नेपालको राष्ट्रिय झण्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै आइपुग्ने पक्का

नेपालको राष्ट्रिय झण्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै आइपुग्ने पक्का

भउचप्रसाद यादव

काठमाडौँ, पुस ९ गते । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ ।
रेल आउने समय तय भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक छ । अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनका नाममा केही पनि काम अगाडि बढ्न सकेको छैन । जयनगर–जनकपुर खण्डमा चलाउन सरकारले सूर्य–चन्द्र झन्डा अङ्कित रेल खरिद गर्ने निर्णय गरेको थियो ।
पहिलो रेल सन् २०२० को जनवरीमा र अर्को रेल भने फेब्रुअरीभित्र आइपुग्ने जानकारी रेल विभागका प्रवक्ता अमन चित्रकारले दिनुभयो । नेपाल आउने रेलसेट अहिले भारतको चेन्नईमा निर्माणाधीन अवस्थामा छ । रेल विभागका महानिर्देशकसहितको टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको छ ।
प्रवक्ता चित्रकार भन्नुहुन्छ, “दुइटामध्ये एउटा रेल जनवरीभित्र आइपुग्ने निश्चित भएको छ । अर्को रेल फेब्रुअरीभित्र आउँछ तर नेपालको तयारी भने केही पनि छैन । कसले चलाउने, कुन मोडलमा चलाउने, सम्बन्धित प्राविधिक जनशक्ति र कर्मचारी कहाँबाट ल्याउने भने कुरा थाहा छैन । ” रेल सञ्चालनमा लागि आवश्यक जनशक्ति व्यवस्थापनका कार्यहरू प्रक्रियामा रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपालमा सम्बन्धित दक्ष तथा अनुभवी जनशक्तिको अभाव छ । उक्त रेल सञ्चालन गर्न आवश्यक ‘मेनपावर आउट सोर्सिङ’ गरी उपलब्ध गराउनेतर्फ काम भइरहेको छ । ”

पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्म र दोस्रो चरणमा कर्थादेखि बिजुलपुरादेखि रेल सञ्चालनमा ल्याउने छ । ३४ किलोमिटर दूरी रहेको जयनगरदेखि कुर्थासम्म रेल सञ्चालनका लागि आवश्यक लिक निर्माणको काम सम्पन्न भइसकेको छ । कुर्थादेखि बिजुलपुरासम्मको दूरी १७ किलोमिटर छ । जयनगरदेखि बर्दिबाससम्म ६९ किलोमिटरको दूरीमा रेलसेवा सञ्चालन गर्ने योजना सरकारको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालनका लागि पहिलो चरणमा करिब दुई सय कर्मचारी आवश्यक रहे पनि कर्मचारी भर्नाका लागि तत्काल विज्ञापन गरिहाल्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । कर्मचारी भर्नाका लागि लोकसेवा र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भए पनि मन्त्रिपरिषद्बाट निर्णय नभएसम्म तत्काल विज्ञापन खुलाइहाल्ने अवस्था नरहेको उहाँले बताउनुभयो । रेल विभागले विगत ६ महिनादेखि कर्मचारी माग गर्दै आइरहेको छ । रेल सञ्चालनका लागि सुरुमा प्राविधिक टोली भारतबाटै लिनुपर्ने भए पनि प्रशासनिक कार्यका लागि नेपाली कर्मचारी नै भर्ना गर्नुपर्ने महानिर्देशक मिश्रले स्पष्ट पार्नुभयो ।

रेल विभाग, जनकपुर साइट कार्यालयका प्रमुख विनोदकुमार ओझाले रेल्वे लिकमा बाढीले पु¥याएको क्षतिको निर्माण कार्य भए पनि रेल्वे स्टेसनका घर मर्मतलगायतको काम अझै सुरु हुन नसकेको जानकारी दिनुभयो । अहिलेसम्मको तयारी र संरचनाले रेल सञ्चालन गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । रेल सेवा सञ्चालन गर्न यसअघि नै दुई दुई पटक रेल्वे लिकको सफल भार परीक्षण गरिएको छ ।
भाडादर तय
रेल विभागका महानिर्देशक मिश्रका अनुसार नेपाल आउन लागेको रेल ‘डेमो ट्रेनसेट’ हो । एउटा ट्रेन सेटमा अगाडि र पछाडि गरेर दुईवटा इन्जिन हुन्छन् । नेपालतर्फ आउँदा अगाडिको इन्जिन र भारततर्फ फर्किंदा पछाडिको इन्जिनले काम गर्छ । त्यसैगरी एउटा ट्रेन सेटमा पाँचवटा डब्बा हुन्छन् जसमध्ये एउटा डब्बा वातानुकूलित (एसी कोच) हुने छ ।
उहाँले भन्नुभयो, “जयनगरदेखि कुर्थासम्म साधारणतर्फ ६० रुपियाँ र ‘एसी’तर्फ तीन सय रुपियाँ भाडादर कायम गर्ने विषयमा छलफल भइरहेको छ । ” जयनगर स्टेसनमा समेत नेपाली रेल्वे व्यवस्थापन राख्ने तयारी भइरहेको उहाँले बताउनुभयो । - गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्