नेपाललाई एडीबीको ४० अर्ब ऋण , विभिन्न चारओटा परियोजनाका लागि ऋण

नेपाललाई एडीबीको ४० अर्ब ऋण , विभिन्न चारओटा परियोजनाका लागि ऋण

काठमाडौँ, मङ्सिर २५ गते ।

एसियाली विकास बैङ्कले नेपालका विभिन्न चारओटा परियोजनाका लागि ४० अर्ब ४५ करोड ४० लाख रुपियाँ (३५ करोड ८० लाख डलर) ऋण उपलब्ध गराएको छ ।
ऋण उपलब्ध गराउने सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर हामुदखानोभले मङ्गलबार हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार एडीबीले पोखरा–मुग्लिन सडकको स्तरोन्नति, बागमती नदीको बेसिनमा बाढी व्यवस्थापन स्तरोन्नति तथा नदी स्वस्थता सुधारका लागि थप वित्तीय सहयोग, साना किसानको आम्दानी बढाउने तथा जीविकोपार्जन सुधार र सरकारको कृषि तथा खाद्य सुरक्षासम्बन्धी परियोजनाका लागि ऋण उपलब्ध गराउनेछ ।

त्यसमध्ये पोखरा–मुग्लिन सडकको स्तरोन्नतिका लागि २२ अर्ब तीन करोड(१९ करोड ५० लाख डलर) ऋण उपलब्ध हुनेछ । सासेक परियोजना अन्तर्गतको यो सडक खन्डको पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर सडकलाई चार लेनको बनाइनेछ ।
बागमती नदीको बेसिनमा बाढी व्यवस्थापन स्तरोन्नति तथा नदी स्वास्थ्य सुधारका लागि सात अर्ब ११ करोड थप लगानी बैङ्कले उपलब्ध गराउनेछ ।

यो परियोजना अन्तर्गत बागमतीको ५.७५ किलोमिटर किनारमा सुन्दरीकरण र खेर गएको पानीको ट्रिटमेन्ट प्लान्ट निर्माण, बाढीसम्बन्धी अग्रिम जानकारीका लागि जनचेतालगायतका काम हुने छन् ।
पाँच अर्ब ६५ करोड नीतिमा आधारित ऋण प्राप्त हुने कृषि तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमअन्तर्गत नेपालमा खाद्य सुरक्षा र गुणस्तर अनुगमन प्रणाली स्थापना हुनेछ ।

साना किसानको आम्दानी बढाउने तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत प्राप्त हुने पाँच अर्ब ६५ करोड ऋणबाट ग्रामीण क्षेत्रका व्यवसाय र सहकारीलाई वित्तीय पहुँचको व्यवस्था गर्ने किसानको आम्दानी वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
सम्झौतापछि अर्थ सचिव खनालले चारओटै परियोजना नेपालका लागि धेरै महìवपूर्ण रहेको र सरकारको सहभागितामूलक दीर्घकालीन विकासका लागि सहयोगी हुने बताउनुभयो ।

नेपालका लागि देशीय निर्देशक हामुदखानोभले नेपालको विकास सहायतामा एडीबीले सहयोग बढाउँदै लगेको र यसले सरकारसँगको साझेदारी थप बलियो बन्दै गएको देखाएको बताउनुभयो ।
परियोजना कार्यान्वयनमा भएको सुधारसँगै नेपालका लागि थप ऋण उपलब्ध गराउन एडीबीले उपलब्ध गराएको अवसरलाई प्रयोग गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्