धनकुटामा पर्यटक आकर्षित गर्न साहसिक खेलको प्रचुर सम्भावना, सरकारको छैन चासो

धनकुटामा पर्यटक आकर्षित गर्न साहसिक खेलको प्रचुर सम्भावना, सरकारको छैन चासो

कविराज घिमिरे

धनकुटा । साहसिक खेलका माध्यमबाट पर्यटक आकर्षित गर्न सकिने भए पनि त्यसलाई खासै उपयोग गर्न भने सकिएको छैन ।जसमध्येका र्‍याफ्टिङ्, प्याराग्लाइडिङ, बञ्जीजम्पलगायतका माध्ययमबाट धनकुटामा पर्यटक भित्राउन सकिने संभावना उत्तिकै छ तर त्यसबाट अपेक्षित लाभ भने लिन सकिएको छैन ।

धनकुटाको मूलघाटदेखि सुनसरीको चतारासम्म तमोर नदीमा पानीको साहसिक खेल र्‍याफ्टिङ् सुरु भएको करिब एक दशक बितेको छ ।यसबाट वर्षेनी सयौँ आन्तरिक तथा बाह्य पर्यटकले मनोरञ्जन लिने गरेका छन् । यस्तै धनकुटाकै नमस्ते झरनामा पनि व्यावसायिक रुपमा क्यानोनिङ खेल हुने गर्छ ।

तर यसको प्रचार प्रसार हुन नसक्दा पर्यटकको ध्यान खिच्न सकेको छैन । यीबाहेक जिपलाइन, प्याराग्लाइडिङ्ग, बञ्जीजम्प, रक क्लाइमिङ्ग, घोडचढी साइक्लिङ्लगायतका खेलहरुबाट पर्यटकलाई आकर्षित गराउन सकिने सम्भावना पनि उत्तिकै छ ।तर पूर्वाधार निर्माण र खोज अनुसन्धान हुन नसक्दा त्यो रहस्यमै सीमित हुन पुगेको छ । पर्यटकलाई आकर्षित गर्ने योजना र कार्यक्रम नहुँदा यसबाट अपेक्षित परिणाम आउन नसकेको स्थानीयको गुनासो छ ।

क्यानोनिङ्गको लागि डोरी अड्याउन आवश्इक पूर्वाधार पर्यटन विकास कार्यालय काकडभिट्टाले गरिदिए पनि अन्य साहसिक काममा कुनै सरकारी निकाय गम्भीर बन्न सकिरहेको छैन ।

जिल्लामा रहेका नमस्ते झरनाबाहेकका अन्य झरनामा पनि संभाव्यता अध्ययन समेत हुन नसकेको अवस्था छ ।करिब १५ सय मिटर लामो जिपलाइन निर्माणका लागि धनकुटाको भेडेटारमा निजी स्तरबाट तयारी त भइरहे पनि सरकारी स्तरबबाट कुनै सहजीकरण नभएको निर्माणकर्ता आशिष राईको गुनासो छ ।

आंशिक रुपमा भेडेटारबाट प्याराग्लाइडिङ्ग हुने गरे पनि त्यसलाई नियमित गराउन सकिएको छैन । पर्यटक भित्राउने नयाँ सम्भावनाको खोजी पनि गर्न सकिएको छैन । तिन तहमा गठित सरकारले यस्ता क्षेत्रमा चासो र लगानी गर्न सके मात्र पर्यटन क्षेत्रको विकास हुने थियो । साभार : इमेज 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्