गरिखानेको कथा :पाँचथरका तेजबहादुरलाई १५ बर्षअघि रोपेको सुन्तलाको बोटले गाडी मालिक बनायो

गरिखानेको कथा :पाँचथरका तेजबहादुरलाई १५ बर्षअघि रोपेको सुन्तलाको बोटले गाडी मालिक बनायो

नारायण तुम्बापो

फिदिम, पुस ६ गते । १५ बर्षअघि पाँचथरको कुरुम्बा सेङ्खेवामा सुन्तला रोप्दा तेजबहादुर लावतीलाई धेरैले मुर्खको संज्ञा दिएका थिए । घर परिवारले समेत मकै फल्ने बारीमा सुन्तला नरोप्ने भनेको कुरालाई लावतीले टेर्नु भएन । १५ बर्षअघि रोपेको सुन्तलाको बोटमा लटरम्म सुन्तला फलेसँगै लावती यो बर्षबाट आफ्नै गाडीको मालिक बन्नुभएको छ । गाउँलेले सुन्तला रोप्दा मुर्ख बनेका लावती यतीबेला गाउँपालिकाकै नमूना कृषक बन्न सफल हुनुभएको छ । उहाँको अनुशरण गर्दै गाउँभरीमा सुन्तला खेती व्यवसायिक रुपमा अघि बढेको छ । सो गाउँ अहिले पाँचथरमै सुन्तला उत्पादनको पकेट क्षेत्रको रुपमा विकास भैरहेको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–५, कुरुम्बा सेङ्खेवाका कृषक लावती सुन्तला बेचेर गाडी मालिक बन्नु भएको छ । पन्ध्र वर्षदेखि सुन्तला खेतीमा लाग्दा तेजबहादुर गाडी नै किन्न सफल बन्नु भएको हो । २०६० / २०६५ सालको बीचमा रोप्नु भएको सुन्तलाबाट २०७३ देखि तेजबहादुरले धेरै आम्दानी थाप्न थाल्नुभयो । उहाँले सत्र रोपनीमा ६ सय बोट सुन्तला लगाउनु भएको छ । यसले बार्षिक दश लाख रुपियाँसम्म आम्दानी भित्र्याउन सफल हुनुभएको हो ।

यसैको आम्दानीमा ऋण थपेर २३ लाख रुपियाँ मुल्यको पिकअप भ्यान किन्न सक्षम भएको तेजबहादुरले खुसी हुँदै सुनाउनुभयो । कृषि ऋणमा किनेको गाडीको बाँकी पैसा अर्काे बर्ष सुन्तला बेचेर तिर्ने योजना उहाँले सुनाउनुहुन्छ ।

सुन्तला बेचर किनेको पिकअप अहिले आफ्नो र गाउँकै सुन्तला बेच्न प्रयोग गरिरहनु भएको छ । गाडी धनी बनेपछि अहिले गाउँ घरमा छुट्टै इज्जत पाउन थालेको पनि तेजबहादुरले सुनाउनुभयो । कुरुम्बा पाँचथरकै सबैभन्दा बढी सुन्तला फल्ने क्षेत्र हो । यहाँका सेङ्खेवाका साथै चाँदनी, तुम्बुङका झण्डै तीन सय घरले मुख्य आम्दानीको स्रोतको रुपमा सुन्तला खेती गर्छन् ।

कुरुम्बाका किसानलाई अहिले अन्तिम चरणको सुन्तला टिपेर बेच्न भ्याइ नभ्याइ छ । यहाँबाट बार्षिक दुई करोड रुपियाँसम्म सुन्तलाबाट आम्दानी हुने गरेको किसान बताउछन् । त्यसैले यहाँ पाकेको सिजनमा सुन्तलाको कारोबार धेरै हुने गरेको छ । सुन्तला कारोबारीमा लाग्नु भएका सेङ्खेवावासी प्रदिप लावतीले पनि पिकअप किन्नु भएको छ । उहाँले पनि सुन्तला व्यापारको रुपमा बेचेकै आम्दानीले सो गाडी जोड्न सफल हुनु भएको जनाइएको छ ।

तेजबहादुर र प्रविनले जस्तै सुन्तलाको आम्दानीले कुरुम्बाका धेरै किसानले घर घरेडी जोड्न सफल भएका छन् । कुरुम्बाको सुन्तला स्थानीय बजार चिसोपानी पञ्चमी, रवि, ६ नं. बुधबारेका साथै झापाका विभिन्न बजारमा विक्री हुने गरेको छ । झापाका व्यापारीले बगानै मोलेर किनी लाने गरेका छन् । वार्षिक पचास हजारदेखि दश लाख रुपियाँसम्म कुरुम्बाका किसानले सुन्तलाबाट कमाउछन् । यस क्षेत्रका किसानले बारीमा दश देखि छ सय झ्याङसम्म सुन्तला लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्