दाहालकाे प्रतिवेदनः स–साना कुरामा सरकारको ध्यान पुगेन, उपनिर्वाचनबाट गम्भीर धक्का

<span class='c1'>दाहालकाे प्रतिवेदनः स–साना कुरामा सरकारको</span> <span class='c2'>ध्यान पुगेन, उपनिर्वाचनबाट गम्भीर धक्का</span>

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक वर्षपछि आइतबारबाट शुरु भएको छ । गत वर्ष २९ मंसीरबाटै स्थायी कमिटी बैठक शुरु भएको थियो ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले एक वर्ष अगाडिकै मितिमा स्थायी कमिटी बैठक बस्नुलाई संयोग भएको प्रतिवेदनमा उल्लेख गरेका छन् । बैठकमा नेताहरुले तीन महीनामा बस्नुपर्ने स्थायी कमिटी बैठक एक वर्षसम्म नबस्नुको कारण सोधेका थिए ।

तर, अध्यक्ष दाहालले स्थायी कमिटी बैठक बस्न नसक्नुको कारण प्रतिवेदनमै उल्लेख भएको जवाफ दिए । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थिति भए पनि हस्ताक्षर भएको प्रतिवेदन पेश गरेका दाहालले लामो समय बैठक नबोलाएमो आत्मालोचना गरेका छन् ।

पाँच बुँदे प्रस्ताव पेश गरेका दाहालको प्रतिवेदनमा पार्टीको सैद्धान्तिक कार्यक्रमबारे यसअघि जुटेकै सहमतिलाई अगाडि बढाइएकाे छ । “पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तत्कालीन ठोस् कार्यक्रम समाजवाद उन्मूख ‘जनताको जनवाद’ हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ”, प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेबारे प्रष्ट पारेको छ ।

यसअघि तत्कालीन एमालेले मान्दै आएको जनताको जनवाद (जबज) र माओवादी केन्द्रले मान्दै आएको एक्साइसौं शताब्दीको जनवाद भने छोडेको संकेत दिएका छन् । दाहालले ल्याएको प्रतिवेदनमा लेखिएको छ, “नयाँ राजनीति सन्दर्भमा विचारको विकास र परिमार्जनको लागि सिर्जनात्मक अध्ययनमा जोड दिनुपर्दछ ।”

प्रतिवेदनले पार्टी संस्थागत रुपमा चल्न नसकेको स्वीकार गरेको छ । पार्टीमा प्रचार, प्रशिक्षण र स्कूलिङको अभावमा गुट, घात, अन्तर्घात र अराजक प्रवृत्ति बढिरहेको उल्लेख गरिएको छ । माघको पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने अध्यक्ष दाहालले प्रस्ताव गरेका छन् ।

प्रतिवेदनमा सरकारका कमजोरीहरुबारे समेत औल्याइएको छ । ठूला विकास निर्माणका कुरातिर मात्रै लाग्दा जनताको असन्तुष्टि बढेको निष्कर्ष निकालिएको छ । उपनिर्वाचनको नतिजालाई सरकारकै कामकार्बाहीसँग तुलना समेत गरिएको छ ।

“तत्काल जनताले परिणाम देख्ने र राहत महसुश गर्ने स–साना काम र योजनामा सरकारको ध्यान कम जाने गरेको जनगुनासोलाई पनि सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ”, दाहालको प्रतिवेदनमा उल्लेख छ । नेकपाले उपनिर्वाचनमा धरान र भरतपुर महानगरपालिका वडानम्बर १६ मा नेकपा पराजित हुनुलाई गम्भीर धक्काका रुपमा लिएको छ ।

भक्तपुरमा भने कांग्रेसलाई राप्रपाले जिताएको निष्कर्ष निकालिएको छ । “पहिलोको २७ को संख्या अहिले ३२ मा पुगेको छ । तर, यथार्थमा गएर बिचार गर्दा यसबाट हामीलाई उत्साहित हुने ठाउँ भने विल्कुलै छैन”, प्रतिवेदनमा लेखिएको छ ।

पार्टीको भावी कार्ययोजना भने केन्द्रीय कमिटी बैठकबाट घोषणा गर्ने प्रतिवेदन तयार पारिएको छ । जसअनुसार, तीन महीने ठोस् कार्यक्रम सातै प्रदेशमा घोषणा गरिनेछ भने सवै प्रदेश, विभाग, जनवर्गीय संगठन (जबस) र मोर्चाले तीन महीनो कार्यक्रम बनाइनेछ ।

पार्टीको वैचारिक कार्यक्रमबारे नेकपाले परीक्षाको व्यवस्था गर्ने समेत प्रस्ताव गरिएको छ ।

५ मंसीरमा अध्यक्षद्वय ओली र दाहालबीच कार्य विभाजन भएसँगै दाहालले पार्टी मोर्चाको कार्यक्रम अगाडि बढाएका हुन् । २३ मंसीरमा बसेको सचिवालय बैठकको निर्णयअनुसार, आइतबारबाट स्थायी कमिटी बैठक बसेको छ । हिमाल खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्