प्रदेश राजधानी हेटौंडा ! नाम बाग्मती

प्रदेश राजधानी हेटौंडा  ! नाम बाग्मती

मकवानपुर । लामो अन्तरालपछि प्रदेशको राजधानी र नामकरणको विषय टुंगो लागेसँगै हेटौंडा उपमहानगरपालिकाले स्वागत गरेको छ । उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले स्थायी राजधानी हेटौंडा राख्ने निर्णणको स्वागत गरेको हो ।

लामो दबाब तथा टीकाटिप्पणीका बीच प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्ने र नाम बाग्मती राख्ने निर्णय नेकपाको सचिवालय बैठकले गरेसँगै उपमहानगरपालिकालगायत केही संघसंस्थाले समेत स्वागत गरेका छन् । विगत दुई वर्षदेखि प्रदेशको अस्थायी राजधानीका रूपमा रहेको हेटौंडालाई स्थायी राजधानी बनाउन गरिएको निर्णयको स्वागत गरिएको हेटौंडा उपमहानगरपालिका नगर प्रमुख हरिबहादुर महतले बताए ।

प्रदेशभरीमा उपमहानगरपालिकालाई नै केन्द्र मानेर स्थायी राजधानी तोकिएकामा नगर प्रमुख महतले खुसी व्यक्त गरे । ‘हेटौंडा देशकै प्रचुर सम्भावना भएको सहर हो, सफा र सुन्दर सहरीका रूपमा विकास गर्न लागिपरेका छौं,’ प्रमुख महतले भने । प्रदेशको स्थायी राजधानीका लागि नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो । प्रदेशको स्थायी राजधानी हेटौंडा तथा नाम बाग्मती राख्ने निर्णय भएको छ ।

प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरू एकमत नहुँदा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन । नेपाल मण्डल, नेवा ताम्सालिङ वा बाग्मती के नाम राख्ने भन्नेमै नेकपाका सांसदहरूबीच विवाद थियो । यस्तै राजधानीका विषयमा पनि उनीहरूभित्र काभ्रे, भक्तपुर, हेटौंडा कहाँ राख्ने भन्नेमा विवाद थियो । प्रदेश सांसदहरूबीच विवाद हुँदा नामकरण र राजधानी तोक्न ढिलाइ भएपछि नेकपाको सचिवालय बैठकले प्रदेशसभा दल र प्रदेश कमिटीलाई आफूले गरेअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।

प्रदेश ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवालय बैठकले नाम र राजधानी टुंगो लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।

नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेश सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउनेछ । अबको एक साताभित्र नाम र राजधानीको विषयले औपचारिकता पाउने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । ‘अब २० पुसभित्रै नाम र राजधानी टुंगो लाग्नेछ,’ मुख्यमन्त्री पौडेलले भने ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको  सचिवालय बैठकले प्रदेशको नाम बाग्मती र प्रदेश राजधानी मकवानपुरको हेटौंडालाई बनाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्