काठमाडौं गोल्डेन वारियर्सद्वारा विराटनगर टाइटन्स ३६ रनले पराजित

काठमाडौं गोल्डेन वारियर्सद्वारा विराटनगर टाइटन्स ३६ रनले पराजित

कास्की। पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिबारको खेलमा काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ रोजेको काठमाडौंले पूरै ओभर खेल्दै ५ विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा आएको विराटनगरले अन्तिम ओभरमा दुई बल बाँकी छँदा पूरै विकेट गुमाएर १२३ रनमात्र जोड्न सफल भयो ।

चार खेल खेलको काठमाडौं दुई खेलमा जित तथा दुईमा हारसँगै ४ अंक जोडेर समूहमा दोस्रो स्थानमा रहन सफल भयो । एक खेल कम खेलेको बुटवलकोसमेत समान ४ अंक रहे पनि रनरेटमा काठमाडौं अघि छ ।

काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बुटवल ब्लास्टरसँग ‘सुपर ओभर’मा पराजित भएको थियो । तेस्रो खेलमा धनगढीलाई पराजित गरेको थियो ।

विराटनगर पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो भने दोस्रो खेलमा पोखरालाई पराजित गर्न सफल भएको थियो ।इनिङ्सको १.४ ओभरमा सुरुआती ब्याट्सम्यान मुहमद जैद आलम र सुनिल धमला मात्र ४ रन जोडेर बाहिरिएपछि विराटनगरले खराब सुरुआत गर्‍यो ।

तर, मध्यक्रममा ब्याटिङ सम्हाल्न आएका नोमान खान र पुनित मेहराले सातौं विकेटका लागि ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङमाथि उकासे पनि जितका लागि पर्याप्त हुन सकेन ।मेहराले ३१ बलमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका थिए भने खानले २६ बलमा २५ रन जोडे ।

त्यस्तै, तेस्रोक्रममा ब्याटिङमा आएका कप्तान प्रदीपसिंह ऐरीले २७ बलमा २९ रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन लिन सकेनन् ।काठमाडौंका सुबोध भाटीले ३ तथा अमर रौटेला र वसन्त रेग्मीले समान २ र अमृत भट्टराई र सुशान भारीले एक/एक विकेट लिएका थिए ।

काठमाडौंका सुरुआती ब्याट्सम्यान गौरव तमोर पहिलो ओभरको अन्तिम बलमा खाता नै नखोली पेभिलिएन फर्किएपनि कप्तान ज्ञानेन्द्र मल्ल र जयकृष्ण कोल्सावालाले टोलीका लागि महत्वपूर्ण ६६ रनको साझेदारी गर्दै टोलीका लागि सम्मानजनक स्कोर तयार गर्न योगदान दिएका थिए ।

पुनित मेहराको बलमा शाह आलमबाट क्याचआउट हुनुअघि कोल्सावालाले ४३ बलमा ५५ रन अर्धशतक तयार गरेका थिए । मल्लले तीन चौका र दुई छक्कासहित ३३ बलमा ४५ रन जोडेका थिए ।

विराटनगरका मेहराले २ तथा किशोर महतो, जितेन्द्र मुखिया र नोमान खानले एक/एक विकेट लिन सफल भए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्