एन्जु शिवाकोटी
विराटनगर । रंगेली नगरपालिका स्थित आमतोला चोक विहानीको समय बाक्लो हुस्सु लागेको छ । जाडो अत्याधिक बढेका कारण मानिसहरुको चहलपहल निकै कम थियो सडकमा । चोकको चिया पसलमा भने केही मानिसहरु चिया पिउदै गफिँदै थिए । त्यही आमतोला चोकको एक छेउमा रहेको एक सानो छाप्रोमा फलाम कुट्दै थिए एक व्यति। मलाई फलामको त्यही चर्को आवाजले त्यतै तान्यो ।
कर्मशिल सुरेन्द्र
सपना हजार थिए, चाहना पनि हजार नै चाहेर पनि पुरा गर्न नसकेका रहर कहाँ बिलाए थाहाँ छैन उनलाई । तर पनि मुस्कुराई रहेकै छ उनको जिन्दगी । जीवन भोगाईका क्रममा पाएका चोट पनि थुप्रै छन् उनका । ती हरेक कुराले मलाई खुलेर जिउन सिकाएको आमचोकमा फलामको औजार बनाउने काम गर्दै आएका सुरेन्द्र कर्मकार बताउँछन् ।
सुरेन्द्र हरेक दिन सानो छाप्रोमा हँसिया, कुटो, कोदालो, दाउ जस्ता कृषी औजार बनाउने काम गर्छन् । ३२ बर्षिय सुरेन्द्रले २०६७ सालमा कृषि इन्जिनियरिङ निर्देशनालयबाट आरन संचालन तथा वर्कशप अपग्रेडिङ्ग तालिम लिएका थिए । तालिम लिएर घर आएपछि औजार बनाउन थालेको उनले बताए ।
कृषि इन्जिनियरिङ निर्देशनालयबाट फेरी २०७१ सालमा विशेष आरन संचालकको क्षेमता अभिवृद्धि तथा कार्यशाला स्तरउन्नती तालिम लिए पछि साना तथा घरेलु उद्यमका रुपमा आफुले दर्ता गराएर काम शुरु गरेको खुसि हुँदै उनले सुनाए । कर्माकार भन्छन् –‘म अहिले जे गरि रहेको छु त्यो मैले कहिल्यै सोचिन म यसरी कुनै दिन फलाम कुटि रहेको हुनेछु भनेर ।’
धेरै पढ्ने रहर हुँदा हुदै पनि ८ कक्षा देखि पढाइलाई निरन्तरता दिन घरको आर्थिक अवस्थाले उनीलाई दिएन । पढ्न नसके पनि केही गर्छु भन्ने सङ्कल्प लिएर आर्मीमा भर्ना हुन गएका सुरेन्द्र त्यहाँ पनि असफल भए । त्यसपछि केही सिकेर काम गर्छु भन्ने सोच लिएर भारतको केरला भन्ने ठाउँमा उनी पुगे । ‘सोचे जस्तो जिन्दगी कहाँ हुदो रहेछ र, मैले आफ्नैबाट धोका पाएँ विश्वास कस्को गर्नु’उनले भने । उनले १४ घण्टा साइकल कुदाएर भारतको केरला पुगेको सुनाए ।
घरबाट मोटरसाइकल बनाउन सिक्छु र आफ्नै ठाउँमा ग्यारेज खोलेर काम गर्छु भन्ने सोच लिएर गएका उनले मोटरसाइकल बनाउने काम त पाएनन् नै बरु एक घरमा भाँडा माझ्ने काम गरेर आफ्नो पेट पाल्नु पर्ने बाध्यता आएको उनको अनुभव छ ।
महिनाको ३ सय दिने सहमतिमा त्यही घरमा भाडा माझेर बस्न थालेका सुरेन्द्रले केहि पैसा जोगाउने मनसाय बनाएर नातामा दिदि पर्ने एक जना महिलालाई महिनै पिछे ३ सय जम्मा गर्न दिन थाले । करिब ८ महिना पछि त्यो पैसाले सिप सिक्छु भनेर तीनै महिलासँग त्यो पैसा माग्दा आफ्नै पैसा पाएनन् । त्यस पछि कोलस्टोरमा भारी बोक्ने काम गर्न थाले । त्यहाँ त झन खान पनि नपाए पछि २ बर्षको संघर्षका बिच रितै हात उनी घर फर्किए ।
‘मैले जति दुःख पाए पनि हिम्मत भने कहिल्यै हारिन एक न भए अर्को विकल्प सधै खोजि नै रहेँ, ’सुरेन्द्र भन्छन् ‘घर फर्के पछि तालिमको बारेमा थाहा पाए अनि तालिम लिएर काम गर्न सुरु गरेँ ।’ उनी अहिले खुसी रहेको सुनुाउँछन् । अहिले उनको कमाई महिनाको २५ हजार बढी छ । घरको काम पनि गर्न पाईने अनी आफ्नो ब्ययसाय पनि गर्न पाईने भएपछि उनी निक्कै खुसी देखिन्छन् ।
एनले गर्ने ब्यापारमा केही समस्या भने छ । उनका अनुसार हरेक दिन चाहिने कोईलाको अभाव छ । कोईला बेलामा पाइदैन, पाइए पनि महंगो तिरेर किन्नु पर्ने उनले बताए । ‘अन्नदाता किसान हुन् भने किसानलाई चाहिने सामान उपलब्ध गराउने हामी जस्ता व्यक्तिलाई सरकारले पनि ध्यान दिए प्रविधिसंगै हामी पनि अघि बढ्न सक्थ्यौँ, कर्मकार भन्छन्, हेर्दा सामान्य देखिए पनि यसमा मेहनत धेरै छ र औजार बनाउनु एक कला हो, यसको संरक्षण रारज्यले पनि गर्नु पर्छ ।’
आफुले पढ्न नपाए पनि छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन पाएकोमा खुसी छन् व्यक्त गर्छन् सुरेन्द्र । बाबु,आमा, श्रीमती र ३ सन्तानको साथमा उनी आफ्नै घरमा बसेर ब्यवसाय संचालन गर्दै आएको सुरेन्द्र सुनाउँछन् ।
उनी अरु युवाहरुको लागि उदाहरण त छन् नै काम सानो ठूलो नहुने तर मान्छेको सोच मात्र हुने उनको भनाई छ । ‘मैले गरेको कामलाई हाम्रो समाजले सानो जातको भन्छ , उनी गुनासो गर्छन्, ‘तर यहि समाजको मानिस विदेशमा गएर कसैको जुठो भाँडा माझेर कमाई गर्छ त त्यसलाई सम्मान मिल्छ ।’
विदेश जान लाग्ने लागत र विदेशमा श्रममा खर्च गर्ने समय नेपालमै गर्ने हो भने नेपालमा मै पनि कमाई गर्न सकिने उनको ठम्याई छ । तर उनी कामलाई सबैले सम्मान गर्ने परिवेशको पर्खाईमा छन् ।