नेपाली सीमा अतिक्रमणविरुद्ध क्यानडामा प्रदर्शन, भारत सरकारलाई चेतावनी पत्र

नेपाली सीमा अतिक्रमणविरुद्ध क्यानडामा प्रदर्शन, भारत सरकारलाई चेतावनी पत्र

क्यानडा। भारतबाट नेपालमा भइरहेको सिमा अतिक्रमणको विरोध गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) क्यानडाको नेतृत्वमा टोरोन्टोमा रहेको भारतीय दुतावास अगाडी प्रदर्शन भएको छ ।
भारत सरकारले पछिल्लो समयमा नेपालका भू–भागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रहरु आफ्नो राष्ट्रिय नक्शाभित्र समेटेपछि त्यसको विरोधमा एनआरएनए क्यानडाले टोरोन्टोस्थित दूतावासमा बिरोध गर्दै चेतावनी पत्र बुझाएको हो । टोरोन्टो स्कारबोरो, मिसिसागा ब्राम्पटन लगायत ग्रेटर टोरोन्टोका विभिन्न सहरबाट सयौंको संख्यामा सहभागी गैह्र आवासिय नेपालीहरुले दूतावासअगाडी प्ले कार्ड र व्यानरसहित केहिबेर प्रदर्शन समेत गरेका छन्।
नेपालको अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने, नेपालको स्वाभिमानमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, भारतीय हेपाहा प्रबृत्ति सधैको लागि अन्त्य हुनुपर्ने जस्ता नाराहरु उनीहरुले लगाएका थिए । विरोधसभामा स्थानिय संघसंस्थाका प्रतिनिधिहरुले नेपालका सिमा क्षेत्रमा भइरहेका सिमा अतिक्रमण तत्काल बन्द गरेर अतिक्रमित भूभाग फिर्ता नगरे क्यानडाबासी नेपालीहरुले थप कदम समेत चाल्न सक्ने एउटै चेतावनी दिएका छन् ।
उनीहरुले हप्तौं वितिसक्दा पनि नेपाल सरकारले केही कदम चाल्न नसकेको प्रति आलोचना समेत गरेका छन् । शिघ्र कूटनीतिक कदमबाट समस्या समाधान गर्न आग्रह पनि गरेका छन् । बिरोध कार्यक्रममा एनआरएनए क्यानडाका तर्फबाट अध्यक्ष चिरन्जिवी घिमिरे, पूर्व अध्यक्ष एवं वर्तमान आइसिसी सदस्य गोपीकृष्ण काफ्ले, संस्थापक नवराज गुरुङ, वर्तमान उपाध्यक्ष विजय पौडेल, एनसीसीएस टोरोन्टोका अध्यक्ष विदुर केसी, एनसीएनसीकी सचिव संगीता जिसी, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश थापा, एनआरएनए क्यानडाका सल्लाहकार मुगा राजभण्डारी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले भारतले आफ्नो नक्साभित्र समेटेका नेपाली भूभागहरु तुरुन्तै फिर्ता गर्न लगाइ नेपाली सेनालाई सिमा सुरक्षार्थ खटाउन नेपाल सरकारलाई आग्रह गरे । एनआरएनए क्यानडाकै नेतृत्वमा सोही दिन राजधानी अटोवा र भ्यानकुवरस्थित भारतीय दूतावासमा विरोध पत्र बुझाइएको एनआरएनए क्यानडाका मिडिया कोअर्डिनेटर बद्री तिमल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्