मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ को विजयी सुरुवात

मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ को विजयी सुरुवात

सुनसरी । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ। इनरुवा रंगशालामा सम्पन्न खेलमा प्रदेश-५ माथि ६८ रनको जित निकाल्दै प्रदेश १ ले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

१ सय २१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश-५ ले ५२ रन मात्र जोड्न सक्यो। प्रदेश-५ १८ ओभरमै अलआउट हुन पुगेको थियो। टिमलाई जित दिलाउने क्रममा प्रदेश १ का दिपेश कंडेल एक्लैले विपक्षी टिमको ६ विकेट चट्काए। मुकुन्द यादव र मनोज तामाङले २/२ विकेट हात पारे। प्रदेश ५ का लागि बिराट भण्डारीले २८ तथा विशाल विक्रम केसीले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश-१ ले समेत सामान्य प्रदर्शन गरेको थियो। ३१.२ ओभरमा अलआउट हुन पुगेको प्रदेश-१ले मात्र १ सय २० रन जोडेको थियो।

प्रदेश-१ का लागि फिरदोस अन्सारीले २३ तथा पुष्प थापा र दिपेश कंडेलले समान २२ रन जोडेका थिए। विक्रम भुषालले ५ विकेट हात पारे। खेलको म्यान अफ दी म्याच प्रदेश एकका दिपेश कंडेल घोषित भए। प्रतियोगिता अन्तर्गत भोलिको खेल प्रदेश-३ र प्रदेश-५ बीच हुनेछ। माघ ४ गतेसम्म चल्ने प्रतियोगितामा विभागीय टिमहरू नेपाल पुलिस, एपिएफ र आर्मीसहित सातवटै प्रदेश, आयोजक र मलेसियन राष्ट्रिय टिमले प्रतिष्पर्धा गर्दैछन्। विजेताले चार लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्