले ६ महिनाअघि लेखा शाखाको ड्रबाट चेक चोरी गरेको बयान दिएका छन् । चेकमा अस्पताल निर्देशक डाक्टर गौरीशंकर शाह र तत्कालीन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर छ ।

गत भदौ १९ गतेको मितिमा काटिएको सो चेक विद्यार्थीहरूले भदौ २७ गते मिर्चैया शाखाबाट साटेका थिए । अस्पताल निर्देशक डाक्टर साहले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन् ।

चेक कीर्ते गरेको अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले चेकमा भएको हस्ताक्षर स्टाम्प हानेको जस्तो देखिए पनि भेरिफाइ गरेकाले बैंकका दुई कर्मचारी पक्राउ गरेको जनाएको छ ।

‘अनुसन्धान गर्दा तीनजना मिलेर कीर्ते गरेको देखियो, पक्राउ परेका विद्यार्थीले चेक चोरेको बयान दिएका छन्,’ डिएसपी न्यौपानेले भने, ‘चेकमा भएको हस्ताक्षर हेर्दा स्टाम्प हानेको जस्तो देखिन्छ, त्यसलाई पनि भेरिफाइ गरिएको छ ।’

चेकमा भएको हस्ताक्षर अस्पताल निर्देशक डाक्टर साह र दाहालको वास्तविक भए नभएको जाँच गर्न प्रहरीले प्रयोगशाला पठाएको छ । साथमा दुवैको आधिकारिक हस्ताक्षर र पटक पटक पुनः हस्तक्षर गर्न लगाएर प्रहरीले प्रयोगशाला पठाएको छ । यो काण्डमा अब प्रहरीलाई प्रयोगशालाको रिपोर्टको प्रतिक्षा छ । नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्