बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ११ महिनामा १४ लाख

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ११ महिनामा १४ लाख

लक्ष्मण पौडेल

भैरहवा, मङ्सिर २४ गते । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा सन् २०१९ को ११ महिनामा लुम्बिनी भ्रमण गर्ने पर्यटक अघिल्लो वर्षको तुलनामा बढेका हुन् । पर्यटक सङ्ख्या बढे पनि बसाइ अवधि भने लम्बिन सकेको छैन ।

बितेको ११ महिनामा लुम्बिनी भ्रमण गर्ने विदेशी, भारतीय र नेपाली पर्यटकको सङ्ख्या १४ लाख पुगेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ । कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या सामान्य वृद्धि भएको हो । सन् २०१९ को ११ महिना (जनवरीदेखि नोभेम्बरसम्म) लुम्बिनी भ्रमण गर्ने पर्यटक १३ लाख ८१ हजार ८४९ जना पुगेको तथ्याङ्क कोषले सार्वजनिक गरेको छ । जसमध्ये तेस्रो मुलुकका एक लाख ५५ हजार ५०३ जना पर्यटकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
सूचना अधिकृत राईका अनुसार आन्तरिक पर्यटक १० लाख ४९ हजार ७०२ जनाले लुम्बिनी भ्रमण गरेका छन् भने एक लाख ७६ हजार ६४४ भारतीय पर्यटक यो अवधिमा लुम्बिनी अवलोकनका लागि आएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा थोरैले बढी हो ।
गत वर्ष यही अवधिमा तेस्रो मुलुकका एक लाख ५१ हजार ७३७, नेपालका १० लाख ४३ हजार ४५ र भारतका एक लाख ६२ हजार २११ गरी जम्मा १३ लाख ५६ हजार ९९३ जनाले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०१८ मा कुल लुम्बिनी पुग्ने पर्यटकको सङ्ख्या १४ लाख ३३ हजार ११० थियो ।

तथ्याङ्कअनुसार यहाँ आउने पर्यटकमध्ये सबैभन्दा धेरै श्रीलङ्काका छन् । त्यसपछि थाइल्यान्ड, चीन, बर्मा, म्यानमारलगायतका देशबाट पर्यटक लुम्बिनी आउँछन् । लुम्बिनी भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढे पनि उनीहरूको बसाइ अवधि भने लम्बिन सकेको छैन । पर्यटकको बसाइ छोटो हुँदा पर्यटन व्यवसायबाट अपेक्षित लाभ प्राप्त हुन नसकेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो ।

प्रदेश ५ सरकारको जारी लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० संघारमा आउँदै गर्दा पर्यटक आगमन अपेक्षाअनुसार नबढ्दा पर्यटन व्यवसायीमा निराशा बढेको छ । आगन्तुकमध्ये १० प्रतिशतले मात्रै लुम्बिनीमा रात बिताउँछन् । सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजनामा लुम्बिनी आउने पर्यटकले सरदर एक रात मात्रै बास बस्ने गरेको उल्लेख छ । यो विदेशी पर्यटकको बसाइ अवधिका आधारमा निकालिएको तथ्याङ्क हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्