काठमाडौं, पुस १२ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय–ऊर्लाबारी, मोरङ्गमा कार्यरत एक प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । हवल्दार राजु श्रेष्ठले आठ हजार रुपियाँ सेवाग्राहीबाट घुस वापत लिएको आयोगले दाबी गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले काठ फर्निचरको कारोबारमा सहजीकरण गर्ने नाममा श्रेष्ठले सेवाग्राहीसँग घुस लिएको बताउनुभयो ।
दमक नगरपालिका वडा नं ४ ताराबारीस्थित काठमिलमा सेवाग्राहीसँग घुस वापतको रुपियाँ लिए लगत्तै नियन्त्रणमा लिएको कोइरालाले जानकारी दिनुभयो । श्रेष्ठलाई आयोगको इटहरीस्थित कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।